‘हामीले चमत्कारी विकास गरेपनि एक दशकपछि अहिलेको श्रीलङ्काको हालतमा पुगिन्छ, नेपाल सिंगापुर कहिल्यै बन्दैन’: डा. स्वर्णीम वाग्ले विचार « Arthapath.com
३० आश्विन २०७९, आईतवार

‘हामीले चमत्कारी विकास गरेपनि एक दशकपछि अहिलेको श्रीलङ्काको हालतमा पुगिन्छ, नेपाल सिंगापुर कहिल्यै बन्दैन’: डा. स्वर्णीम वाग्ले विचार



अहिले नेपालको अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान साढे ५ प्रतिशतमा खुम्चिएको छ । हामीले सन् १९९६ मा जिडिपीको १० प्रतिशतसम्म पुयायौं  । त्यसपछि उद्योगको योगदान खस्किएर आयो । द्वन्द्व र राजनीतिक अस्थिरताले औद्योगिक गतिविधि खुम्च्याउन सघायो । तर एक दुई पुस्तासम्म औद्योगिक क्षेत्रको योगदान १२–१५ प्रतिशत पुर्‍याउनु पर्ने थियो । 

स्वच्छ ऊर्जाको बलमा होस् वा विश्वब्यापी मूल्य शृङ्खलासँग जोडिएर होस् । आन्तरिक प्रतिस्पर्धालाई माथि उठाएर पनि औद्योगिक अर्थतन्त्रको विस्तार गर्न सकिन्छ । तर हामीले विगतमा ठुलो गल्ती गर्‍यौँ । औद्योगिक अर्थतन्त्रलाई बढाउनै नसकी हामी सेवा क्षेत्र प्रधान अर्थतन्त्रमा रूपान्तरण भयौँ । 

अहिले पनि प्रतिव्यक्ति आयका आधारमा दक्षिण एसियामै अफगानिस्तानपछि सबैभन्दा तन्नम र गरिब मुलुक छौँ । औद्योगिक उत्पादन खुम्चिएको छ । सेवा क्षेत्र बढेको त देखिन्छ, तर त्यसमा पनि गुणस्तर छैन । हाम्रो सेवा क्षेत्र भनेको नाङ्ले व्यापार मात्रै बढेजस्तो भएको छ । 

अरू देशमा सेवा क्षेत्र भन्नासाथ चार्टर्ड एकाउन्टेन्ट पेसा, लेखापरीक्षण पेसा, दूरसञ्चार, होटेल व्यवसाय, बैङ्किङ, स्वास्थ्य पेसा, आर्किटेक्ट पेसा आदी भनेर बुझिन्छ । हामीकहाँ चाहिँ खुद्रा तथा थोक व्यापारलाई बुझिन्छ । त्यो पनि असाध्यै कम मूल्य अभिबृद्धि गर्ने, ज्यादै न्यून उत्पादकत्व भएको, साह्रै कम रोजगारी दिने खालका सेवामा हाम्रो सिङ्गै अर्थतन्त्र रूपान्तरण भयो । यसरी बिचको दुई पुस्ता अर्थात् ५०–६० वर्षको अवधि हामीले खेर फाल्यौँ । 

तथ्याङ्क हेर्ने हो भने अमेरिकाले पनि सन् १९५३ मा औद्योगिक अर्थतन्त्रलाई चरम विन्दुमा पुर्‍याएको थियो । त्यसपछि अमेरिकी अर्थतन्त्रमा उद्योगको योगदान घट्न थालेको देखिन्छ । दक्षिण कोरियामा पनि १९८० को दशकको अन्तिमतिर आएर औद्योगिक विकासले शिखर चुमेको थियो । त्यसपछि त्यहाँ पनि अर्थतन्त्रमा उद्योगको योगदान घट्न थालेको देखिन्छ । भारत र चीनमा बरु अलि अपरिपक्व औद्योगीकरण देखियो । यी देशले अमेरिका, जापान, कोरिया जसरी उच्च तहमा नपुग्दै सेवा क्षेत्रतर्फ स्थानान्तरण भए । तर उनीहरू पनि अर्थतन्त्रको १९–२० प्रतिशतसम्म उद्योगको योगदान पुर्‍याउन सफल भए । 

तर नेपालले त्यस्तो अनुभव गर्नै पाएको छैन । हाम्रो अर्थतन्त्र एकै चोटी फड्को मारेको छ । यस खालको संरचनागत रूपान्तरण हाम्रो जनसाङ्ख्यिक बनोटसँग गएर ठोक्किएको छ । हामीले पृथ्वीको आयुको कुरा गर्‍यौँ । तर नेपालकै आयु करिब २५० वर्ष भयो । सन् १७६९ देखि हाम्रो आधुनिक नेपालको सुरुआत भएको थियो । यो २५० वर्षको नेपालको आयुमा पहिलो पटक हामी अहिले सबैभन्दा उत्तम जनसाङ्ख्यिक बनोटमा छौँ ।  

