अन्जन श्रेष्ठको टिमलाई निर्यात व्यवसायी महासंघको समर्थन, श्रेष्ठ र शेखर गोल्छा भन्छन् ‘नतिजा देखाउँछौं’ « Arthapath.com
२९ कार्तिक २०७७, शनिबार

अन्जन श्रेष्ठको टिमलाई निर्यात व्यवसायी महासंघको समर्थन, श्रेष्ठ र शेखर गोल्छा भन्छन् ‘नतिजा देखाउँछौं’



काठमाडौं । निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपाल (एफईईन)ले नेपाल उद्योग बाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको टिमलाई सघाउने निर्णय गरेको छ । निर्यात व्यवसायीहरुको नीतिगत आवाज उठाउने संस्थाको रुपमा गठित सो संस्थाले महासंघ वरिष्ठ उपाध्यक्ष किशोर श्रेष्ठ प्यानलका वस्तुगत उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठ तथा उनको टिमलाई मत दिने निर्णय गरेको हो ।

राजधानीमा आयोजित कार्यक्रममा निर्यात व्यवसायी महासंघका अध्यक्ष तथा प्रदेश सांसद राम बहादुर गुरुङ्गले आगामी अध्यक्ष शेखर गोल्छाको लागि उपयुक्त र ससक्त टिम चाहिने भन्दै अन्जन र उनको टिमलाई अत्यधिक बहुमतले जिताउन र भोट दिन सबैसँग अनुरोध गरेका छन् ।
अध्यक्ष गुरुङ्गले निजी क्षेत्रलाई सरकारले प्रयोग मात्र गरेको तर सहयोग नगरेको भन्दै आगामी नेतृत्वले निजी क्षेत्रलाई ससक्तरुपमा अगाडि बढाउनुपर्ने बताए । त्यसैगरि संस्थाका उपाध्यक्ष शंकर पाण्डेले फिनलाई सहयोगी संस्थाको रुपमा लिनुपर्ने र यसले महासंघसँग नै सहकार्य गरेर अगाडि जाने बताए । उनले नयाँ नेतृत्व “प्रोएक्टिभ” हुनुपर्ने भन्दै निर्यात व्यवसायलाई जोड दिन आग्रह गरे ।

महासंघको निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठले सरकारी नीतिगत अस्पष्टता हुँदा उद्योग व्यवसायलाई चुनौती थपिएको भन्दै स्पष्ट र दिर्घकालिन नीतिका लागि आफूले काम गर्ने बताए । उनले आफ्नो उद्योग व्यवसायको अनुभव सुनाउँदै श्रेष्ठले भने “व्यवसायी र निजी क्षेत्रको लगानीमा सरकारी नीतिले सुनिश्चित गर्नुपर्ने वातावरण बनाउन गोल्छा, प्रधान, म अनि ज्योती जीको समुहले सशक्त भूमिका निभाउने छ ।”

कार्यक्रममा वर्तमान वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधानले केहि स्वार्थी व्यवसायीहरुका कारण अन्य व्यवसायीहरुले दुख पाउँदै आएको भन्दै आफ्नो उम्मेदवारीले त्यस्तो स्वार्थलाई निर्मुल गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्