रसुवागढी नाकाबाट सामान आउन थाल्यो
रसुवा – सोमबारदेखि चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात सुरु भएको छ ।
सम्झौता अनुसार नै मितेरी पुलसम्म चिनियाँ पक्षले सामग्री ल्याएको छ ।
सामग्री बोकेका चार वटा चिनियाँ गाडी जाँचपासको प्रक्रिया पूरा गरेर आज विहान रसुवागढी नाका आइपुगेको छ ।
चिनियाँ एउटा गाडीको सामग्री नेपालतर्फका दूईवटा गाडीमा लोड हुन्छ ।
कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो ।
सीमामा व्यापारिक गतिविधि बढेपछि कोरोनाको सङ्क्रमण पनि फैलन सक्ने भएकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर नाका खोल्ने सहमति भएको थियो । पहिलो चरणमा नेपाली पक्षले चिनियाँ पक्षलाई १५ जना चालक र १५ जना कामदारको विवरण पनि उपलब्ध गराएको थियो ।
नाका सञ्चालन नहुँदा झण्डै साढे तीन महिनादेखि राजश्व संकलन हुन नसकेको कार्यालयले जानकारी दिएको छ ।
रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ भने बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ ।