महाशिवरात्री- शिवको एउटा अद्भुत रात ! « Arthapath.com
७ फाल्गुन २०७९, आईतवार

महाशिवरात्री- शिवको एउटा अद्भुत रात !



काठमाडौँ । चन्द्रमासको चौधौ रात वा औँसीभन्दा एकदिन अगाडिको रातलाई शिवरात्री भनिन्छ । एक वर्षमा १२-१३ शिवरात्रिहरू पर्छन्, जसमध्ये माघ (वा फाल्गुन) मा पर्ने शिवरात्रिलाई महाशिवशिवरात्री भनिन्छ, जुन आध्यात्मिक दृष्टिले सबैभन्दा बढी महत्त्वपूर्ण मानिन्छ ।

यस रातमा, उत्तरी गोलार्द्धमा ग्रहहरू विशेष अवस्थामा हुन्छन्, जसले गर्दा मानिसमा उर्जाहरू स्वतः माथितिर जान्छन् । यो यस्तो रात हो, जब प्रकृतिले व्यक्तिलाई आध्यात्मिक शिखरतर्फ धकेलिरहेको हुन्छ ।

यसैको उपयोग गर्नको लागि, यस परम्परामा हामीले एउटा विशेष उत्सव मनाउन थाल्यौँ, जुन रातभरि चल्दछ । उर्जाहरूको स्वाभाविक प्रवाहलाई सहजै माथितर्फ जान दिनको लागि, रातभरि मनाइने यस महा–उत्सवको मूलभूत आधार भनेको आफ्नो मेरूदण्ड वा ढाडलाई सिधा राखेर रातभरि जागा बस्नु हो ।

महाशिवरात्रीको महत्व

आध्यात्मिक मार्गमा हिँड्ने साधकहरूका निम्ति महाशिवरात्री निकै महत्त्वपूर्ण हुन्छ । जो मानिसहरू घर गृहस्थीमा छन् वा जो संसारमा केही गर्ने महत्त्वकांक्षा हुन्छ, उनीहरूका लागि पनि महाशिवरात्रि निकै महत्त्वपूर्ण हुन्छ ।

घर– गृहस्थ सम्हालेका मानिसहरू यस दिनलाई शिव–पार्वतीको वैवाहिक वर्षगाँठ (विवाह भएको दिनको) रूपमा हेर्ने गर्छन् । सांसारिक महत्त्वकांक्षा हुने मानिसहरू यस दिनलाई शिवले आफ्ना सबै शत्रुहरूलाई परास्त गरेको दिनको रूपमा हेर्ने गर्छन् ।

तर, तपस्वी र साधकहरूका निम्ति महाशिवरात्री त्यो दिन हो, जहाँ शिव कैलाश पर्वतमा विलिन भई एक भएका थिए । उनी पर्वत जस्तै बने— पूर्णतया स्थिर वा निश्चल । यौगिक परम्परामा, शिवलाई कुनै भगवान्‌को रूपमा पूजा गरिँदैन।

बरु, उनलाई आदिगुरु अर्थात् पहिलो गुरु भनिन्छ, जसबाट योगको विज्ञान उत्पत्ति भयो । कैयौँ सहस्राब्दिको ध्यानपछि, एकदिन उनी पूर्णतया स्थिर (निश्चल) भए । सोही दिनलाई शिवरात्री भनिएको हो । उनीभित्रको सबै गतिविधिहरू रोकिए अनि उनी नितान्त स्थिर भए— अतः साधकहरूको दृष्टिमा महाशिवरात्रि स्थिरताको रात हो।

किंवदन्ती त छँदै छ, तर यौगिक परम्परामा यो दिन र रातलाई त्यस हदसम्म महत्त्व दिनुको कारण के हो भने, यसले आध्यात्मिक साधकको निम्ति जे–जति सम्भावनाहरू प्रदान गर्दछ, ती अतुलनीय र अद्‌भुत छन्।

