सिनर्जी पावरद्धारा ३ आर्थिक बर्षको साधारणसभा सम्पन्न, २२ मेगावाटको ‘मध्य होंगु खोला ए’ आयोजनामा लगानी गर्ने « Arthapath.com
२२ पुष २०७७, बुधबार

सिनर्जी पावरद्धारा ३ आर्थिक बर्षको साधारणसभा सम्पन्न, २२ मेगावाटको ‘मध्य होंगु खोला ए’ आयोजनामा लगानी गर्ने



काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले एक साथ ३ वटा आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । कम्पनी आज पुस २२ गते बुधबार भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६ र २०७६/०७७ को सभा सम्पन्न गरेको हो ।

सभाले लाभांश सहितका विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ । कम्पनीले २०७७ असारसम्मको खुद मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेको छ। कम्पनीले आईपिओ निष्काशन गरेपछि पहिलो पटक लाभांश प्रस्ताव गरेको हो ।

त्यस्तै सभाले उल्लेखित आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संशोधित नियमावली र प्रबन्धपत्रमा कुनै फेरबदल गर्नु परे संचालक समितिलाई आख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ ।

त्यस्तै कम्पनीको साधारणसभाले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको ‘मध्य होंगु खोला ए’ जलबिद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको थियो । सोहि प्रस्ताव साधारणसभाले पारित गरेको हो ।

यस आयोजनामा कम्पनीले स्वपुँजीको ४० प्रतिशत शेयर लगानी गर्ने उल्लेख गरिएको छ । यस आयोजनाले विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्रि सम्झौता गरिसकेको जनाईएको छ ।

सभामा कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाले आगामी वर्षहरुमा लाभांश दर बढाउदै लैजाने प्रतिबद्दता व्यक्त गर्नु भएको छ । उहाँले शेयरधनीहरुलाई प्रदान गरिने लाभांश दरले निरन्तरता पाओस् भन्ने उदेश्य र शेयरधनीको माग बमोजिम नै ब्यबसाय बढाउनको लागि नयाँ आयोजनामा लगानी गर्ने निर्णय गरिएको बताउनु भयो । कम्पनीले हाल दोलखामा १० मेगावाटको सिप्रिन खोला आयोजना संचालन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्