हैट ! पुष्पलाल गद्दार अरु चाँहि क्रान्तिकारी ?
प्रचण्डबाट पुष्पकमलमा विलय भएको अर्को स्कूल कालगतिले अहिले तिनै पुष्पलाल स्कूलमा घुलित छ । भलै जबज कि एक्काइसौं शताब्दीको जनवाद कि यी दुबै मिलाइएको दक्षप्रजापति भन्ने यकिन भएको छैन, तर माओवादीले उठान गरेको बर्गसंघर्ष, ग्रामीण संघर्ष वा माओविचारधारा उनीहरुको पनि आफ्नै होइन । त्यो पनि पुष्पलालकै खेतको एउटा ड्यांगबाट टिपिएको नयाँ जनबादका लागि नेपाली बाटो मात्र हो । सम्पूर्ण माओवादीले आजसम्म जनतालाई ढाँटिरहेको वा भन्न लाज मानिरहेको यो अर्को पक्ष हो जुन आँखिझ्यालबाट पुष्पलाल चिहाउँदा अझ व्यापक तस्वीर देखिन्छ ।
श्रावण पहिलो हप्ता नेपाली राजनीतिका दुई शीर्ष पुरुषको सम्झनामा विविध कार्यक्रम आयोजना गरिन्छ । बिरालो बाँधेर गरिने श्राद्धको कथा र यी नेताका स्मृतिमा आयोजना गरिने कार्यक्रममा कुनै भिन्नता चाँहि छैन । ती व्यक्तित्वका आदर्श, सिद्धान्त, नीति, बिचार जतिसुकै भाडमा जाउन् तिनका शालिकमा फूलका थुंगा अर्पण गरिन्छ र ती व्यक्तित्वहरुको स्तुती एकदिनकै लागि सही सुमधुर धुनमा गाइन्छ । जतिसुकै पतित किन नहुन्, ती श्रेष्ठ पुरुषहरुको महिमामण्डन गाउन, खैंजडी बजाउन र भजन गाउनु हाम्रो संस्कार हो, हामी त्यसैमा अभ्यस्त छौं । ठग हुन्, दलाल हुन्, व्यभिचारी हुन्, भ्रष्टाचारले डामिएका हुन्, फौजदारी र नैतिक पतनका आरोपी हुन् सबैले एकस्वरमा ती व्यक्तित्वका गुणगान उधूम गाइरहेका हुन्छन् ।
म किञ्चित विष्मृत हुन्न । किनकि, म त्यही राजनीतिक संस्कारसँग अभ्यस्त छु ।
…
नेपालको राजनीतिमा आजको मितिसम्म जम्मा दुईवटा मात्र पाठशाला अद्यावधी छ, जीवन्त र गतिशील छ । एउटा बिपी (विश्वेश्वरप्रसाद कोइराला) र अर्को पुष्पलाल पाठशाला । यी दुबै पात्र नेपालको अहिलेसम्मको राजनीतिमा सर्वाधिक प्रभाव राख्ने शीर्ष पात्र हुन् । राजनीतिको रथ जुन बाटोबाट गुडे पनि रथको एउटा पाङ्ग्रामा बिपी र अर्को पाङ्ग्रामा पुष्पलाल घुमिरहेका हुन्छन् र छन् ।
यसो भनौं, बिपी र पुष्पलाल आफैंमा नेपाली राजनीतिको खसोखास् ब्राण्ड हुन् । माल्दाई र सान्दाईका यो ब्राण्ड भजाएर खुद्रा पसल जतिसुकै खुलून्, जोसुकैले खोलुन्, जहाँ खोलून्, जहिल्यै खोलून् तिनीहरुले वा तिनीहरुको आफ्नै पहिचान न हिजो बन्यो, न आज बनेको छ न तत्कालै कसैले बनाउने सम्भावना छ । कम्तीमा मेरो पुस्ताले यी दुई ब्राण्डबाट अलग रहेर बनेको राजनीतिक पहिचानसहितको रथको अपेक्षा गर्नु ब्यर्थ छ ।
आदर्शको कसीमा यी दुई पात्र विपरीत ध्रुवका प्रतिनिधित्व गर्ने जस्ता लाग्लान् तर ब्यवहारतः दुबै एकअर्काका पूरक देखिन्छन् । जनवाद र समाजवादको वकालत गर्ने अनेक मार्ग हुन्छन् । समाजवाद र साम्यवादका पनि भाष्य अलगअलग छन् । लोकतन्त्र र गणतन्त्रका ब्याख्या पनि आआफ्नै छन् । लक्ष्य एउटै भए पनि लक्ष्यसम्म पुग्ने बाटो अलगअलग हुनसक्छ । सापेक्षतामा सन्दर्भ केलाउने हो भने इतिहासका अनेक मोडमा विपी र पुष्पलाल कहिले चुम्बकको विपरीत ध्रुबजस्तो, कहिले समान ध्रुवजस्तो देखिन्छन् । संघर्षको प्रधान शत्रु र गौण शत्रु केलाउँदा अलग लाग्लान् (राजासँग घाँटी जोडिएको बताउने बिपी र राजतन्त्र रहेसम्म प्रजातन्त्र सुरक्षित रहँदैन भन्ने पुष्पलाल) तर समाज, बर्ग, लोकतन्त्र र प्रजातन्त्रका भाष्यभित्र ती दुबै एउटै घेरामा अटाउँछन् । पुष्पलाललाई कांग्रेसी देख्ने आँखाले पनि यो तथ्य स्वीकार गर्नपर्छ र समाजवादी बिपीभित्र साम्यवादको अंश फेला पार्नेले पनि यो स्वीकार गर्नपर्छ । स्वीकार गर्नुहुन्न भने कृपया तपाईको चश्मामा दोष हुनसक्छ । फुकाल्दा हुन्छ ।
