ओलीको जादुले प्रचण्ड बुरुक्क « Arthapath.com
४ भाद्र २०७६, बुधबार

ओलीको जादुले प्रचण्ड बुरुक्क



स्कुल विभाग नपाए अर्थ तथा योजना विभाग भने पूर्वमाओवादीले पाउनुपर्ने अडान प्रचण्डको थियो । प्रचण्डले ओलीका सबै कुरा स्वीकार गर्नुमा ठूलै आश्वासन भएको अनुमान गरिएको छ । यद्यपि ओलीले यो पाँचवर्षे कार्यकालभर प्रचण्डलाई प्रधानमन्त्री बनाउने छैनन् ।

अघिल्लो सातासम्म नेकपाको एकता विशाल चट्टानको पहाडजस्तै जटिल अवस्थामा थियो । दुई अध्यक्षले त्यसलाई सहजै पार लगाउन सक्तैनन् भन्ने अड्कलबाजी कार्यकर्ताले मात्र होइन दोस्रो तहका नेताहरूले पनि गर्दैै थिए । तर, जब शुक्रबार बिहान ओलीले प्रचण्डलाई केही कुराहरू खुसुक्क भने प्रचण्ड बुरुक्क भए र रोकिएका एकता प्रक्रिया भटाभट अगाडि बढ्यो । यतिसम्म भयो कि विधानमै नभएको व्यवस्थालाई समेत पछि मिलाउने भनेर उपाध्यक्षमा वामदेव गौतमलाई नियुक्ति गर्ने निर्णय भयो ।
ओलीले प्रचण्डलाई के भने भन्ने कुरो कसैले पनि पत्तो पाउन सकेको छैन । ओलीको अगाडि प्रचण्ड यतिसम्म लत्रिए कि स्कुल विभाग प्रमुख ईश्वर पोखरेल बनाउने मात्र होइन वामदेवलाई उपाध्यक्ष र अर्थ तथा योजना विभाग प्रमुखमा सुरेन्द्र पाण्डेलाई बनाउन पनि प्रचण्डले सहमति दिए । चितवनमा पाण्डे प्रचण्डभन्दा पनि लोकप्रिय छन् । चितवनलाई एमालेमय बनाउन पाण्डेले आफू अर्थमन्त्री भएको बेलामा अहम् भूमिका खेलेका थिए । यदि एमाले र माओवादीबीच एकता नभएको भए पनि चितवनका तीनवटै सिट एमालेले एक्लै जित्ने अवस्था थियो । पछि पनि प्रचण्डलाई योजनाबद्ध रूपमा टक्कर दिन सक्ने नेताको रूपमा पाण्डेलाई नै हेरिन्छ ।
स्कुल विभाग नपाए अर्थ तथा योजना विभाग भने पूर्वमाओवादीले पाउनुपर्ने अडान प्रचण्डको थियो । प्रचण्डले ओलीका सबै कुरा स्वीकार गर्नुमा ठूलै आश्वासन भएको अनुमान गरिएको छ । यद्यपि ओलीले यो पाँचवर्षे कार्यकालभर प्रचण्डलाई प्रधानमन्त्री बनाउने छैनन् । यसबारेमा लगभग नेकपाका नेताहरूले अड्कल काटिसकेका छन् । महाधिवेशनपछि एकपटकका लागि सर्वसम्मत नेतृत्व चयन गर्ने र त्यसमा आफूले प्रस्ताव गर्ने आश्वासन ओलीले प्रचण्डलाई दिएको स्रोतहरूको भनाइ छ । यद्यपि अहिले प्रचण्डलाई फकाउन ओलीले नयाँ जुक्ति निकाले पनि नेकपामा माधव नेपाल पक्ष कमजोर छैन । माधव नेपाल पक्षलाई बेवास्ता गरेर अगाडि जान सक्ने अवस्थामा न ओली छन् न त प्रचण्ड नै । माधव नेपालको सङ्गठनभित्र बलियो पकड छ । उनी ओलीसँग झिनो मतान्तरले मात्र पराजित भएका हुन् । कतिपयले यो पराजितलाई प्राविधिक कमजोरीको रूपमा मात्र लिएका छन् । त्यही भएर माधव नेपाल नेकपाभित्र कमजोर नेता छैनन् । उनको पक्षमा रहेका नेता र कार्यकर्तामध्ये झन्डै ९७ प्रतिशत स्वच्छ छविका छन् । त्यसले पनि माधव नेपालको राजनीतिक शिर सधैँ उच्च रहने गरेको छ ।
हैसियत नभए पनि ओलीले प्रचण्डकी बुहारी विना मगरलाई खानेपानी तथा सरसफाइ विभागको प्रमुख बनाउन सहमति दिए । विना जिल्ला कमिटी हैसियतकी नेता हुन् । आफूभन्दा जिम्मेवार र योग्यलाई पनि राजनीति पढाउने कोसिस विनाले गर्छिन्, तर उनको ढङ्ग पुग्दैन । प्रचण्डलाई आफ्ना दुःख पाएका नेता र कार्यकर्ताभन्दा पनि आफन्त च्याप्न लगाएर ओलीले प्रचण्डलाई भुलाउने काम गरिरहेका छन् । यसले गर्दा प्रचण्डको पूर्वमाओवादीभित्र पनि आलोचना हुनेछ । त्यसले गर्दा आफूलाई अगाडि बढ्न फाइदा पुग्ने निचोड ओलीको छ । त्यही भएर प्रचण्डको परिवारका सदस्य र प्रचण्डसँग विगतदेखि नै राम्रो सम्बन्ध भएका तर राजनीतिक रूपमा खासै हैसियत नभएकाहरूलाई पार्टीमा स्थान दिन ओलीले सहमति दिने गरेका छन् । योग्यहरूलाई प्रचण्डले अगाडि बढाएमा पूर्वएमालेहरूलाई आच्छु–आच्छु हुने भएकाले ओलीले प्रचण्डलाई हैसियतबिनाका नाम मात्रका नेताहरूलाई अगाडि बढाउन सुझाब दिन्छन् र प्रचण्डले त्यही गरिरहेका छन् ।
सानो कुरामा पनि फुरुक्क पर्ने प्रचण्डको नानीदेखि नै लागेको बानी हो । समावेशी भनेर कराउँदै आएका प्रचण्ड अहिले पार्टीको केन्द्रीय विभाग असमावेश बनाउँदा पनि चुप मात्र होइन समर्थन गरेर अगाडि बढेका छन् । ३२ वटा विभागमध्ये दुईवटा विभाग मात्र महिलाले नेतृत्व गर्नेछन् । उद्योग तथा वाणिज्य विभाग प्रमुखमा राधा ज्ञवाली र खानेपानी तथा सरसफाइ विभाग प्रमुखमा विना मगरलाई जिम्मा दिइएको छ । त्यस्तै चारवटा उपप्रमुख मात्र महिलालाई दिइएको छ । यसले नेकपाभित्र महिलाको स्थान खस्कँदै गएको प्रस्ट हुन्छ ।
त्यस्तै नेकपाले विभिन्न जनवर्गीय सङ्गठनको इन्चार्ज र अध्यक्ष तथा सचिव पनि तोकेको छ । केही विषयमा माधव नेपालले पनि फरक मत दर्ता गराएका छन् । प्रधानमन्त्री ओली एक साताभन्दा लामो उपचारका लागि सिंगापुर जानुपरेको कारण सबै विषयमा सहमति गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्