खाद्य व्यवस्था तथा व्यापार कम्पनीको दायरा फराकिलो बनाउनुपर्नेमा मन्त्री भण्डारीको जोड « Arthapath.com
२९ पुष २०८१, सोमबार

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको दायरा फराकिलो बनाउनुपर्नेमा मन्त्री भण्डारीको जोड



काठ्माडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वर्तमान सरकार सेवा प्रवाहको अवस्थालाई थप प्रभावकारी बनाउने तर्फ केन्द्रित भएको बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभामा बोल्दै उनले सेवाग्राहीको फाइल कर्मचारीको टेबुलमा थन्किने स्थितिको अन्त्य गर्नुपर्ने बताए ।

‘अबको सेवा प्रवाहको अवस्था जनताले तत्कालै महसुस गर्ने आधारको हुनुपर्छ । टेबुलका घर्राहरूमा फाइल रोकेर राख्ने, हस्ताक्षर गर्दा हात काँप्ने अवस्थाको अन्त्य गर्दै सेवा प्रवाहलाई जबाफदेही र जिम्मेवार बनाउनुपर्छ । त्यसका लागि राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै जिम्मेवार बन्नुपर्नेछ । सरकार अहिले नीतिगत सुधारमा लागेको छ’, मन्त्री मण्डारीले भने ।

मन्त्री भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए ।

नेपालको संविधानले खाद्य सम्प्रभुताको अधिकारलाई मौलिक हकको रूपमा स्थापित गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको भूमिका अत्यन्त महत्त्वपूर्ण छ ।

आर्थिक वर्ष २०७८-७९ को तथ्याङ्क हेर्दा नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ । तर, खाद्यान्न आयातमा वार्षिक करिब २ खर्ब रुपैयाँ खर्च भइरहेको छ । यो चुनौतीपूर्ण अवस्थालाई सम्बोधन गर्न कम्पनीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आएको छ ।

दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्तिको सुनिश्चितता गर्ने हाम्रो प्रमुख जिम्मेवारी रहेको उनको भनाई छ । हाल कम्पनीले २५ जिल्लामा आफ्ना डिपो र बिक्री केन्द्रहरू मार्फत सेवा प्रदान गरिरहेको छ ।

आगामी वर्षभित्र यसलाई ४० जिल्लामा विस्तार गर्ने लक्ष्य रहेको मन्त्री भण्डारीले जानकारी दिए । उनले भने,‘कम्पनीले व्यापारको दायरा बढाउनु पर्ने छ । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित यस कम्पनीको प्रभावकारीता वृद्धि गर्दै सूचना प्रविधिको प्रयोग गरी खाद्यान्न व्यवस्थापन र वितरण प्रणालीलाई थप चुस्त र पारदर्शी बनाउनुपर्छ ।’

बजारमा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन नियमित रूपमा बफर स्टक कायम गरी आवश्यकता अनुसार बजार हस्तक्षेप गर्दै आएको मन्त्री भण्डारीको भनाई छ ।

सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले गुणस्तर र खाद्य सुरक्षाको क्षेत्रमा लिमिटेडले विशेष ध्यान दिएको बताए । उनले सबै गोदाम र प्रशोधन केन्द्रहरूमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको गुणस्तर परीक्षण प्रणाली स्थापना गरिएको बताए ।

कम्पनीको आर्थिक अवस्था क्रमशः सुदृढ हुँदै गएको उनको भनाई छ । विश्वव्यापी महामारी र जलवायु परिवर्तनको प्रभावले खाद्य सुरक्षामा नयाँ चुनौती थपिएको बताए ।

साथै बढ्दो सहरीकरण र बदलिँदो खाद्य व्यवहारले पनि नयाँ माग र आवश्यकताहरू सिर्जना गरेको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सेवा क्षेत्र वृद्धि गरी सबै जनतामा सुलभ सेवा विस्तार गर्नुपर्नेमा कम्पनीका अध्यक्ष तथा मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीको भनाई छ । उनले कम्पनीले खाद्यान्न बाहेकका उपभोग्य बस्तुहरू समेत खरिद बिक्री गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्