अमेरिकाले छेडेको ‘ब्यापार युद्ध’ले नेपाललाई के फरक पार्ला ?

काठमाडौँ । अमेरिकाले उसका दुई छिमेकी क्यानडा र मेक्सिकोलाई २५ प्रतिशत र हाम्रो छिमेकी चीनलाई १० प्रतिशत आयात शुल्क लगाउने भनेपछि ‘ब्यापार युद्ध’को नयाँ श्रृङ्खला शुरु हुन लागेको ठानिएको छ ।
आगामी मंगलबारदेखि लागू हुने गरी भनेर अमेरिकाले घोषणा गरेको उक्त आयात करको प्रतिकार पनि भइरहेको छ । क्यानडामा कामचलाउ सरकारका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकामा उत्पादित १ खर्ब ५५ अर्ब डलर बराबरको सामग्री आयात गर्दा २५ प्रतिशत भन्सार महशुल लगाउने घोषणा गरेका छन् ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनाबाउमले पनि अमेरिकामाथि उस्तै प्रकारको शुल्क आफ्नो देशले लगाउने भनेकी छिन् । चीनले चाहीँ ब्यापार युद्धबाट कसैको हित नहुने भएकाले आफ्नो ‘राष्ट्रिय स्वार्थ रक्षा’ गर्न तत्पर रहेको भनेको छ ।
चीनले आफू पनि ‘मिल्दोजुल्दो जवाफी कदम चाल्ने’ र अमेरिकी निर्णय विरुद्ध विश्व ब्यापार संगठनमा मुद्दा हाल्ने बताएको छ । उसले अमेरिकी कदमबाट आफूहरु असाध्यै असन्तुष्ट रहेको र यसको सशक्त विरोध गर्ने भनेको छ ।
ट्रम्पको घोषणामा के छ ?

अमेरिकी राष्ट्रपति कार्यालयका अनुसार क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने भने पनि क्यानडाबाट हुने ऊर्जा आयातमा १० प्रतिशतमात्रै कर लगाउने व्यवस्था गरिएको छ । त्यस्तै चीनबाट हुने आयातमा पनि थप १० प्रतिशत कर लगाउने उल्लेख छ ।
उक्त कदमको प्रतिरक्षा गर्दै राष्ट्रपति ट्रम्पले ‘ग्रह्रकानूनी आप्रवासन र घातक लागूऔषधको खतराका कारण आफूले आपतकालिन आर्थिक शक्तिको प्रयोग गरेको’ तर्क सहित एक विज्ञप्ती सामाजिल सञ्जाल एक्समार्फत प्रकाशित गरेका छन् ।
बीबीसीले अर्थविदहरुको हवाला दिँदै उक्त कदमबाट अमेरिकामा खाद्यान्न, इन्धन र गाडीको मूल्य बृद्धि हुनसक्ने उल्लेख गरेको छ भने क्यानडा र मेक्सिकोलाई आर्थिक मन्दीतर्फ धकेल्नसक्ने बताएको छ ।
गत साल अमेरिकाले क्यानडा, मेक्सिको र चीनबाट कुल आयातको ४० प्रतिशत हाराहारी वस्तु किनेको थियो । अमेरिकाले आफ्नो वस्तु निर्यातको १७ प्रतिशत क्यानडालाई बेच्छ भने क्यानडाले आफ्नो कुल निर्यातको ७५ प्रतिशत अमेरिकालाई बेच्छ ।
नेपाललाई के असर पर्छ ?
गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो । गत साल नेपालबाट भएको कुल निर्यातको ६८ प्रतिशत भारतमा र ११.३६ प्रतिशत अमेरिकामा भएको थियो ।
तै पनि अमेरिकासँगको ब्यापारमा नेपाललाई धेरथोर घाटा नै छ । पोहोरको आर्थिक वर्षमा हामीले अमेरिकाबाट १९ अर्ब ४८ करोडभन्दा बढीको आयात गरेका थियौँ भने १७ अर्ब ३१ करोडभन्दा बढीको निर्यात गरेका थियौँ ।
तर यो रकमलाई औसत १३३ रुपैयाँको विनिमय दर लगाएर डलरमा हिसाब गर्दा जम्मा १३ करोड डलरको निर्यात भएको देखिन्छ ।
तर करीब ४० खर्ब डलरको अमेरिकी आयातमा यो केलव नेपालबाट हुने निर्यातको हिस्सा केवल ०.००३ प्रतिशत बराबर हो । ‘ट्रेड–इकोनोमिक्स’ले सन् २०२३ मा अमेरिकी आयातमा नेपालको हिस्सा ०.००४७ प्रतिशत रहेको जनाएको छ ।
अमेरिकाको आयातमा विभिन्न देशको हिस्सा :

