प्राधिकरणको चुहावट १५ प्रतिशतमा झर्‍यो, गत वर्ष सबैभन्दा बढी १६ अर्ब १६ करोड मुनाफा « Arthapath.com
१ भाद्र २०७९, बुधबार

नेपाल विद्युत् प्राधिकरणको ३७औँ वार्षिकोत्सव

प्राधिकरणको चुहावट १५ प्रतिशतमा झर्‍यो, गत वर्ष सबैभन्दा बढी १६ अर्ब १६ करोड मुनाफा



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आवमा १६ अर्ब १६ करोड मुनाफा कमाएको छ । बुधवार सम्पन्न प्राधिकरणको ३७औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक भएको वित्तीय विवरण अनुसार प्राधिकरणले आव २०७८/०७९ मा १६ अर्ब १६ करोड ५० लाख मुनाफा कमाएको जनाएको छ । 

कार्यक्रममा बोल्दै ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले ९५ प्रतिशत नागरिक विद्युतीय सेवा उपयोग गर्न पाएको बताइन् । आगामी दुई वर्ष भित्र नेपालमा पूर्ण रूपमा विद्युतीय हुने मन्त्री भुसाल बताइन् । हाल नेपालमा ४२ जिल्लामा पूर्ण विद्युतिकरण भइसकेको प्राधिकरणले जनाएको छ । 

विगत ६ वर्ष अगाडि २५.३८ प्रतिशत रहेको विद्युत चुहावट घटेर हाल १५.३८ प्रतिशत  रहेको छ । आगामी दिनमा विद्युतीय ऊर्जामा आत्म निर्भर भई बढी भएको विद्युत छिमेकी देशहरूमा निर्यात गरी देशको आर्थिक अवस्था सुदृढ गर्ने प्राधिकरणको दीर्घकालीन लक्ष्य रहेको छ । 

वार्षिकोत्सव कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सफलता पूर्वक ३७औँ वर्ष पुरा गरेको अवसरमा उनले प्राधिकरणले धेरै सुधारका प्रयास गरेको जानकारी गराए । घिसिङले छिट्टै प्राधिकरणको आधिकारिक ट्रेड युनियनको चुनाव गराएर प्राधिकरण भित्रका कर्मचारीको मनोबल उच्च बनाउने प्रतिबद्धता जनाए । 

घिसिङले पाँच वर्षमा बिद्युत्को खपत तीन गुना बढेको भन्दै नेपालले ऊर्जा क्षेत्रमा ठुलो फड्को मारेको बताए । 

भारत सरकारबाट ३८४ मेगावाट विद्युत् निर्यात गर्न अनुमति प्राप्त  भएकोले ४०० केभी ढल्के बर मुजफ्फरपुर प्रसारण लाइनबाट इन्डिया इनर्जी एक्सचेन्ज लिमिटेडको डे–अहेड बजार प्रतिस्पर्धामार्फत दैनिक ४०० मेगावाट विद्युत बिक्री गर्न सफल भएका प्राधिकरणले जनाएको छ । 

विद्युत् निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आएको छ । विगत तीन वर्ष देखि लगातार विद्युत् महसुल घटाउँदै करिब २० देखि २५ प्रतिशत विद्युत महसुल कम हुँदा प्राधिकरणले अहिलेसम्मकै  सबैभन्दा नाफा कमाउन सफल भएको  छ । 


प्रतिक्रिया दिनुहोस्