राष्ट्र बैंकलाई असफल पार्न अथक प्रयासमा अर्थमन्त्री, व्यापारीलाई हतियार बनाएर गभर्नर हटाउन ‘लबिङ’ « Arthapath.com
२३ मंसिर २०७९, शुक्रबार

राष्ट्र बैंकलाई असफल पार्न अथक प्रयासमा अर्थमन्त्री, व्यापारीलाई हतियार बनाएर गभर्नर हटाउन ‘लबिङ’



काठमाडौं । हालै सम्पन्न निर्वाचनबाट सरकार सञ्चालनको जनादेश नपाएको माओवादी केन्द्रका नेता एवम् अर्थमन्त्री जनार्दन शर्मा आफ्नो कार्यकालको अन्त्यमा केन्द्रिय बैंकमाथि ठूलो दबाब सिर्जना गर्न प्रयासरत देखिएका छन् । मुलुकको राजस्व संकलन र बजेट खर्च दुबै कुरामा असफल रहेका उनी राष्ट्र बैंकमाथि जाइ लागेर आफ्नो असफलताको ढाकछोप गर्ने प्रयास गरिरहेको अर्थ मन्त्रालयकै अधिकारीहरु बताउँछन् ।

अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक कार्यक्रममार्फत् राष्ट्र बैंकमाथि हस्तक्षेप गर्न चरणबद्ध प्रयास भएको बताइरहेका छन् । उनले विहीबार पनि काठमाडौंको भृकुटीमण्डपमा आयोजित विद्युतीय सामग्रीको उद्घाटन गर्दै यही कुरा दोहोराए । ‘मैले मेरो सचिवमार्फत् राष्ट्र बैंकको सञ्चालक समितिमा व्यवसायीका मागलाई सम्बोधन गर्न लगाएको छु,’ उनले भने, ‘त्यसले पनि भएन भनेपछि मन्त्री परिषदबाटै हस्तक्षेप गर्न प्रधानमन्त्रीलाई सिफारिस गरेको छु ।’

शर्मा मन्त्री भएर आएदेखि नै गभर्नर महाप्रसाद अधिकारीलाई कसरी हटाउने भनेर दाउ हेरिरहेका थिए । उनले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई गभर्नर बनाउन तयारी हालतमा राखेका थिए । आफूले छानेको उमेदवार तयार रहेका कारण प्रधानमन्त्रीको कान फुकेर उनले गभर्नरलाई बर्खास्त गर्ने प्रयास गरे । तर अदालतले रोकिदिएपछि अहिले उनी ब्यापारीको प्यारो बन्ने र गभर्नरविरुद्ध चौतर्फी घेराबन्दी गर्ने कोसिसमा छन् ।

यही कारण उनले ब्यापारी व्यवसायीले राजनीतिक दवाव दिन विभिन्न दलका शीर्ष नेतृत्वलाई भेट्न थालेपछि आफ्नो महत्व दर्शाउँदै भने, ‘तपाइँहरुले कहाँकहाँ दवाब दिनुभयो, मलाई थाहा छैन । म जान्दिन । तर मैले अर्थतन्त्र सुधारका लागि काम गरिरहेको छु ।’ धेरै ब्यापारी व्यवसायीलाई फोकटमा पैसा बाँड्ने आफ्नो गलत नीति सच्याउन थालेको राष्ट्र बैंक अहिले सबैको तारो बनेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै गएका कारण पनि नेतृत्वका दाबेदारहरु अहिले ब्याजदर र चालू पूँजी कर्जाजस्ता विषय उठाएर केन्द्रिय बैंकको तीव्र विरोध गरिरहेका छन् । यही आगोमा घ्यू थपेर आफ्नो थाङ्नो सुकाउन अहिले अर्थमन्त्री शर्मा जोडतोडले लागिपरेका छन् । अवको एक महिनाभित्रै आफ्नो वहिर्गमन सुनिश्चित रहेको देखेका अर्थमन्त्री शर्मा सकेसम्म अहिले नै, नभए नयाँ सरकार आएपछि गभर्नरलाई हटाउनै पर्ने ‘लबिङ’ गर्न थालेका छन् ।

