सत्तापक्षले उम्मेदवारलाई थुनेर, बुथ कब्जा गरेर निर्वाचन जित्योः ओली « Arthapath.com
१२ जेष्ठ २०७९, बिहीबार

सत्तापक्षले उम्मेदवारलाई थुनेर, बुथ कब्जा गरेर निर्वाचन जित्योः ओली



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव शान्तिपूर्ण र निष्पक्ष ढंगले नभएको बताएका छन् । सरकारले आर्थिक वर्ष २०७९–८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै अध्यक्ष ओलीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा नभएको बताएका हुन् ।

अध्यक्ष ओलीले चुनावमा सत्ता पक्षले धाँधली गरेको आरोप समेत लगाएका छन् । उनले भने, ‘एमालेलाई पत्तासाफ गरिदिने सत्ता गठबन्धनको घोषित नीति नै भएको र त्यहीअनुसार निर्वाचन गराइएको छ । कतिपय ठाउँमा सत्ता पक्षले बुथ नै कब्जा गरेर चुनाव जितेका छन् ।’

उनले भने, ‘निर्वाचन स्वच्छ हुन सकेन, धाँधलीरहित हुन सकेन । उम्मेदवारलाई थुनेर, बुथ कब्जा गरेर, सत्तापक्षले बुथ कब्जा गर्दा प्रहरी निरीह भएर हेरेको छ । बुथ कब्जा नगर भन्यो भने प्रतिपक्षका कार्यकर्ता गिरफ्तार गरिएका छन् । उम्मेदवारका घरमा बम पड्काइएको छ । उम्मेदवारका घरका सदस्य घाइते भएका छन् । शान्तिपूर्ण भयो सबैतिर ?’

देशका कुनै पनि स्थानमा प्रतिपक्षका कारण चुनाव स्थगित नभएको ओलीले दाबी गरे । उनले २०७४ सालको चुनावमा यही गठबन्धन सरकारमा भए पनि निर्वाचन यस्तो भद्दा नभएको बताए । ओलीले भने, ‘यही गठबन्धन थियो, तर यस्तो आक्रामक र हिंसात्मक खालको चुनाव त्यो बेला भएको थिएन । अहिले त नयाँ कीर्तिमान नै भयो । पञ्चायतकालमा पनि यस्तो नांगो ढंगले राज्यसंयन्त्रको दुरुपयोग भएको थिएन ।’


प्रतिक्रिया दिनुहोस्