यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सुविधा « Arthapath.com
१३ जेष्ठ २०७९, शुक्रबार

यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सुविधा



अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्नुभएको छ । कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गर्नुभएको छ । कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै लगाउनुहुने भएको छ । 

संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ । सातवटै प्रदेश सभाले निर्माण गरेको कानुनमा जनप्रतिधिको प्रमुखको सेवासुविधा ३० हजारदेखि ४२ हजार रुपियाँसम्म हुने व्यवस्था छ । जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेको मितिदेखि सेवासुविधा लागू हुने गर्दछ । 

जनप्रतिनिधिले पाउने सुविधामा मासिक सुविधा, सञ्चार, दैनिक भ्रमण भत्ता, वैदेशिक भ्रमण भत्ता, इन्धन खर्च, यात्रा बीमा, स्थानीय तहमा निर्माण भएका विभिन्न समितिमा उपस्थिति बैठक भत्तालगायत छन् । स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्षले पूर्णकालीन भएर कार्यालयमै बसेर सेवा प्रवाह गर्छन् ।

बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले स्थानीय तहका जनप्रतिनिधिले पाउने सेवासुविधा सामान्य मात्र भएको भन्दै त्यस्तो सेवासुविधा बढाउनुपर्ने दाबाब यसअघि नै आएको जानकारी दिनुभयो । स्थानीय तहका जनप्रतिनिधिलाई बिनासेवासुविधा काम गर्न लगाउँदा स्थानीय तहमा भ्रष्टाचार मौलाउने भएकाले स्थानीय तहका जनप्रतिनिधिलाई अहिले प्रदान गरिएको सेवा पनि न्यून मात्र भएको उहाँले बताउनुभयो । 

पदाधिकारीले पाउने सेवासुविधा प्रत्येक तीन/तीन महिनामा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रदेश कानुन निर्माण गरेको स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधा आ–आफ्नो पालिकाको स्रोतलाई आधार मानेर स्रोत घट्दै गए सेवासुविधा पनि घटाउन सक्ने कानुनी व्यवस्था छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले भने स्थानीय तहका जनप्रतिधिले कानुनमा तोकिएको मात्र सेवासुविधा लिँदै आएको जनाएको छ । महासङ्घका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधा प्रदेश कानुनअनुसार हुने व्यवस्था गरेकाले सोही कानुनअनुसार सेवासुविधा पाउँदै आएको बताउनुभयो ।  

उपमहानगरपालिकामा नगरप्रमुखको मासिक सुविधा ४० हजार, उपप्रमुखको ३५ हजार, वडाध्यक्ष २२ हजार, कार्यपालिका सदस्य सात हजार पाँच सय र सभाका सदस्यको छ हजार पाँच सय, सञ्चार सुविधामा प्रमुखलाई दुई हजार पाँच सय, उपप्रमुखलाई एक हजार पाँच सय, वडाध्यक्षलाई एक हजार रुपियाँ रहेको छ । अन्य सुविधा भने गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधि र महानगरपालिका जनप्रतिनिधिको समान छ । 

त्यस्तै महानगरपालिकामा प्रमुखको मासिक सुविधा ४२ हजार, उपप्रमुख ३७ हजार, वडाध्यक्ष २५ हजार, कार्यपालिका सदस्यको आठ हजार र सभाका सदस्यको सात हजार रुपियाँ सुविधा तोकिएको छ। त्यस्तै, सञ्चार सुविधामा प्रमुखको मासिक तीन हजार, उपप्रमुखको एक हजार पाँच सय र वडाध्यक्षको एक हजार रुपियाँ तोकिएको छ । दैनिक भ्रमण भत्तामा प्रमुखको दुई हजार पाँच सय र उपप्रमुखको दुई हजार र अन्य पदाधिकारीको भने नगरपालिका र उपमहानगरपालिका जनप्रतिधिको समान रहेको छ । 

विदेश भ्रमण गर्दाको दैनिक भ्रमण भत्ता महानगरपालिकाको प्रमुखलाई १७५ प्रतिअमेरिकी डलर उपप्रमुखलाई १५९ तोकिएको छ । अन्य पदाधिकारीको नगरपालिका र उपमहानगरपालिका समान रहेको छ । समाचार गोरखापत्र दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्