भारत र चीनपछि दुबईमा हुँदै छ व्यावसायिक सम्मेलन, भोलि प्रधानमन्त्रीलाई उभ्याएर के देखाउन खोज्दै छ महासंघ ? « Arthapath.com
१२ मंसिर २०८०, मंगलवार

भारत र चीनपछि दुबईमा हुँदै छ व्यावसायिक सम्मेलन, भोलि प्रधानमन्त्रीलाई उभ्याएर के देखाउन खोज्दै छ महासंघ ?



काठमाडौं । शुरुमा कलकता र बम्बई, त्यसपछि हङकङ र सिंगापुरलाई केन्द्र बनाएर ब्यापार गरिरहेका नेपाली व्यवसायीहरुका लागि अब संयुक्त अरबको शहर दुबई नयाँ केन्द्र बनेको छ । हरेक ठूला ब्यावसायिक घरानाले दुबईमा कुनै न कुनै रुपमा लगानी गरेका छन् र कम्पनी खोलेका छन् ।

त्यही दुबईमा नेपाल उद्योग बाणिज्य महासंघले पनि ब्यावसायिक सम्मेलन आयोजना गर्ने भएको छ । ‘नेपाल–दुबई व्यवसायिक सम्मेलन’ यही मंसिर १४ गते विहीवार संयुक्त अरव इमिरेट्स(यूएई)को दुबाईमा आयोजना हुन लागेको महासंघले एक प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्वर अफ कमर्सको आयोजनामा हुने व्यवसायिक सम्मेलनमा मुख्य अतिथिको रुपमा प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड त्यहाँ पुग्ने छन् । व्यावसायिक सम्मेलन यूूएईस्थित नेपाली राजदूतावासको सहयोग एवं सहकार्यमा हुन लागेको हो । सम्मेलनमा दुवै देशका करिव १ सय जना उद्यमी व्यवसायीको उपस्थिति रहने महासंघले जनाएको छ ।

सो सम्मेलनमा दुुवै देशबीच आर्थिक एवं व्यावसायिक सम्बन्ध विस्तार, लगानी प्रवद्र्धन एवं श्रम बजार विस्तार, नेपाली कृषि उत्पादनको मध्यपूर्वमा बजार विस्तार तथा सम्भाव्यताका विषयमा छलफल हुनेछ ।

व्यावसायिक सम्मेलनबाट नेपालमा पश्चिम एसियाली देशको लगानी आकर्षण गर्न सकिने आशा महासंघको छ । साथै त्यहाँको खाडी क्षेत्रमा नेपाली कृषि उत्पादनको निर्यात प्रवद्र्धन गर्न पनि सहयोग पुुग्ने विश्वास लिइएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।

‘सम्मेलनबाट उर्जा एवं पर्यटन क्षेत्रमा पनि आपसी सहकार्यको ढोका खुल्ने विश्वास गरिएको छ’, विज्ञप्तीमा भनिएको छ । महासंघले यसअघि पनि प्रधानमन्त्रीकै उपस्थितिमा यसअघि भारत र चीनमा पनि व्यावसायिक सम्मेलनको आयोजना गरिसकेको छ ।

तत्पश्चात् महासंघका अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले मंसिर १५ र १६ गते अवुधाविमा आयोजना हुने जलवायु सम्बन्धी विश्व सम्मेलन कोप २८ मा भाग लिने कार्यक्रमसमेत रहेको छ ।

प्रधानमन्त्री उभ्याउनुको अर्थ

महसंघले दुबईमा सम्मेलन आयोजना गर्दा प्रधानमन्त्रीलाई मञ्चमा उभ्याउँदै छ । तर भारत र चीनमा भएजस्तै दुबईको सम्मेलनबाट पनि नेपालमा तात्विक रुपमा लगानी बढ्ने संभावना नरहेको महासंघमै आबद्ध एक व्यवसायि बताउँछन् ।

पछिल्लो समय नेपालका ठूला ब्यापारी व्यवसायीको ‘इभेन्ट साइट’को रुपमा पनि विकास भइरहेको दुबईमा सामुहिक जमघट हुने जोगमेसो जुर्ने छ । त्यस बाहेक प्रधानमन्त्रीलाई विदेशको शयर गराएर त्यसको ‘मोल’ स्वदेशमा नीतिगत लाभका निम्ति उठाउनु नेपाली व्यवसायीको पुरानै रणनीति हो ।

‘संयुक्त अरबमा हाम्रो प्रधानमन्त्री पुग्नुको कुनै राजनीतिक र व्यावसायिक नाता छैन,’ ती व्यवसायीले भने, ‘एकातिर इजरायल युद्धले खाडीका सरकारहरुको राजनीतिक प्राथमिकता खिचेको छ भने अर्कातिर नेपाली अर्थतन्त्र नै समस्यामा फसेको छ ।’ यस्तो विषम परिस्थितिमा प्रधानमन्त्री त्यहाँ पुग्नुको अर्थ नहुने भए पनि निजी क्षेत्रले चालेको यस पहल भने महत्वपूर्ण रहेको व्यवसायी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्