आधुनिक विज्ञानले थुप्रै चरणहरू पार गरेको छ अनि आज यो बिन्दुमा आइपुगेको छ, जहाँ यसले तपाईंलाई यो प्रमाणित गर्न लागिरहेको छ कि सबैथोक— जसलाई तपाईंले जीवनको रूपमा जान्नुभएको छ, जसलाई पदार्थ र अस्तित्वको रूपमा जान्नुभएको छ, जसलाई ब्रम्हाण्ड र आकाशगङ्गाको रूपमा जान्नुहुन्छ— केवल एउटा उर्जा हो, जसले आफूलाई लाखौँ–करोडौँ रूपहरूमा प्रकट गरिरहेको छ ।

यो वैज्ञानिक तथ्य प्रत्येक योगीका निम्ति अनुभवजन्य वास्तिवकता हो । “योगी” शब्दको अर्थ हो, जसमा अस्तित्वको एकत्व बोध भएको छ । जब म “योग” भन्छु, म कुनै निश्चित अभ्यास वा प्रणालीको कुरा गरिरहेको छैन । अनन्तलाई जान्ने सम्पूर्ण अभिलाषा, अस्तित्वमा एक हुँदाको भावलाई जान्ने तीव्र चाहना नै वास्तवमा योग हो । महाशिवरात्रिको रातले व्यक्तिलाई यो अनुभव गर्ने अवसर प्रदान गर्दछ।

शिवरात्री महिनाको अन्धकार रात !

महिनाको चौधौँ रात— औँसीभन्दा एकदिन अगाडिको रात— महिनाभरिको सबैभन्दा अँध्यारो रात हो । जब हामी “शिव” भन्छौँ, त्यसको एउटा पक्ष यो हो कि हामी आदियोगी अर्थात् पहिलो योगीको बारेमा कुरा गरिरहेका हुन्छौँ ।

अर्को पक्ष के हो भने “शिव” को शाब्दिक अर्थ हो, “त्यो जुन छैन ।” “त्यो जुन छ”, अस्तित्व वा सृष्टि हो । “त्यो जुन छैन”, शिव हुन् । आज आधुनिक विज्ञानले हामीलाई यो भनिरहेको छ कि पूरै सृष्टि शून्यबाट आएको हो र पुनः शून्यमै फर्किनेछ।

सबैथोक शून्यताबाट आउँछ अनि पुनः शून्यतामै फर्किन्छ । शून्यता नै अस्तित्वको आधार हो । त्यसैले, हामी शिवलाई अस्तित्वको आधारको रूपमा हेरिरहेका छौँ । “त्यो जुन छ” को आधार भनेकै “त्यो जुन छैन” हो।

अनन्तलाई जान्ने सम्पूर्ण अभिलाषा, अस्तित्वमा एक हुँदाको भावलाई जान्ने तीव्र चाहना नै वास्तवमा योग हो । महाशिवरात्रिको रातले व्यक्तिलाई यो अनुभव गर्ने अवसर प्रदान गर्दछ।

शिवरात्री, महिनाको सबैभन्दा अन्धकार रात हो । प्रत्येक महिना शिवरात्रि मनाउँदा तथा महाशिवरात्रीको उत्सव मनाउँदा यस्तो लाग्न सक्दछ कि हामी अन्धकारको उत्सव मनाइरहेका छौँ ।

तार्किक दिमाग अन्धकारबाट टाढै रहन चाहन्छ, अनि स्वाभाविक रूपमा प्रकाश वा उज्यालो रोज्दछ । तर, शिवको शाब्दिक अर्थ हो, “त्यो जुन छैन ।” “त्यो जुन छैन” भनेको के हो भने, जब तपाईं आँखा खोलेर वरपर हेर्नुहुन्छ, यदि तपाईं ससाना चीजहरू खोजिरहनु भएको छ भने, तपाईंले निकै धेरै सृजनाहरू देख्न सक्नुहुन्छ, तर यदि तपाईंको दृष्टिले साँच्चिकै विशाल चीजहरू खोजिरहेको छ

भने, तपाईंले यो महसुस गर्नुहुनेछ कि यस अस्तित्वमा भएको सबैभन्दा ठुलो उपस्थिति भनेकै विशाल शून्यता हो । केही बिन्दुहरू— जसलाई हामी आकाशङ्गा भन्छौँ—साधारणतया देखिन्छन् । तर, ती सबैलाई थामेर राख्ने विशाल शून्यतामा सबैको ध्यान जाँदैन ।

