प्रदेश ३ को राजधानी हेटौँडा नाम बागमती सिफारिस « Arthapath.com
१६ पुष २०७६, बुधबार

प्रदेश ३ को राजधानी हेटौँडा नाम बागमती सिफारिस



काठमाडौं । प्रदेश नं. ३ को नाम बागमती र केन्द्र हाल भैरहेको हेटौंडानै कायम हुने भएको छ । सोमबार बसेको नेकपाको सचिवालय बैंठकले प्रदेशको नाम र राजधानीबारे औपचारीक रुपमा छलफल सहित पार्टीको धारणा तय गरेको हो ।

चुनावको बेला जिल्लाअनुसार नेताले भाषण गरेका थिए– प्रदेशको राजधानी आफ्नो जिल्लामा बनाउने । ३ नम्बर प्रदेशको राजधानी आफ्नै जिल्लामा बनाउनुपर्छ भनेर माग नगर्ने एक मात्र जिल्ला सायद रसुवा मात्र थियो । ०७४ को निर्वाचनमा मुख्य भूमिकामा रहेका तत्कालीन नेकपा एमाले, माओवादी र काङ्ग्रेसका सबैजसो उम्मेदवारले आफ्नै जिल्लामा ३ नम्बर प्रदेशको राजधानी बनाउने भनेर मत पनि मागे । तर, त्यो माग राजनीतिक मात्र थियो । राजधानी कसरी निर्धारण गरिन्छ भनेर जानकारी नराख्ने हाम्रा नेता कता निदाए ? चुनावको बेला राजधानी यही जिल्लामा हुन्छ भन्ने अनि अहिले चुप लाग्ने ? पार्टीबाट सांसद चल्नु भएन । राजधानीबारे प्रदेशको सभाले निर्णय गर्नुप¥यो जस्ता शब्द सामाजिक सञ्जालमा ओकलिरहेका छन् ।

राजधानी प्रदेशको बीचको जिल्लामा राख्नुपर्छ भनेर जिल्लाका नक्सा कपी गरेर सामाजिक सञ्जालमा पोस्ट गरेर जनतालाई उत्तेजित पार्नेहरू पनि छन् । तर, विश्वभर कतै पनि भूभाग खोजेर मात्र राजधानी बनाउने चलन छैन । राजधानी भनेको रणनीतिक विषय हो । त्यो छेउ, कुना जता पनि हुन्छ । तराईका जिल्लाको सबै सदरमुकाम नै दक्षिणतिर छन् । अर्थात् भारतीय सीमातिर । यदि बीचमा पार्ने हो भने अधिकांशको महेन्द्र राजमार्गमा हुने थियो । तत्कालीन शासकले रणनीति अपनाएर जिल्ला सदरमुकाम, सैनिक अड्डालगायतका सबै कार्यालय सिमानामा राखे र देशको सीमा जोगाए ।

अहिले धेरैले प्रदेश ३ को राजधानी पाँचखाल वा भक्तपुर हुनुपर्छ भनेर लबिङ नै गरे । तर, नेकपाले प्रदेशको राजधानी हेटौँडा बनाउने निर्णय ग¥यो । त्यसको मुख्य कारण हो, रणनीति । यदि प्रदेशको राजधानी हेटौँडा बनाएन भने २ नम्बर प्रदेशलाई सन्तुलनमा राख्न समस्या पर्ने पक्का थियो । नेकपाले सुझबुझपूर्ण तरिकाले निर्णय लिएको छ । बीचमा परे पनि काठमाडौं उपत्यका प्रदेशको राजधानीका लागि उपयुक्त थिएन र छैन । किनकि यहाँ सङ्घकै राजधानीको कारण पनि जनघनत्व बढेर टिक्न सकिने अवस्था छैन । त्यसमा प्रदेशको पनि थप्ने हो भने त्यसले विकराल रूप लिने थियो ।

नेपालका सदरमुकाम मात्र होइन, विश्वका धेरै देशका राजधानी बीचमा हुँदैनन् । रणनीतिक रूपमा राजधानी छान्नुपर्ने भएकाले कसैको पूर्व, कसैको पश्चिम, कसैको उत्तर र कसैको दक्षिण पर्न गएको छ । कर्णाली प्रदेशको राजधानी दक्षिणमै पर्नुमा भने भौगोलिक कारण पनि छ । त्यसकारण राजधानी बनाउने विषयमा सबै ठाउँमा भूगोललाई आधार मानिँदैन । त्यो विश्वभरको प्रचलन पनि हो । एयरपोर्ट नै नभएको जिल्लामा पनि राजधानी बनाउनुको मुख्य उद्देश्य नै सबैतिर सन्तुलन मिलाउनु हो । सन्तुलन मिलाउनका लागि नै हेटौँडालाई राजधानी बनाउने निर्णय नेकपाको नेतृत्वले गरेको हो । हेटौँडालाई राजधानी नबनाए र काठमाडौं उपत्यका वा माथिल्लो भागलाई बनाएको भए त्यसले राजनीतिक अस्थिरता पनि ल्याउने थियो ।

विकासको सन्तुलनको हिसाबले पनि हेटौँडा राजधानी ठीक भएको नेकपाका नेता बताउँछन् । अब काठमाडौंबाट हेटौँडा आवत–जावतको मार्ग धेरै सहज हुनैपर्छ । राजधानी भएपछि विकासका धेरै काम सुरु हुन्छ । हेटौँडाको उद्देश्य काठमाडौंलाई भौगोलिक रूपमा नजिक्याउने हुन्छ । त्यसरी विकास भयो भने २ नम्बर प्रदेशलाई पनि सङ्घीय राजधानी काठमाडौंसँग नजिक्याउने छ । त्यही कारण हेटौँडालाई नेकपाले राजधानी बनाउने निर्णय गरेको हो ।

प्रदेश ३ को प्रदेश सरकारले यही विषयलाई टुङ्गोमा पु¥याउन पुस २१ गते प्रदेश सभाको बैठक आह्वान गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश प्रमुखलाई बैठक आह्वानका लागि निर्णय गरेर पठाइएको छ । प्रदेश सभाको बैठकमा प्रदेशको राजधानी र नामाकरणको विषय औपचारिक रूपमा प्रवेश गरेर निर्णय हुनेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुङ्गो लगाएसँगै प्रदेश सरकारले अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो ।

केही नेता तथा दलले प्रदेश ३ को नाम, जाति र धर्मबाट राख्न दबाब दिए पनि नेकपाले जातीय र धार्मिक कुरा अस्वीकार गरेको छ । यसले नेपाललाई जातीय र धार्मिक अहंकारबाट मुक्त गरेको छ । एक ठाउँमा जातीय प्रभाव पर्नासाथ अर्को ठाउँमा त्यही माग लिएर आन्दोलन हुने भएपछि नेकपाले ३ नम्बर प्रदेशको नाम बागमती राख्ने निर्णय गरेको छ । बागमती नदीबाट नामकरण गरिएको कारण यसमा विरोध छैन ।


प्रतिक्रिया दिनुहोस्