राष्ट्र बैंकका ‘सञ्चारकर्मी’ रिमालको अवकाश « Arthapath.com
११ श्रावण २०७७, आईतवार

राष्ट्र बैंकका ‘सञ्चारकर्मी’ रिमालको अवकाश



काठमाडौं । केन्द्रीय बैंकका जनसम्पर्क तथा सञ्चारमाध्यम जानकार राजेन्द्र रिमालले सेवा अवधिका कारण गत शुक्रबारदेखि अवकाश पाएका छन् । उपनिर्देशक रिमालले तत्कालीन गभर्नरद्वय विजयनाथ भट्टराई र दीपेन्द्रबहादुर क्षेत्री तथा कायम मुकायम गभर्नर कृष्णबहादुर मानन्धरको कार्यकालमा बैंकको जनसम्पर्क तथा सञ्चारमाध्यमबीच उत्कृष्ट सहजकर्ताको भूमिका निभाएका थिए ।

एघार वर्षअघि रिमालको सक्रियतामा छ जना आर्थिक पत्रकारहरूले नेपाल राष्ट्र बैंकको आर्थिक सहयोगमा अमेरिकाको न्यूयोर्कस्थित रोयटर्स फाउण्डेशनबाट एक हप्ते विशेष तालिमको अवसर पाएका थिए । आमसञ्चार विषयमा स्नातकोत्तर रिमालले नेपाल राष्ट्र बैंकको सूचना प्रवाह सम्बन्धमा शोधपत्र तयार गरेका छन् । उनी २०५८ देखि ६० सालसम्म बेइजिङ्गस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली विभागमा विशेषज्ञको रूपमा कार्यरत थिए ।

मिडियाकर्मीसँग नरम र सहज सम्बन्ध राखेको कारण उनी तत्कालीन गभर्नर युवराज खतिवडाको कोपभाजनमा परेका थिए । गत वर्षपनि अर्थमन्त्री खतिवडाले रिमाललाई बेतलबी बिदा नदिन र सेवाबाट बर्खास्त गर्न बैंकका गभर्नर र डेपुटी गभर्नरलाई लगातार दबाब दिएका थिए ।

बैंकमा छँदै छापा र रेडियो पत्रकारिताको लामो अनुभव बटुलेका रिमालले आगामी दिनमा पनि सञ्चारमाध्यममा पूर्णरूपले सक्रिय हुने बताइएको छ । ‘अर्थमन्त्री र उनका छोरीज्वाईं रामशरण खरेलको गलत क्रियाकलाप र व्यवहारलाई आमनागरिकसमक्ष छरपष्ट पार्न पनि आफू सञ्चार क्षेत्रमा सक्रिय हुने’ उनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्