आजको दिनमा नेपालको आधा जनसङ्ख्या २५ वर्षभन्दा मुनिको छ । तर अर्को ६–७ वर्षमा हामी बुढ्यौली समाजमा जान्छौँ । त्यसको २०–२५ वर्षपछि हामीसँग बूढो समाज मात्रै बाँकी रहन्छ । यसपछि कुनै नयाँ चमत्कारिक प्रविधिको विकास भयो भने अर्कै कुरा, नत्र परम्परागत तौरतरिकाबाट हाम्रो देशले विकास गर्न सक्दैन । 

अहिले ११ जना युवाले काम गरेर १ जना वृद्धलाई पालिराख्नु परेको छ । सन् २०५० पछि ४ जना युवाले काम गरेर १ जना वृद्धलाई पाल्नुपर्ने हुन्छ । अहिलेको यस्तो राम्रो जनसाङ्ख्यिक बनोटको लाभ हाम्रो अर्थतन्त्रले लिन सकिरहेको छैन । 

अहिले राजनीतिक स्थिरता र नीति ठिक दिशामा हुन्थ्यो भने हाम्रो अर्थतन्त्रले फड्को मार्थ्यो । अहिले १२००–१२३०० डलर प्रतिव्यक्ति आयबाट हामी ३–४ हजार डलरसम्म पुगेको भए पनि कम्तीमा स्वस्थ मध्ये आय भएको मुलुकको रूपमा रहन सकिन्थ्यो । तर यसरी झ्याल ढोका बन्द नै हुने खालको जनसाङ्ख्यिक बनोटले गर्दा हाम्रो अर्थतन्त्र अहिलेभन्दा भविष्यमा झनै बढी खतरामा पर्ने जोखिम देखिएको छ । 

अहिले हाम्रा नीतिगत विकल्पहरू पनि साँघुरिँदै गएका छन् । जनसाङ्ख्यिक बनोटले पनि हाम्रो विकासको झ्याल ढोका साँघुरिने अवस्था बनेको छ । विकास र औद्योगिक नीतिका विकल्पहरू नै साँघुरिने बाटोमा छन् । यसरी एउटा प्लानेटरी ट्रान्जिट, दोस्रो भूराजनीतिक ट्राञ्जिसन, विकासको बहससम्बन्धी ट्रान्जिट, नेपालको जनसाङ्ख्यिक ट्रान्जिट र अन्तिम चाहिँ यी सबै कुरालाई मनन गरेर, बुझेर देश हाँक्नु पर्ने राजनीतिक नेतृत्वमा पनि ट्रान्जिट हुँदै छ । यी पाँच ट्रान्जिसनले हामीलाई प्रभाव पारिरहेको छ । 

तर राजनीतिक नेतृत्वको सङ्क्रमणलाई हामीले सकारात्मक रूपमा लिन सकिन्छ । ५–७ वर्ष आन्दोलन गरेर, बहुदल ल्याउनु पर्छ भनेर, प्रजातन्त्र ल्याउनुपर्छ भनेर आएको पुस्ता अब अस्ताउँदै छ । यसलाई हामीले चाँडो लखेट्न सक्यौँ भने अबको ३–४ वर्षमा केही परिवर्तन हुन्छ । अबको ३–४ वर्षमा राजनीतिक नेतृत्वको सङ्क्रमणमा केही नयाँ ढोका खुल्न सक्छन् । अहिले काठमाडौँका मेयर एक प्रतिकात्मक हुनुभयो । अहिले २–३ वटा राजनीतिक पाटीमा पनि दोस्रो पुस्ताका केही नेताहरू हस्तक्षेप गरेरै एउटा विन्दुसम्म पुगेको छ । 

तर राजनीतिक नेतृत्वमा भएको सङ्क्रमणले अरू सबै किसिमका सङ्क्रमणलाई पनि बुझेर र बाँधेर अगाडी लान सक्यो भने नेपालको विकासले गति लिन सक्छ । नेपाल सिंगापुर र स्वीट्जरल्याण्ड त कहिले पनि बन्दैन । तर श्रीलङ्काको स्तरसम्म चाहिँ पुर्‍याउन सकिन्छ की ? भन्ने लाग्छ । यो भने को प्रतिव्यक्ति आम्दानीको स्तरमा भन्न खोजिएको हो । अहिले पनि श्रीलङ्काको प्रतिव्यक्ति आय ३८००–३९०० डलर छ । हामीले चमत्कारै गरेर, ७–८–९ प्रतिशतको आर्थिक वृद्धि गर्र्यौं भने पनि अर्को १०–१५ वर्षमा पुग्ने उच्चतम स्तर भनेको त्यही अहिलेको श्रीलङ्काको अवस्थामा हो । 

Tags :

प्रतिक्रिया दिनुहोस्