सरकारको क्षमता र आवश्यकताको आधारमा नयाँ बजेट : अर्थमन्त्री पौडेल « Arthapath.com
१९ माघ २०७९, बिहीबार

सरकारको क्षमता र आवश्यकताको आधारमा नयाँ बजेट : अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटको आकारलाई वास्तविक बनाउने बताएका छन् ।आगामी आर्थिक बर्षको बजेटको आवश्यक तयारी सुरु भइसकेको बताउँदै मन्त्री पौडेलले यस्तो जानकारी गराएका हुन् ।

बुधबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बजेट बनाउने मामलामा विगतका प्रवृति नदोहोराउने र सरकारको क्षमता तथा आवश्यकताको आधारमा बजेटको आकार तय गर्ने मन्त्री पौडेलले बताए । समग्रमा पोलिसी डिपार्चरलाई केन्द्र राखेर वास्तविक आकारको बजेट ल्याइने उनको भनाइ छ ।

यस्तै, चालु आवको खर्च कटौती तथा रोक्का सम्बन्धी निर्णय महत्वपूर्ण भएतापनि त्यो पर्याप्त नभएको उनले बताए । यद्यपि, खर्च कटौतिको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।

अर्थ मन्त्रालयले मंगलबार मात्रै बिभिन्न शिर्षकमा छुट्टाइएको बजेट कटौती तथा रोक्का गर्ने निर्णय गरेको थियो । पछिल्लो समय ऋणात्मक रहेको संघीय सरकारको बजेटलाई सन्तुलनमा ल्याउन अझै काम गर्नुपर्ने उनको भनाइ छ । यद्यपि, अर्थतन्त्रमा देखिएका नयाँ तथा पुराना समस्यालाई कम गदै लैजाने उनले बताए ।

यसैगरि अर्थतन्त्रमा काम नलाग्ने संरचना र नीतिलाई हटाउन आवश्यक रहेको पनि मन्त्री पौडेलको भनाइ छ । अब आर्थिक नीति समय अनुसार परिमार्जन गर्नै पर्ने भएको उनको भनाइ छ । यद्यपि, त्यसमा के कस्ता संरचना र नीति हटाउने भनेर स्पष्ट हुन आवश्यक रहेको उनले बताए ।

यस्तै, लक्ष्य अनुसार राजश्व संकलन नभएकोबारे पनि गम्भिर रुपमा समिक्षा गरिने उनले बताए । यो बर्ष सरकारको लक्ष्यअनुसार मात्रै होइन, गत आवको भन्दा पनि कम राजश्व संकलन भएको छ । यसबारे गम्भिर रुपमा समिक्षा हुन आवश्यक रहेको मन्त्री पौडेलको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्