सेयर बजार र घर जग्गा कारोबारले गति लियो, आर्थिक वृद्धिको लक्ष्यमा पुग्छौं: अर्थमन्त्री महत

विराटनगर । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्रमा अझै समस्या देखिएता पनि आगामी दिनमा सकारात्मक बन्ने बताए । मोरङ व्यापार सङ्घ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।
आगामी दिनमा आर्थिक वृद्धि हुने उनको दाबी छ । उनले भने,‘हाम्रो अर्थतन्त्र समस्यामा थियो, अझै पनि केही समस्या छ, आउँदा दिनमा सकारात्मक सङ्केतहरू देखिने र आर्थिक वृद्धि हुनेछ ।’
अहिले जति पनि तथ्याङ्कहरू छन्, यी तथ्याङ्कले अहिलेको मैले भनेका कुराको पुष्टि गर्ने उनको दाबी छ । चालु आर्थिक वर्षमा सरकारले आर्थिक वृद्धिदर साढे ६ प्रतिशत पुर्याउने घोषणा गरेको छ । मन्त्री महतका अनुसार अहिले ५ दशमलव ३८ मा मूल्यवृद्धि झरेको छ । छिमेकी मुलुकमा मूल्यवृद्धि घटेकाले त्यसले पनि सहयोग पुगेको उनको भनाई छ ।
उनले भने,‘सेयर कारोबार १८ सयमा झरेको थियो, अहिले बढ्दै छ । जग्गा कारोबारले पनि केही गति समातेको छ । बैङ्कहरूले ब्याजदर घटाउँदै छन्, जसले गर्दा ऋण प्रवाहमा वृद्धि भएको छ, आउँदा दिनमा अझ वृद्धि हुनसक्छ । पर्यटक आगमन अहिलेसम्मकै उच्च हो ।’
पूर्वाधार र सडकको राम्रो व्यवस्था नभएकाले सम्भावित पर्यटकीय क्षेत्र उपयोग गर्न सकेको उनको भनाइ थियो । आउँदा दिनमा त्यस्ता परियोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने महतले बताए । उनले भने, ‘त्यसै गरी रेमिट्यान्स ३० प्रतिशतसम्म वृद्धि भयो । यो पुँजी प्रवाह हाम्रै अर्थतन्त्रमा भएको छ । त्यसले हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउने कुरामा दुई मत छैन । हाम्रो सञ्चितिले एक वर्ष पुग्छ । सबै सूचक सकारात्मक भएको अवस्थामा लक्ष्य गरेको आर्थिक वृद्धिमा हामी पुग्न सक्छौँ ।’
अहिलेको आवश्यकता भनेको आत्मविश्वास रहेको उनको भनाई छ । देशमा भविष्य छैन भन्ने नकारात्मक प्रचारले आत्मविश्वास कम भएको बताए । उनले भने,‘अर्थतन्त्रको सबै सूचकहरू सकारात्मक भएको अवस्थामा उद्योग व्यवसायी, नागरिक समाज र सञ्चारकर्मीलाई सकारात्मक बहसको थालनी गर्न अनुरोध गर्दछु ।’
आउँदो बजेटमा अझ सुधार गरेर नेपाली उद्योग व्यवसायलाई संरक्षण गर्ने नीति लिइने मन्त्री डा. महतको भनाइ छ ।‘खुला सीमा भएकाले अझ धेरै समस्या छन्, चुहावट कम गर्ने प्रयास भइरहेको छ । सबैको सहयोगको आवश्यकता छ । पारी गएर किनमेल गर्ने प्रवृत्ति बढी छ । यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले सामूहिक प्रयास थाल्नुपर्छ’, उनले भने ।
सोही अवसरमा उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका संधैं खुला रहेको महतको भनाई छ । उनले भने, ‘उद्योगी, व्यवसायीका समस्या लिखित पठाउनुस् वा प्रत्यक्ष भेट्नुस् छलफलबाट समस्या हटाऊँ । नेपालमै उद्योग व्यवसायको माहौल बढाऊँ रोजगारी यही सिर्जना गरौँ’उनले थपे, ‘विदेशबाट फर्केर आएका युवाहरूले पुँजी र सिप लिएर आएका छन्, उनीहरू आधुनिक कृषि कर्म गर्दै छन् । यसलाई प्रोत्साहन गर्ने, उत्पादनमा आधारित सहयोग सुनिश्चित गर्ने नीति सरकारले लिएको छ । यसले कृषि क्षेत्र आधुनिकीकरण हुन्छ र उत्पादन बढ्छ । उद्योग व्यवसायीले कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राख्न म अनुरोध गर्दछु ।’