प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्दै « Arthapath.com
१९ माघ २०७८, बुधबार

प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्दै



काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । एक हप्ताभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने गरी छलफल थालिएको स्रोतले बताएको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल र रक्षामन्त्री मिनेन्द्र रिजालले राजिनामा दिएपछि दुई मन्त्रालय मन्त्रीविहीन बनेको छ । सोही मन्त्रालयमा देउवाले नयाँ नियुक्ति गरेर मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग नाम जोडिएपछि असोज २२ मा मन्त्री भएका हमालले असोज २४ गते राजिनामा दिएका थिए भने १४ औं महाधिवेशनमा महामन्त्रीमा राजय भोगेपछि रिजालले पनि रक्षामन्त्रीबाट राजिनामा दिएका थिए ।

देउवाले राज्यमन्त्री उमेश श्रेष्ठलाई उद्योगमन्त्री बनाउने चर्चा चलेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने तेजुलाल चौधरीको नाम देउवा समक्ष राखेका छन् । पौडेल असोज २२ मै चौधरीलाई मन्त्री बनाउन चाहेका थिए । तर देउवाले दिलेन्द्र बडू र मिनेन्द्र रिजाल रोजेपछि चौधरी मन्त्री बन्नबाट बन्चित भएका थिए । उनी उक्त दुई मन्त्रालयमा नयाँ मन्त्री ल्याउने तयारीमा छन् ।

देउवाले प्रकाशमान सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा ल्याउन चाहेको चर्चा चलेको थियो । तर, चौतर्फी विवाद भएपछि उनी अहिले नै सरकारमा सहभागी नहुँने बुझिएको छ । सिंह सरकारमा सहभागी नभएको खण्डमा उनको सिफारिसमा राजन केसीलाई मन्त्री बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

सिंह मन्त्री बन्न तयार भए उपप्रधानसहित गृहमन्त्री बनाउने र वर्तमान गृहमन्त्री बालकृष्ण खाँणलाई रक्षामन्त्रीको जिम्मेवारी दिने छन् । देउवा सर्वोच्च अदालतको आदेशअनुसार गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्