…
राणाशाहीले गंगालाललाई मृत्युदण्ड दिंदै गर्दा (विस १९९७) पुष्पलाल (शहीद गंगालालका भाइ) प्रजातन्त्र संघमार्फत् नेपालमा लोकतन्त्रको मोर्चा बनाउन अग्रसर थिए । पुष्पलालले २००५ मा कम्युनिष्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरी साम्यवादी विचारधारालाई नेपाली माटोमा भित्र्याउने पहलकदमी उनैले लिए । माक्र्सवादको, साम्यवादको, नयाँ जनवादको वकालत र पक्षपोषण उनैले गरे । प्रवासमै रहेर नेपाली माटोमा कम्यूनिज्मको बीज छर्न, बेर्ना उमार्न र त्यसलाई हुर्काउन लागि परे । त्यही बिरुवामा पलाएका पातहरु हुन् मनमोहन अधिकारी, मदन भण्डारीहरु । त्यही बिरुवाको हाँगा बनेका नारायणमान बिझुक्छेहरु । त्यही बिरुवामा पलाएका ऐंजेरुहरु हुन् केशरजंग रायमाझी र मोहनविक्रम सिंहहरु । त्यही बिरुवाको एउटा हाँगा हुन् सीपी मैनालीहरु र पुष्पकमल दाहालहरु । त्यही बिरुवाको आँख्लाबाट निस्किएका हुन् मोहन बैद्य र नेत्रविक्रम चन्दहरु ।
पुष्पलाल चिन्न आजको पुस्ताले पुष्पलालको तात्कालीन कार्यनीति ठम्याए आजका को नेता कति पानीमा रहेछ भनेर छान्न कुनै जाली खरिद गरिरहनु नै पर्दैन । एक, सामन्तवाद (देशीय सामन्तवाद) र त्यसको नेतृत्व गर्ने राजतन्त्र लोकतान्त्रिक गणतन्त्रको मुख्य शत्रु हो । अर्थात् प्रधान शत्रु हो । साम्राज्यवाद र विस्तारवाद त्यसपछिका शत्रु हुन् । दुई, प्रधान शत्रु परास्त गर्न जनवादी (कम्युनिष्ट) र समाजवादी (कांग्रेस) को सहकार्य अनिवार्य छ । तीन, प्रधान शत्रु पराजित भएको अवस्थामा लोकतान्त्रिक गणतन्त्र र संघीय नेपाल (३ प्रदेश ७ उपप्रदेश) सम्भव छ । चार, सामन्तवादलाई पराजित गर्न बर्गसंघर्ष अनिवार्य छ र त्यसको आधार किसान संघर्ष हो । पाँच, किसान संघर्ष र ग्रामीण बर्गसंघर्षको बलमा सामन्तवादले घुँडा टेकेपछि नयाँ जनवादको मार्गप्रशस्त हुन्छ ।
(हो यसैपछि हो नेपालमा कम्युनिष्ट समूहको अस्वाभाविक बृद्धि देखेर अमेरिकाले सहयोग दिंदा पनि रुस र चीन ध्रुवको नेपालमा बढ्दै गएको प्रभाव कम गर्न भन्ने पदावली प्रयोग गर्न थालेको । नपत्याए दस्तावेजहरु केलाउनुहोस् । आजको एमसीसी त्यो अनुपातमा नाथे केही होइन ।)
जहाँ जसले जसरी घुमाएर लेखे पनि वा अभिव्यक्ति दिए पनि पुष्पलाल यी पाँच बुँदामा अटाउँछन् । यसैभित्र चिनियाँ क्रान्ति पनि समेटिन्छ र साँस्कृतिक क्रान्ति पनि । यसैभित्र रुसी लेनिनको मार्ग पनि आउँछ र क्यूबाली क्रान्तिको चित्र पनि । बर्मा पुगेर छापामार तालिम लिएका पुष्पलालभित्र यही बिन्दूमा चे ग्वेभारासम्मको आकृति पनि केलाउन सकिन्छ । जानकारीका लागि, ज्ञानेन्द्रले अपहरण गरेको संसद् पुनस्थापना गर्न जसरी नेपाली कांग्रेस र तात्कालीन विद्रोही माओवादीले माग गरेका थिए, त्यहीबेला २०१७ सालमा महेन्द्रले अपहरण गरेको संसद् पुनस्र्थापनाको माग गरेका थिए पुष्पलालले ।
