सामाजिक सुरक्षा कोषः वित्तीय संस्थालाई गलपासो ! « Arthapath.com
२० जेष्ठ २०७८, बिहीबार

सामाजिक सुरक्षा कोषः वित्तीय संस्थालाई गलपासो !



काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघले पहिलेदेखि नै आकर्षक सेवा सुविधा पाइरहेका वित्तीय क्षेत्रका कर्मचाराीलाई जबरजस्ती सामाजिक सुरक्षा कोषमा जोड्न भइरहेको प्रयासको विरोध गरेलगत्तै बैंकरहरुले पनि यो योजना ‘गलपासो’ भएको बताएका छन् ।

एक फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भन्छन्, ‘सामाजिक सुरक्षा कोष वित्तीय संस्थाका लागि गलपासो भयो ।’ सरकारले ऐनमा व्यवस्था गरेका कारण जसरी पनि जानुपर्ने कोषको सचिवालयले बैंक तथा वित्तीय संस्थालाई पत्र लेख्दै कोषमा आबद्ध हुन आग्रह गरिरहेको छ ।

नयाँ योजनामा जोडिन सरकारी दबाबका कारण अहिले सञ्चय कोषमा बचत जम्मा गरिरहेका कर्मचारीले कसरी रकम स्थानान्तरण गर्ने भन्ने समस्या भएको उनी बताउँछन् । सरकारले लचिलो बन्छौं भने पनि त्यसको प्रक्रियागत व्यवस्था नमिलिसकेको अवस्थामा कठीन पर्ने उनी बताउँछन् ।

दुबैतिर पैसा राख्ने हैसियत पनि नहुने र भइरहेको संस्था छोडेर अन्यत्र लैजाँदा प्रकृयागत झमेला सहनुपर्ने बाध्यताले कर्मचारी नै समस्यामा परेको उनी बताउँछन् । त्यसबाहेक लगातार जागिर नखाने कर्मचारीको हकमा समस्या हुने, संस्था परिवर्तन गर्न पनि समस्या हुने भएकाले कर्मचारीलाई धेरै झण्झट सहनुपर्ने अवस्था आएको उनले बताए ।

कर्मचारीहरु नै पनि ६० वर्ष सेवा गरेपछिमात्रै प्रतिफल आउने संस्थामा सहभागि हुन हिचकिचाउने गरेको बैंकर बताउँछन् । त्यसो त उनीहरुले अहलिे बैंक तथा वित्तीय संस्थाले आन्तरिक रुपमा दिने सेवासुविधा र कर्मचारी सञ्चय कोषको बचतबाटै बढी लाभ पाइरहेका छन् । यस्तो बेला कम लाभ हुने, तर पैसा तिरिरहनुपर्ने सामाजिक सुरक्षा कोषमा सहभागि हुन कर्मचारी अनिच्छुक रहेको बैंकरले यसअघिदेखि नै बताउँदै आएका थिए ।

उच्च आम्दानी गर्ने बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कोषमा बढी रकम योगदान गर्नुपर्ने भएकाले पनि उनीहरु सशंकित भएका हुन् । यही कारण वित्तीय संस्था लगायत उच्च आय गर्ने क्षेत्रका कर्मचारीले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष वा सामाजिक सुरक्षा कोषमध्ये कुनै एउटामा सहभागि हुनु पर्ने व्यवस्थाको माग गर्दै आएका थिए । ती तीनमध्ये कुन संस्थामा सहभागि हुने भन्ने छनोटक पनि कर्मचारी स्वयम्ले गर्न पाउनुपर्ने माग उनीहरुको छ ।

तर सरकार र विशेषज्ञहरु भने सामाजिक सुरक्षा कोषलाई कर्मचारी सञ्चय कोष वा नागरिक लगानी कोषसँग तुलना गर्न नहुने बताउँछन् । अहिले चलिरहेको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषहरु बचत प्रयोजनका लागि खोलिएका संस्था हुन् । सामाजिक सुरक्षा कोष भने बचतका लागि नभई योगदानमा आधारित सामाजिक सुरक्षाका लागि स्थापना भएको संस्था हो । यही कारण भिन्न प्रयोजनमा खुलेका संस्थाबीच छनोटको अधिकार नहुने सरकारी अधिकारीले बताउँदै आएका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्