नागरिकता विधेयकले नेपाली बाबुआमाका छोराछोरीलाई मात्रै नागरिकता दिने व्यवस्था गरेको होः महान्यायाधिवक्ता « Arthapath.com
१० जेष्ठ २०७८, सोमबार

नागरिकता विधेयकले नेपाली बाबुआमाका छोराछोरीलाई मात्रै नागरिकता दिने व्यवस्था गरेको होः महान्यायाधिवक्ता



काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले अहिले अध्यादेशबाट संशोधन गरिएको नागरिकता ऐनको व्यवस्थाले कोही पनि विदेशीलाई नेपाली नागरिकता उपलब्ध नहुने स्पष्ट पारेका छन् । बाबुआमा दुबै जना नेपाली नागरिक छन् भने उनीहरुका सन्तानलाई नागरिकता दिनमात्रै यो संशोधन गरिएको उनले प्रस्ट पारे ।

‘अहिलेको अध्यादेशले नेपाली नागरिकता पाइसकेका नागरिकका सन्तानलाई मात्रै सम्बोधन गर्न खोजेको हो । यसले नयाँ नागरिकता दिन खोजेको होइन,’ उनले भने । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐनको संशोधन अध्यादेश जारी गरेपछि सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा समेत उक्त विधेयकमाथि प्रश्न उठाइएको थियो ।

समाजमा गलत सूचना प्रेषित भएको भन्दै सोमबार दिउँसो महान्यायाधिवक्ताको कार्यालयले पत्रकार सम्मेलन आयोजना गरेर यसबारे स्पष्ट पारेको हो । विसं २०६३ को संविधानले जन्मको आधारमा नागरिकता दिने व्यवस्था गरेको थियो । बैबाहिक अंगिकृत नागरिकका सन्तानलाई जन्मको आधारमा नागरिकता दिने उक्त संवैधानिक व्यवस्था २०७२ को संविधानले समेट्न सकेन ।

जन्मका आधारमा नागरिकता पाएका नेपालीको सन्तानलाई कस्तो नागरिकता दिने भनेर ऐनमा व्यवस्था थिएन । यही दौरान कतिपयले अदालतमा मुद्दा हालेर नागरिकता लिएका थिए । यसअघि पनि त्यस्ता व्यक्तिहरुले नागरिकता माग्न जिल्ला प्रशासन कार्यालय पुग्दा प्रमुख जिल्ला अधिकारीले पहिले अदालत गएर मुद्दा लड्न र फैसला बोकेर नागरिकता लिन आउन भन्थे ।

यस्ता धेरै गुनासो आएपछि गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर वंशजको आधारमा नागरिकता दिन निर्देशन दिएको थियो । ‘तर सम्मानित सर्वोच्च अदालतले कानून बनाएरमात्रै नागरिकता दिनू भनेर फैसला गरेपछि त्यो प्रक्रिया रोकियो,’ पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने भने ।

महान्यायाधिवक्ता रमेश बडालका अनुसार सरकारले २०७५ साउन २२ गते यही व्यवस्था थप गर्नेबारे नागरिकता ऐनको संशोधन विधेयक संसदमा पेश गरेको थियो । त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओली नै थिए । तर संसदले उक्त विधेयकमाथि निणर्य गरेन । सोही विधेयकमा भएका व्यवस्था र संविधानले गरेको व्यवस्थालाई अक्षरशः पालना गरेर अध्यादेश जारी गरिएको बडालले बताए ।

कति छन् यस्तो नागरिकता पाउने ?
नेपालको अन्तरिम संविधान २०६३ अन्तरगत नेपालको संविधान २०७२ लागूहुनु अघिसम्म १ लाख ९० हजार ७२६ जनाले जन्मको आधारमा नागरिकता प्राप्त गरेका छन् । अध्यादेशको नयाँ व्यवस्थाले उनीहरुका सन्तानलाई वंशजको आधारमा नागरिकता उपलब्ध गराउने व्यवस्था गरेको हो ।

जन्मका आधारमा नागरिकता प्राप्त गर्ने नेपालीका सन्तानले नयाँ व्यवस्थाबाट नागरिकता पाउने सक्छन् । यसमध्ये केहीलाई गृहमन्त्रालयको परिपत्रका आधारमा नागरिकता पाएको र केहीले अदालतको आदेश लगेर पनि नागरिकता पाइसकेको गृहसचिव न्यौपानेले बताए ।

Tags :

प्रतिक्रिया दिनुहोस्