को हुन् नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत ? « Arthapath.com
१७ चैत्र २०७९, शुक्रबार

को हुन् नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत ?



काठमाडौं । इतिहाँसमै खराब अवस्थामा पुगेको अर्थतन्त्रको बागदोर सम्हाल्न डा. प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा नेपाली कांग्रेसको तर्फबाट डा. प्रकाशशरण महत अर्थमन्त्री बनेका हुन् । उनले आजै पद तथा गोपनियताको शपथ ग्रहण पनि लिएका छन् ।

डा. महत अर्थशास्त्रका विद्यार्थी भएता पनि यसमा धेरै मसिनो गरि घुलमिल नभईसकेका डा. महतसंग यसअघि उर्जा र परराष्ट्र मन्त्रालय जिम्मेवारी पनि पाईसकेको अनुभव छ । घेराबन्दीमा फसेको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन प्रधानमन्त्री र सिंगो मन्त्री परिषददेखि संसदसम्मको महत्वपूर्ण भूमिका हुन्छ । जसको संयोजन र वातावरण निर्माणमा अर्थमन्त्रीले भूमिका खेल्नु पर्ने बेला आएको छ ।

यस्तो अर्थमन्त्री डा. प्रकाशशरण महत राजनीतिक यात्रा…

उनी वि.स २०१६ साल कात्तिक १९ गते नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ मा कविलासमा जन्मिएका हुन् । कक्षा ७ मा अध्ययनरत रहदा नै नेपाल विद्यार्थी संघको आदर्शबाट प्रेरित भएर राजनीतिमा लाग्नुभएका डा.महतको जीवन संघर्ष र चुनौतिले भरिपूर्ण देखिन्छ । २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्र मोर्चामा रहेर काम गरेका डा. महतले २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका खेलेका थिए । त्यसबेला उनी नेपाल विद्यार्थी संघको महासचिव थिए ।

नेपाली कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा. महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए । २०५५÷५६ देखि नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका समेत पाएका डा. महत २०५९ देखि निरन्तर नेपाली कांग्रेसको केन्द्रीय सदस्य रही रहँदै आएका छन् ।

उनले २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ को मंसिरमा सम्पन्न प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकको भूमिका निभाईसकेका छन् ।

संसदभित्रको जिम्मेवारी

२०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा व्यवस्थापिकाको यात्रा आरम्भ गरेका डा. महतले पहिलो संविधानसभा २०६४देखि २०६९ र दोस्रो संविधानसभा २०७० देखि २०७४ सम्म विधायकको रुपमा देश र नेपाली नागरिकको सेवा पनि गर्नुभएको थियो । दोस्रो संविधान सभाले नै २००७ सालको जनक्रान्तिको आह्वान गर्दा नेपाली कांग्रेसका संस्थापक महामानव वी.पी. कोइरालाले अगाडि सारेका उनी नेपाली जनताले आफू शासित हुने विधान आफ्नै जनप्रतिनिधिबाट बनाउने प्रस्तावनालाई मूर्त रुप दिने सफलता पायो । जननिर्वाचित जनताका प्रतिनिधिहरुबाट संविधान निर्माण गराएर नेपालको राजनीतिक इतिहासलाई नयाँ मोड दिने कार्यमा उनले महत्वपूर्ण योगदान गरे । व्यवस्थापिका संसदका एक क्रियाशील विधायकको रुपमा संसदका राज्य व्यवस्था समिति र संसदीय विशेष सुनुवाई समितिमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

राजकीय जिम्मेवारी

पार्टीको एक सच्चा,इमान्दार,अनुशासित,कर्मठ कार्यकर्ता भएको नाताले उनको योग्यता, क्षमता, दक्षता, कर्मप्रतिको समर्पण हेरेर पार्टीले राज्य सञ्चालनका विभिन्न क्षेत्रमा विभिन्न अवसर पनि दिएको छ ।

नेपालमा माओवादी विद्रोह उत्कर्षमा रहेको बेलामा सरकारले २०५६ सालमा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिवको जिम्मेवारी समेत निर्वाह गरेका डा. महतलाई प्रधानमन्त्रीले २०५८ देखि २०५९ सम्म सल्लाहकार नियुक्त गरी आफ्नो योग्यता र क्षमता अनुरुप देश र जनताको भलाईमा काम गर्न सघाउने अवसर दिए । उनले सरकारले २०५८ चैत्रदेखि २०५९ असोजसम्म राष्ट्रि«य योजना आयोगको सदस्यमा नियुक्त पनि गरेको थियो । उनले २०६१ जेठदेखि २०६१ माघ १९ सम्म परराष्ट्र मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पनि प्राप्त गरे ।

२०६३ देखि २०६४ सम्म माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य रहेर काम गरेपछि उनलाई २०६४ साउनदेखि २०६५ जेठसम्म विभिन्न विद्रोही समूहसंग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्यको जिम्मेवारी पनि सुम्पिएको थियो ।

२०६६ देखि २०६७ सम्म (सन २००९ देखि २०११ सम्म) उनी ऊर्जा मन्त्री बने । ऊर्जा क्षेत्रको जिम्मेवारी पाएको बेलामा नै अहिले राष्ट्रिय गौरवको रुपमा रहेको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने निर्णय भएको थियो । भूकम्प, नाकाबन्दी, बाढी पहिरो र अन्य अवरोधका कारण ढिलो भएपनि अहिले आयोजनाको निर्माण सम्पन्न भएको छ । यसले नेपाली नीति निर्माता, प्राविधिक, लगानीकर्ता संस्था र सर्वसाधारण लगानीकर्ताको पनि आत्मविश्वास बढाएको छ । यसले मुलुकको आर्थिक विकासमा ठूलो सघाउ पुर्याउने निश्चित छ ।

नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको बेला २०७३ देखि २०७४ सम्म डा. महतले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पनि पाए ।

शैक्षिक योग्यतामा अब्बल नेता

डा. महत शिक्षा, दीक्षा र योग्यताका हिसाबले पनि अब्बल नेतामा मध्येमा पर्छन् । उनी संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएच डी उपाधि हासिल गरे ।

उनले सोही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र ( पोलिसि इकोनोमिक्स)मा स्नातकोत्तर गरेका छन् । साथै त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरुमा नीतिगत तथा अनुसन्धान पत्रहरु प्रस्तुत गरेका डा.महतका आर्थिक विकास, शान्ति प्रकृया, परराष्ट्र सम्बन्धमा विभिन्न लेखहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन् ।

त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा नेपाली कांग्रेसको पहिलो जननिर्वाचित सरकारले लिएको आर्थिक नीतिमा थेसिस गर्नुभएका डा. महतले “नेपाली कांग्रेस एण्ड नेशन बिल्डिड.” नामक पुस्तक पनि लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस्