कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको ८ ठाउँमा जग्गा, १३ हजार कित्ता शेयर « Arthapath.com
११ माघ २०७८, मंगलवार

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको ८ ठाउँमा जग्गा, १३ हजार कित्ता शेयर



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्पती विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको वित्तिय विवरण अनुसार शाहीका नाममा विभिन्न ८ ठाउँमा जग्गा, २ वटा घर र विभिन्न ३ कम्पनीमा शेयर रहेको छ ।

मुख्यमन्त्री शाहीको हुम्ला, बाँके र काठमाडौंमा घरजग्गा रहेको छ । हुम्लाको सिमकोटमा ७२३.७५ वर्गमिटर जग्गा र घर, काठमाडौं महानगरपालिका १६ मा ३३०.७५ वर्गमिटर जग्गा र घर र हुम्लाको खार्पुनाथमा २१५ रोपनी जग्गा रहेको छ । त्यस्तै, बाँकेको खजुरामा २ विघा जग्गा मुख्यमन्त्री शाहीको नाममा रहेको छ ।

मुख्यमन्त्री शाहीका नाममा नेपालगञ्जमा जग्गा रहेको छ तर त्यहाँ कति जग्गा छ भन्ने खुलाइएको छैन । त्यस्तै पत्नी बसन्तीका नाममा हुम्लाको सिमकोटमा ५४८.२५ वर्गमिटर जग्गा र घर छ । साथै काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ मा २४ लाखमा खरिद गरिएको जग्गा पनि छ । व्यापार तथा व्यवसायबाट प्राप्त आम्दानीबाट यी जग्गा र घर जोडेको उनको भनाई छ ।

त्यसैगरी मुख्यमन्त्री शाहीका नाममा १३ हजार कित्ता साधारण शेयर रहेको छ । चिलिमे जलविद्युत् आयोजनाको २ हजार ६ सय कित्ता, ज्योति विकास बैंकको १० हजार कित्ता र कृषि विकास बैंकको ४ सय कित्ता शेयर रहेको छ । उनको बैंक खातामै ७७ लाख रूपैयाँ छ भने १ करोड ७२ लाख ऋण देखाइएको छ । व्यक्तिसँग ४० लाख र ज्योति विकास बैंकमा १ करोड ३२ लाख रुपैयाँ ऋण रहेको जुन अहिले किस्तामा तिरिरहेको उल्लेख गरिएको छ ।

त्यस्तै, कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ । मन्त्री शाहीले अर्कैको नाममा घरजग्गा रहेको र आफू ११ लाख ऋणमा रहेको विवरण सार्वजनिक गरेका छन् ।

शाहीसँग मुगुको सोरु गाउँपालिका–१ मा बुबा मानबहादुर शाहीको नाममा एक रोपनी पुख्र्यौली र भक्तपुर चाँगुनारायणमा २ ठाउँमा १० आना जग्गा उनकी श्रीमती जालगेडी शाही र सुरेशबहादुर शाहीको नाममा रहेको उल्लेख छ ।

मन्त्री शाहीले उक्त सम्पत्ति पूरै ऋण गरेर खरिद गरेको उल्लेख गरेका छन् । पुख्र्यौली जग्गा बुबाकै नाममा मुगुको सोरु गाउँपालिका–१ मा २० रोपनी खेत छ । उनको पुख्र्यौली पाँच तोला सुन श्रीमतीको नाक, कानका गहना, १ तोला चाँदी र ३ लाख रकम एनआईसी एसिया बैंकमा तलब भत्ता बापतको मौज्दात छ । उनले ४ जनाको ११ लाख ऋण रहेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्