अर्थमन्त्रीको आडमा ब्यापारीको विरोध प्रदर्शन

प्रधानमन्त्रीलाई विस्वासमा लिएर अर्थमन्त्रीले राष्ट्र बैंक विरुद्ध उत्रन दिएको संकेत बुझेका ब्यापारी व्यवसायी अहिले फेरि सडकमा आएका छन् । विहीबारै पनि सवारी साधन विक्रेताहरुले विरोध प्रदर्शन गरे । सवारी कर्जासँग खासै साइनो नजोडिएको चालू पूँजी कर्जा सम्बन्धि मार्गदर्शनको विरोध गर्न यो भीडले पनि छुटाएन ।

सरकारले गत वैशाखदेखि प्रतिबन्ध गरेको निजी गाडी, महँगा मोटरसाइकल, विदेशी मदिरा र महँगा मोबाइलको आयात आउँदो पुसबाट फुकुवा गर्ने निर्णय गरिसकेको छ । मन्त्री परिषदको यस्तो निर्णय आएको भोलिपल्टै सवारी साधनका विक्रीताहरु फेरि विरोध प्रदर्शनमा उत्रिएका हुन् । अव उनीहरुको तारो राष्ट्र बैंक बनेको छ ।

सरकारले आयात फुकुवा गरिदिए पनि राष्ट्र बैंकले कर्जा प्रवाहमा कठोर नीति अघि सारेका कारण आफ्नो विक्री बढ्ने संभावना घटेको उनीहरु बताउँछन् । नाडा अटोमोबाइल एशोसियसनका अध्यक्ष ध्रुव थापाले आफूहरुको पहिलो चरणको विरोध प्रदर्शन सकिएको बताए ।

राष्ट्र बैंकले आयात मार्जिनको व्यवस्था खारेज गर्नुपर्ने, ब्याजदर घटाउनु पर्ने, सवारी साधन खरीद गर्ने ग्राहकलाई धितोको ५० प्रतिशतसम्ममात्रै ऋण दिने व्यवस्था संशोधन गरेर यस्तो सीमा तोक्ने अधिकार बैंकलाई नै सुम्पिनु पर्ने र चालू पूँजी कर्जा मार्गदर्शन खारेज गर्नुपर्ने जसता माग नाडाले अघि सारेको छ । यी माग पुरा नभए सबै शोरुम र सर्भिस सेण्टरहरु बन्द गर्ने देखि सवारी साधनका पार्टपूर्जाको आयात रोक्नेसम्मका धम्की व्यवसायीले दिएका छन् ।

‘नाडा अध्यक्षको यो चेतावनीले सरकार र राष्ट्र बैंकसँग बार्गेनिङ गर्न कति सघाउ गर्ला, थाहा छैन’, एक बैंकर भन्छन्, ‘तर साँच्चै यो कुरा कार्यान्वयमा आयो भने उनीहरुले आफ्नै उपभोक्तामाथिको ठूलो अन्याय गर्ने छन् ।’ यसै पनि नेपालमा सीमित ब्यापारीले मात्रै विदेशबाट सवारी साधन आयात गर्न पाउने व्यवस्था गरेर सरकारले नागरिकलाई पहिले नै सिण्डिकेटको सिकार बन्न बाध्य पारिरहेको छ । कम नाफामा सामान ल्याएर बेच्छु भन्ने नयाँ ब्यापारीले अवसर पाउँदैन ।

माओवादीकै सरकार हुँदा बाबुराम भट्टराईले सवारी साधनका आधिकारिक विक्रेतालेमात्रै आयात गर्न पाउने व्यवस्था लादेर मुलुकमा नयाँ व्यवसायी जन्मिनै नसक्ने गरी नीति बनाएका थिए । आफ्नो नजिकका ब्यापारी पोस्ने माओवादीको यो चरित्र अहिले देशकै सबैभन्दा सक्षम र स्वायत्त नियामक निकाय राष्ट्र बैंकको संस्थागत ताकत ध्वस्त पार्नमा उद्धत छ । अर्थमन्त्री शर्मा अहिले राष्ट्रिय अर्थतन्त्रको स्वास्थ्य जे सुकै होस्, तर ब्यापारीका माग पुरा गरेर राष्ट्र बैंकलाई आफ्नै नीति कार्यान्वयनमा ‘फेल’ गराउन जोडबल गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्