अर्को एउटा बुँदा छ, स्वच्छ चुनावी प्रतिष्पर्धा र मित्रवत् संघर्षको । यही बुँदाको जगमा टेकेर व्याख्या गरिएको हो जनताको बहूदलीय जनवादको । पुष्पलाललाई छद्यभेषी करार गर्दै, संशोधनवादीको बिल्ला भिराउँदै, अपराधी अपराध करार गर्दै जबजको ब्याख्या गरेकै हुन् मदन भण्डारीले । रुपमा, मोहनविक्रम सिंहले आनन्दबहादुरको नाममा गद्दार पुष्पलाल लेखे पनि सारमा मदन भण्डारी समूहले मोहनविक्रमभन्दा अगाडि बढेर पुष्पलाललाई संगठित आरोप लगाएर पुष्पलालकै मुद्दा अपहरण गरेर जबजको नगरा बजाएको स्पष्ट छ । तपाईले मदन भण्डारीको मुक्तिमोर्चा समूहका मुखपत्र हेर्नुभयो भने र कोमल भट्टराई, लोककृष्ण भट्राईका लेखनीमा प्रस्तुत दस्तावेजहरु केलाउनुभयो भने आज भाले जसरी बासिरहेको जबजलाई जबरजस्ती स्थापना गर्न भएका घृणित प्रयासहरुको पेटबोली पाउनुहुनेछ ।
भलै मोहनविक्रम सिंहले आत्मालोचना गरे, पुस्तकको नाम नै फेरेर क्रान्तिमा भ्रान्ती बनाए । पुस्तकमा उल्लििखत सबै गद्दार शब्द हटाए । तर, जबजका तथाकथित भाष्यकार र तिनका शिष्यहरुले त्यहाँनेर हामीले गल्ती गरेका हौं भनेनन्, भनेका छैनन् । वर्षदिनको श्राद्धमा भजन गाएरै टार्नेहरु धेरै छन् धर्तीमा ।
हो, म त अझ पनि निर्धक्कसँग भन्छु नेपालमा पुष्पलालप्रदत्त रणनीति, पुष्पलालले अख्तियार गरेको कार्यनीतिलाई अवमूल्यन गर्दै जबजको पाठशाला जबरजस्ती स्थापना गर्ने प्रयास भएकै हो । र, जबज पुष्पलाललाई बद्नाम गर्न खोलिएको स्कूलले पुष्पलालकै पाठ्यक्रम तानतुन गरेर बनाएको संसदवादी जनवादको (!) को परिकल्पना हो ।
प्रचण्डबाट पुष्पकमलमा विलय भएको अर्को स्कूल कालगतिले अहिले तिनै पुष्पलाल स्कूलमा घुलित छ । भलै जबज कि एक्काइसौं शताब्दीको जनवाद कि यी दुबै मिलाइएको दक्षप्रजापति भन्ने यकिन भएको छैन, तर माओवादीले उठान गरेको बर्गसंघर्ष, ग्रामीण संघर्ष वा माओविचारधारा उनीहरुको पनि आफ्नै होइन । त्यो पनि पुष्पलालकै खेतको एउटा ड्यांगबाट टिपिएको नयाँ जनबादका लागि नेपाली बाटो मात्र हो । सम्पूर्ण माओवादीले आजसम्म जनतालाई ढाँटिरहेको वा भन्न लाज मानिरहेको यो अर्को पक्ष हो जुन आँखिझ्यालबाट पुष्पलाल चिहाउँदा अझ व्यापक तस्वीर देखिन्छ ।
अन्त्यमा, गद्दार मोहनविक्रम कि पुष्पलाल ? भ्रान्तीको खेती गर्ने मदन भण्डारी, पुष्पकमल दाहाल वा मोहनविक्रम कि पुष्पलाल ? यदि आजको मितिमा पुष्पलाल सही थिए भने कम्युनिष्ट आन्दोलनमा गद्दारी गरेको कसले ? राजतन्त्रविरोधी आन्दोलनमा क्षति पुर्याएको कसले ? सामन्तवादको पक्षपोषण गरेको कसले ? किसान संघर्ष र बर्गसंघर्षको परिकल्पनालाई मूर्तिकृत गर्ने अभियान थाल्ने पुष्पलाल क्रान्तिकारी वा पुष्पलालको पुरानो कार्यक्रमलाई निरन्तरता दिएका पुष्पकमल दाहाल क्रान्तिकारी ? स्वतन्त्रता, चुनावी प्रतिष्पर्धा र मित्रवत् संघर्षको जगमा टेकेर बनाइएको लेखिएको जनताको बहूदलीय जनवाद पुष्पलालको विचारधाराभन्दा कहाँ भिन्न छ ?
अहो !
जबज धारी अरिंगालहरुको गोलो वरिपरि रहेर यस्ता प्रश्न सोध्ने दुस्साहस गरेकोमा क्षमाप्रार्थी छु ।