हालसम्म कै उच्च मूल्य पुग्दा पनि निगमलाई १५ दिनमा साढे ३ अर्ब रुपैयाँ घाटा ! « Arthapath.com
९ जेष्ठ २०७९, सोमबार

हालसम्म कै उच्च मूल्य पुग्दा पनि निगमलाई १५ दिनमा साढे ३ अर्ब रुपैयाँ घाटा !



काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढायो । स्थानिय तहको निर्वाचन सम्पन्न भएपछि नेपाल सरकारले १० दिनको अवधिमा नै दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले पेट्रोल प्रतिलिटर १० रुपैयाँ बढाएर प्रतिलिटर १८० रुपैयाँ पुयाएको छ । त्यस्तै, डिजेल, मट्टितेलको मूल्य पनि प्रतिलिटर १० रुपैयाँ बढाएर प्रतिलिटर १६३ रुपैयाँ पुर्याएको छ । निगमका अनुसार खाना पकाउने एलपी ग्यासमा २ सय रुपैयाँ वृद्धि गरेर १ हजार ८ सय रुपैयाँ पुर्याइएको छ । यता हवाइ ईन्धनको मूल्य (आन्तरिक) मापनि प्रतिलिटर १० रुपैयाँ बढाएर १६६ रुपैयाँ पुर्याएको छ ।

तर एक पटकमा लिटरमा १० रुपैयाँ बढाउँदा पनि निगमलाई अर्वाै रुपैयाँ हुने गरेको छ । पछिल्लो पटकको मूल्य वृद्धि गरेपनि १५ दिनमा ३ अर्ब ३५ करोड नोक्सानी हुने निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए । उनका अनुसार १५ दिनको अवधिमा पेट्रोलमा ४९.९६ करोड रुपैयाँ र डिेजलमा १६९.४८ करोड रुपैयाँ घाटाहुने देखिन्छ भने मट्टितेलमा १.३९ करोड रुपैयाँ नाफा हुने छ ।

यता हवाई इन्धन (आन्तरिक) मा ३.६४ करोड रुपैयाँ र हवाई इन्धन (बाह्य) मा २४.७९ करोड रुपैयाँ नाफा हुने सहप्रवक्ता कार्कीले बताए । निगमलाई एलपी ग्यासमा भने १ अर्ब ४६ करोड २२ लाख रुपैयाँ पाक्षिक घाटा हुने देखिएको छ । निगमलाई १५ दिनको अवधिमा झण्डै ३ अर्ब ३५ करोड ८३ लाख रुपैयाँ घाटा हुने देखिएको सहप्रवक्ता कार्कीले बताए ।

विदेशी मुद्रा खर्च गरी महँगो मूल्यमा आयात गर्नुपर्ने पेट्रोलियम पदार्थको प्रयोग सकेसम्म कम गरी विद्युत् लगायत स्वदेशी ऊर्जाको खपत बढाउनुपर्ने आवश्यकता निगमले औंल्याएको छ । निगमले आगामी दिनमा लागत मूल्यमै इन्धन बिक्री गर्ने संकेत समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्