सुन चाँदी ब्यवसायीद्वारा सुरक्षा माग, लुटपाट र आक्रमण बढेकाे गुनासाे « Arthapath.com
४ असार २०७८, शुक्रबार

सुन चाँदी ब्यवसायीद्वारा सुरक्षा माग, लुटपाट र आक्रमण बढेकाे गुनासाे



काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले पछिल्ला दिनमा ब्यवसायी माथि आक्रमण तथा लुटपाटका घटना बढ्दै गएको भन्दै सुरक्षा माग गरेकाे छ । करिव एक महिना अघि सिराहामा भएको सुनचाँदी ब्यवासयीको हत्या र लुटपाटको घटना सेलाउन नपाउँदै पुनः महोत्तरी जिल्लाको सम्सी गाउँपालिका वडा नं १ मा त्यस्तै प्रकृतिको अर्को घटना दोहोरिएको महासंघले भनेकाे छ ।

लुटेरा समूहले राजिप ज्वेलर्सका सञ्चालक विरेन्द्र साहलाई बुधबार राति करिव १२ बजेको समयमा गोली हानी गंभिर घाइते बनाउएकाे थियाे । उनकाे परिवारका अन्य सदस्यलाई समेत रड तथा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकाे महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। सञ्चालक साह तथा परिवारका अन्य सदस्यहरुलाई घाइते बनाएपछि उनीहरुले पसल तथा घरमा रहेका सुन तथा चाँदी र गरगहना समेत लुटेर लगेका छन् ।

ब्यवसायी माथि यसरी एकपछि अर्को गरी हमला तथा लुटपाट हुन थालेको घटनाले समग्र सुनचाँदी ब्यवसायीलाई हतोत्साही र चिन्तित बनाएको महासंघले बताएकाे छ । यसले ब्यवसाय सञ्चालन गर्ने मनोवल नै खस्किएको विज्ञप्तीमा उल्लेख छ । ‘यस्ता घटनाले आम सुनचाँदी ब्यवसायीमात्र नभई समग्र उद्यमी ब्यवसायी र पेशाकर्मीलाई नै चिन्तित तुल्याएको छ’, विज्ञप्तीमा भनिएकाे छ ।

महासंघले दोषीलाइ अबिलम्व पक्राउ गरी कारवाही गर्न र निर्वाध रुपमा पेशा ब्यवसाय गर्न पाउने वातवारण सिर्जना गर्न सरकार र सुरक्षा निकायसँग आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्