यही विशालता, यही अनन्त खालीपनलाई नै शिव भनिन्छ । यतिखेर, आधुनिक विज्ञानले समेत यो प्रमाणित गरेको छ कि सबैथोक शून्यताबाट आउँछन् अनि फेरि शून्यतामै विलिन हुन्छ । यही सन्दर्भमा, शिव अर्थात् त्यो विशाल रिक्तता वा शून्यतालाई नै महान् देव, महादेव भनिएको हो ।

यस धर्तीका प्रत्येक धर्म र संस्कृतिमा, सधैँ दिव्यताको सर्वव्यापी प्रकृतिको कुरा गरिरहेका छन् । यदि हामीले यसमा ध्यान दिने हो भने, यो पाउने छौँ कि अन्धकार, शून्यता वा खालीपन मात्र त्यस्तो हो,

जुन साँच्चिकै सर्वत्र–व्याप्त हुन सक्दछ, जुन जताततै उपस्थित हुन सक्दछ । सामान्यतया, जब मानिसहरू सुख–समृद्धि खोजिरहेका हुन्छन्, हामी दिव्यलाई प्रकाशको रूपमा दर्शाउँछौँ । जब मानिसहरू सुख–समृद्धि खोजमा लाग्दैनन्, वा त्यसबाट माथि उठेर आफ्नो जीवनबाट पर जाने, विलिन हुने कुरामा ध्यान दिइरहेका हुन्छन्— यदि उनीहरूको उपासना र साधनाको उद्देश्य विलिन हुनु हो भने— त्यसबेला हामी सधैँ दिव्यतालाई अन्धकारको रूपमा हेर्दछौँ ।

“शिवरात्री” को शाब्दिक अर्थ “शिवको रात” हो । यसदिन, तपाईंको शारिरिक प्रणालीमा स्वतः उर्जाहरू माथितिर प्रवाहित हुन थाल्छन् । यसबाट लाभ लिनको लागि योगमा एक प्रकारको साधना छ ।

मूलभूत रूपमा हेर्ने हो भने, चाहे त्यो व्यक्तिगत मानव शरीर होस् वा विशाल ब्रम्हाण्डिय शरीर, यी मूलतः पञ्चभूत वा पाँच तत्त्वहरू— जल, अग्नि, पृथ्वी, वायु र आकाश— बाट बनेका हुन्छन् ।

जसलाई तपाईं “म” भन्नुहुन्छ, त्यो यी पाँच तत्त्वहरूको छल मात्र हो । चाहे तपाईं यो प्रणाली वा मनुष्य हुनुको पूर्ण क्षमता जान्न चाहनुहुन्छ, अथवा तपाईं योभन्दा पर गएर विशाल ब्रम्हाण्डिय प्रणालीसँग एक बन्न चाहनुहुन्छ— अर्थात्, चाहे तपाईंको चाहना वैयक्तिक हुनको लागि हो वा सार्वभौमिक हुनको लागि— जबसम्म तपाईं जानेर वा नजाकिन, चेतन भएर वा अनजानमै यी पाँच तत्त्वहरूमाथि निश्चित मात्रामा महारथ प्राप्त गर्नुहुन्न, तपाईं न त एक व्यक्ति हुनुको सुख जान्नुहुन्छ, न त ब्रम्हाण्डसँग एक हुनुको परम–आनन्द जान्नुहुन्छ ।

शिवरात्रिको महत्त्व

तपाईंको मनको सन्दर्भमा प्रकाश एउटा झिनो घटना हो । प्रकाश शाश्वत हुँदैन, यो सदैव एउटा सीमित सम्भावना हो— किनकि, यो घटित हुन्छ र समाप्त हुन्छ । हामीलाई थाहा भएसम्म यस ग्रहमा प्रकाशको सबैभन्दा विशाल स्रोत भनेको सूर्य हो । तर, यहाँ सम्म कि तपाईं घामको उज्यालोलाई समेत हातले छेक्न सक्नुहुन्छ अनि त्यसको पछाडि अँध्यारो छाँया छोड्न सक्नुहुन्छ ।

