एमाले सुध्रिने कि सत्यानाशको बाटो रोज्ने ? « Arthapath.com
२१ जेष्ठ २०७९, शनिबार

एमाले सुध्रिने कि सत्यानाशको बाटो रोज्ने ?



रामचन्द्र भट्ट

एमालेले पकड जमाएको विदुर यसपटक हातबाट गुमेको छ । गम्भीर भएर सोच्ने हो भने योभन्दा ठूलो पीडा एमाले हुँ भन्नेलाई नहुनुपर्ने हो ।

हुन त मैले जीवनमा पहिलो मताधिकार प्रयोग गरेको ०४८ सालमा हो । बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो संसदीय चुनावमा पहिलो मत प्रयोग गरेको थिएँ । तर, चुनावलाई हल्का रूपमा बुझेको र महसुस गरेको भने त्यसको नौ वर्ष पहिले नै अर्थात् ०३९ सालमै हो । जतिखेर तत्कालीन विदुर गाउँ पञ्चायतको चुनाव थियो ।

नौ वर्षको उमेर भए पनि प्रधानपञ्चमा गाउँकै शिवप्रसाद गजुरेल उम्मेदवार थिए । मेरा पिताजीले गजुरेललाई सहयोग गर्नुभएको थियो । घरमा चुनावका रणनीति बन्नेदेखि लिएर पर्चा, पोस्टर थुप्रै हुन्थे । त्यतिखेरको जिल्ला सदरमुकाम रहेको हुँदा विदुर गाउँ पञ्चायतको सिमाना ढुङ्गेको धोबीखोलादेखि सुरु भएर देवीघाटसम्म मात्र थियो । मेरो गाउँ पीपलटार नै तीनवटा वडामा विभक्त थियो । ०३९ को चुनावमा प्रधानपञ्चमा शिवप्रसादले जिते । उपप्रधानपञ्च भने बट्टारबजारका जनकलाल श्रेष्ठ चुनिए । तत्कालीन ५ नम्बर वडाको वडाध्यक्षमा टंकप्रसाद न्यौपाने निर्वाचित भएका थिए । ०४४ मा जब नगरपञ्चायत बनाइयो, त्यतिखेर तत्कालीन त्रिशूली गाउँ पञ्चायत, भैरवी गाउँ पञ्चायतका केही भाग र विदुर गाउँ पञ्चायतलाई पूरै मिलाइएको थियो । नगर पञ्चायत भएपछि विदुरको पहिलो प्रधानपञ्च शिवप्रसाद नै निर्वाचित भए । त्यतिखेर उपप्रधानपञ्च भने समाजसेवी लालबहादुर ओझा चुनिए । त्यतिखेर नगरका वडाका सिमानामा व्यापक फेरबदल गरिएको थियो । पीपलटारको आधा भाग ५ नम्बर वडा र आधा भाग ७ नम्बर वडामा पारियो । ५ नम्बर वडा गँगटेबाट सुरु भएर पीपलटारको आधासम्म थियो भने ७ नम्बर पीपलटारबाट सुरु भएर देवीघाटसम्म फैलिएको थियो ।

बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछि भएको विदुर नगरपालिकाको चुनावमा नेपाली काङ्ग्रेसबाट मेयरमा शिवप्रसादलाई टिकट दिइयो । त्यतिखेर एमालेबाट उम्मेदवार भएका ठाकुरप्रसाद गजुरेलले बाजी मारे । उपमेयरमा त्रिशूलीका माणिकलाल श्रेष्ठले जिते । एमालेले टिकट दिँदा भेगीय र जातीय सन्तुलन मिलाउन निकै विचार पु¥याएको थियो । तर, काङ्ग्रेसले त्यो विचार त पु¥याएन नै । पञ्चायतकै विभिन्न तहमा निर्वाचित भएकालाई जनआन्दोलनको भावनाविपरीत टिकट बाँड्यो । ०५४ को नगर निर्वाचनमा समेत त्यही गल्तीलाई नेपाली काङ्ग्रेसले फेरि दोहो¥यायो । त्यसको परिणाम विदुर नगरपालिकामा नेपाली काङ्ग्रेस सदा पछि परिरह्यो ।

०७४ मा काङ्ग्रेसले केही सुधार गरे पनि चुनाव जित्न भने सकेन । यसपटक अर्थात् ०७९ को चुनाव नुवाकोट एमालेका लागि ठूलो क्षतिको वर्ष बनेको छ । ३० वर्षदेखि एमालेले आफ्नो किल्ला बनाउँदै आएको विदुर नगरबाट हात धोएको छ । ०४९ सालमा देशैभरका स्थानीय निकायमा नेपाली काङ्ग्रेसले जितेको, नुवाकोटका पनि एमालेले केही गाउँ विकास समिति जितेको थियो । त्यस्तो अवस्थामा समेत एमालेले पकड जमाएको विदुर यसपटक हातबाट गुमेको छ । गम्भीर भएर सोच्ने हो भने योभन्दा ठूलो पीडा एमाले हुँ भन्नेलाई नहुनुपर्ने हो । योभन्दा ठूलो झड्का अरू कुनै पनि नलाग्नुपर्ने हो । तर, एमालेका नेताले अझै चेतेका छैनन् । उनीहरूको चेत पलाउन अझै बाँकी छ भन्ने तथ्य बुझ्न गहन बैठक हुन जरुरी पनि छैन । न त कुनै आयोग बनाउन र त्यसको प्रतिवेदन कुर्न नै पर्ने देखिन्छ । आफुले टिकट नपाएपछि किन जिताउने भन्ने सोच हाँडीघोप्टे स्वभावले एमालेले तीन दशकपछि विदुर नगर गुमाएको छ ।

