‘कर्मचारीको प्रतिष्ठा भनेको बैंकको प्रगति हो, यसलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ’

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको अर्थतन्त्र अझै दबाबमै रहेको बताएका छन् । यद्यपि, सुधारका लागि हरदम प्रयास गरिरहेको उनको भनाई छ ।
राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सवलाई सम्वोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । निरन्तरको प्रयासपछि केही सफलता पनि प्राप्त गरेको उनको भनाई छ । उनले भने,‘मुलुकको अर्थतन्त्र दबाबको अवस्थामा छ । यसलाई सुधार गर्न हरदम प्रयारत छौँ । केही सफलता हासिल पनि गरेका छौं । तर, सन्तुष्ट भने छैनौं ।’
सरकारले अध्यादेशबाट धेरै कुरा सुधार गर्न खोजेको बताए । सोही अवसरमा बैंकहरुले उत्पादनशी क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने बताए । अहिले धमाधम लगानी विस्तार भइरहेको जानकारी गराए । ‘अहिले तरलता विस्तार भइरहेको छ । यसलाई उत्पादनशिल र रोजगारीका क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यता छ । बैंकले यतातर्फ ध्यान दिनुपर्छ’, उनले भने ।
बैंकको प्रगति कर्मचारीको प्रतिष्ठासँग जोडिएको उनको भनाई छ । बैंकको प्रगति पहिलो प्राथमिकतामा राख्नुपर्ने पौडेले बताए । उनले भने,‘बैंकको प्रगति सञ्चालक र व्यवस्थापनमा मात्र होइन कर्मचारीमा पनि रहन्छ । त्यसैले मिलेर काम गर्नुस्। कर्मचारीको प्रतिष्ठा भनेको बैंकको प्रगति हो । त्यसैले पहिलो प्राथमिकता बैंकको प्रगतिमा राख्नुहोला।’