शिव

तर, अन्धकारले सबैथोक ढाकेको हुन्छ, यो जताततै हुन्छ । अपरिक्व दिमागहरूले अन्धकारलाई सदैव दानव वा राक्षसको रूपमा प्रस्तुत गरेका छन् । तर, जब तपाईं दिव्यतालाई सर्वत्र फैलिएको भनेर व्याख्या गर्नुहुन्छ, तपाईं अवश्य नै दिव्यलाई अन्धकार भनिरहनु भएको हुन्छ, किनकि अन्धकार मात्रै सर्वत्र–व्याप्त हुन सक्दछ । यो जहीँकहीँ हुन्छ । यसलाई कसैको पनि सहाराको चाहिँदैन ।

प्रकाश सधैँ यस्तो स्रोतबाट आउँछ, जसले आफैँलाई जलाउँदछ । यसको सुरु र अन्त्य हुन्छ । यो सधैँ सीमित स्रोतबाट आउँछ । अन्धकारको कुनै स्रोत हुँदैन । यो स्वयं आफैँमा स्रोत हो । यो सर्वत्र–व्याप्त हुन्छ, सर्वव्यापी हुन्छ, जताततै उपस्थित हुन्छ ।

अतः जब हामी शिव भन्छौँ, त्यो अस्तित्वको विशाल खालीपन हो । यही विशाल खालीपनको काखमा सम्पूर्ण सृष्टि घटिरहेको छ । खालीपनको त्यस काखलाई हामी “शिव” भन्छौँ ।

प्रकाश सधैँ यस्तो स्रोतबाट आउँछ, जसले आफैँलाई जलाउँदछ । यसको सुरु र अन्त्य हुन्छ । यो सधैँ सीमित स्रोतबाट आउँछ । अन्धकारको कुनै स्रोत हुँदैन । यो स्वयं आफैँमा स्रोत हो ।

यस संस्कृतिमा, पहिले–पहिले हाम्रा प्रार्थनाहरू आफूलाई बचाउने, आफ्नो सुरक्षा गर्ने वा अझ राम्रो गर्ने बारेमा हुँदैनथे । सम्पूर्ण प्राचीन प्रार्थनाहरू यत्ति हुन्थे— “हे भगवान् ! मलाई नष्ट गरिदिनु होस्, ताकि म पनि तपाईं जस्तै बन्न सकूँ ।” तसर्थ, जब हामी शिवरात्रि भन्छौँ, यो हामीमाझ एउटा यस्तो अवसर हो, जहाँ हामी आफ्ना सीमितताहरूलाई विलिन हुन दिएर सृष्टिको स्रोतको त्यस असीमितता अनुभव गर्न सक्दछौँ— त्यो असीमपन, जुन प्रत्येक मनुष्यमा हुने बीउ हो ।

महाशिवरात्री— जागरणको रात

महाशिवरात्री एउटा अवसर वा सम्भावना हो— प्रत्येक मनुष्यभित्र हुने त्यो विशाल शून्यताको सम्पर्कमा आउन वा त्यसलाई अनुभव गर्न । त्यही विशाल शून्यता वा खालीपन, जुन सम्पूर्ण सृष्टिको स्रोत हो ।

एकतर्फ शिवलाई संहारक वा विनाशक भनिन्छ, जबकि अर्कोतर्फ, उनलाई अत्यन्तै करुणामयी भनेर चिनिन्छ । उनलाई महान् दाता समेत पनि भनिन्छ । योग–गाथा शिवको करुणा बारे थुपै कथाहरूले परिपूर्ण छ ।

उनको करुणा व्यक्त गर्ने तरिकाहरू एकैसाथ अविश्वसनीय र आश्चर्यजनक रहेका छन् । त्यसैले, महाशिवरात्रि केही ग्रहण गर्नको लागि एउटा विशेष रात हो ।


प्रतिक्रिया दिनुहोस्