विदुर नगर गुमाउनुमा धेरै कारण एमालेभित्रको आन्तरिक द्वन्द्व होला । थोरै कारणमध्ये नगरप्रमुख भएका सञ्जु पण्डितले डेलिभर्ड गर्न नसकेका काम, हुन नसकेका विकास, उनले बेलाबखतमा चिढाएका जनता-मतदाता पनि पक्कै होलान् । टिकटका आकाङ्क्षी बढ्नु, उम्मेदवारी चयनमा खल्तीबाट सूची निकालेर टिकट दिने परम्परा पनि पक्कै कारण होला । तर, अघिल्लोपटक नै आउन दिन नहुने समस्यालाई यसपटक पनि जब निरन्तरता दिइयो, त्यसको कारणले पनि यसपटक एमालेले विदुर गुमाएको ठोकुवा गर्न गाह्रो छैन । मैले माथि सुरुमै विदुर गाउँ पञ्चायतका लागि ०३९ सालमा भएको चुनावको प्रसङ्ग उठाइसकेको छु । त्यतिखेर प्रधानपञ्च खस ब्राह्मण समुदायका थिए । उपप्रधान भने नेवार समुदायबाट निर्वाचित भएका थिए । ०४९ र ०५४ मा एमालेले टिकट वितरण गर्दा उपमेयरमा नेवार समुदायबाट माणिकलाल श्रेष्ठलाई खडा गरेको थियो । त्यसले गर्दा एमालेले सहजै जित हासिल गरेको थियो ।

कसैलाई अप्रिय लाग्न पनि सक्छ । वर्ग, जातका कुरा उठाउनु ठीक होइन भन्ने कुरा नमिठो पनि हुन सक्छ । तर, विचार, सिद्धान्तले मात्र देश, शासन, पार्टी, सरकार, सङ्गठन चल्दैनन् । ती सबै बन्ने भनेको व्यक्ति मिलेर हो । हरेक व्यक्तिका फरक–फरक सोच हुन्छन् । त्यो सोचले कहिलेकाहीँ सिद्धान्त, नीतिलाई भुल्छ । जतिसुकै आदर्शका कुरा गरे पनि राजधानी काठमाडौंमा कुनै सुदूरपश्चिमका दुईजना भेटिए भने तिनले आफ्नै भेगमा बोलिने भाषामा कुरा गर्न थालिहाल्छन् । तराईका कुनै दुई बाटामा भेटिए भने मैथिलीमा कुराकानी गर्न सुरु गर्छन् । दुई नेवार भेट हुँदा उनीहरूले पनि आफ्नो मातृभाषामा कुरा थाल्छन् । यसले के प्रस्ट पार्छ भने मानिसलाई प्रभावमा पार्नु छ भने भाषामार्फत सबैभन्दा सहज हुन्छ ।

दक्षिण अफ्रिकाका स्वतन्त्र सेनानी नेल्सन मण्डेलाले भनेका थिए, ‘यदि तिमीले अरूले बुझ्ने भाषामा कुराकानी ग¥यौ भने त्यो सुन्ने स्रोताको दिमागमा बस्छ । तर, तिमीले उसले बोल्ने भाषामा कुराकानी ग¥यौ भने त्यो उसको हृदयमा गएर बस्छ ।’ हो, एमालेले भाइटल पोजिसनमा उम्मेदवारी दिँदा यसपटक चुकेको परिणामले निर्वाचन परिणाम प्रतिकूल आएको हो । अघिल्लोपटक मेयर, उपमेयर जसरी खस आर्य समुदायबाटै दिइयो । यसपटक त्यो गल्तीलाई निरन्तरता दिनु एमालेका नेताका गम्भीर लापरबाही र हेलचेक्र्याइँ हो ।

विदुर नगरपालिकाका त्रिशूली, बट्टार, गँगटे, देवीघाट, विदुर, नुवाकोटजस्ता घना आवादी भएका बस्तीमा नेवार समुदायको बाहुल्य छ । तर, मुख्य पदमा एमालेले उम्मेदवारी दिन जुन हिसाबले चुक्यो त्यसको असर चुनावमा देखियो । त्यसको फाइदा नेपाली काङ्ग्रेसलगायत गठबन्धनले यसपटक व्यवस्थित साथ उठाएको देखिएको छ । यसपटक काङ्ग्रेसले विदुरको इतिहासमै पहिलोपटक नेवार समुदायबाट मेयरको उम्मेदवार बनायो । त्यसले गर्दा नेवार समुदायको अधिकांश भोट काङ्ग्रेसका राजन श्रेष्ठले लिन सफल भए । विदुर नपाका नेवार समुदाय लामो समयदेखि नेतृत्वका लागि लालायित रहेको तथ्य बाहिर आइरहेकै थियो । ३५ वर्षदेखि अरूलाई बोकेर हिँडेको यो समुदायबाटै एमालेले उम्मेदवार दिएको भए शायद जित्ने थियो या हारेकै भए पनि यति ठूलो मतान्तर हुने थिएन भन्ने एउटा अनुमान गर्न सकिन्छ ।

एमाले यसपटक जिल्लाका स्थानीय निकायमा पखालिएको छ । ०४९ सालको भन्दा पनि दयनीय अवस्थामा पुगेको छ । यसको कारण पक्कै एमालेले निकालिसक्यो पनि होला । विवेक प्रयोग गरेर आगामी दिनमा सुध्रिने कि अब सत्यानाशको बाटो रोज्ने नुवाकोट एमालेका नेता-कार्यकर्ताका लागि यी दुई बाटा मात्र अघिल्तिर छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्