त्यस कारणले अमेरिकाले नेपालबाट जाने सामानलाई समेत मध्येनजर गरेर कर बढाउने वा हाम्रो निर्यातको बजार प्रभावित हुने संभावना नरहेको अन्तरराष्ट्रिय ब्यापारका जानकार एवम् पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा बताउँछन् ।
मेक्सिको र क्यानडासँग हाम्रो ब्यापारिक साझेदारी कमजोर भएका कारण उनीहरुमा पर्ने प्रभावले नेपाललाई झ्वाट्ट नछुने उनको बुझाइ छ ।
विगतमा रूस र युक्रेनबीच युद्ध सुरु भएपछि नेपाली बजार पनि महँगीको चपेटामा परेको थियो । त्यसबेला नेपालले युक्रेनबाट सूर्यमुखि र भटमास आयात गथ्र्यो । कतिपय युरोपेली र अफ्रिकी देशहरुले युक्रेनबाट गहुँ लगायतको खाद्यान्न आयात गर्थे । तर युद्धका कारण युक्रेनको निर्यात ठप्प भएपछि विश्वभर खाद्य पदार्थको आपूर्तिमा चाप पर्यो ।
तर अहिले अमेरिका र ठूला उत्पादक मुलुकहरुबीचको ‘ब्यापार युद्ध’ ले नेपाललाई खासै फरक नपार्ने ओझा बताउँछन् । उनका अनुसार युक्रेन युद्ध र अहिलेको परिस्थिति फरक छ । तर यदी यस्तो ब्यापार युद्धको असर भारतमा देखियो भने चाहीँ त्यसको बाछिटा नेपालसम्म आइपुग्ने उनी बताउँछन् ।
‘आयात र निर्यात दुबै तर्फ हाम्रो ब्यापारिक निर्भरता भारतसँग छ । भारतमा यसको असर देखियो भने नेपालमा महँगी लगायतका प्रभाव देखिन सक्छ’, उनले भने । यद्यपि, सन् २०२३ को आंकडा अनुसार भारत विश्व बजारमा निर्यात गर्ने मुलुकको शीर्ष २० देशमध्ये पर्छ भने मेक्सिको र क्यानडा शीर्ष १० देशमा पर्छन् ।
यही कारण अमेरिकी राष्ट्रपति ट्रम्पले आयात करका सन्दर्भमा भारतको आलोचना गरिरहेको भए पनि उनले हालसम्म भारतलाई निसाना साँधेर यस प्रकारको नीति अघि सारेका छैनन् । ‘ट्रेड–इकोनोमिक्स’का अनुसार भारतले अमेरिकाको कुल आयातमा २.८ प्रतिशत हिस्सेदारी लिन्छ ।
मेक्सिको, चीन, क्यानडा, जर्मनी, जापान, दक्षिण कोरिया र भियतनामपछि अमेरिकाले सर्वाधिक आयात भारतबाट गर्छ । तर उसको हिस्सा ज्यादै सानो छ । यही कारण अहिले नै भारतको विरुद्धमा अमेरिकाले ब्यापार युद्ध छेड्ने संभावनाहरु कमजोर देखिने ब्यापार विज्ञको अनुमान छ ।
केही सीमित वस्तुमा कर बढाउने संभावना भए पनि भूराजनीतिक सन्तुलनका लागि समेत ट्रम्प भारतको विरुद्ध जान नसक्ने उनीहरु ठान्छन् । हाम्रो अर्को ठूलो ब्यापार साझेदार एवम् छिमेकी चीन पनि अब अमेरिकाको ब्यापारमा हुन सक्ने घाटालाई परिपुरण गर्न तिनै क्यानडा, मेक्सिको र अन्य मुलुकमा आफ्नो व्यापार विस्तार गर्ने कोसिसमा लाग्न सक्छ ।
यसो गर्दा नेपाललाई अमेरिकाको यस निर्णयले प्रत्येक्ष प्रभाव नपर्ने जानकार बताउँछन् । तर ब्यापार युद्धको स्वरुप फैलिँदै गयो र अन्य देशहरु पनि यो मामिलामा अग्रसर भए भने चाहीँ नेपालमा पनि मूल्य बृद्धि थप चुलिने खतरा रहन्छ ।
यति हुँदा हुँदै पनि अमेरिकाले चालेको उक्त कदमको असर स्वरुप अमेरिकी डलर अझ महँगिदै जाने संभावना छ । त्यहाँ केही समयका लागि ब्याजदर कटौतिको संभावना टरेको बताइएको छ । यसले डलरमा ऋण लिने र डलरमै ऋण तिर्नेमात्र होइन, डलरमा हुने आयातको लागत पनि बढ्ने छ । यसको असर चाहीँ नेपाली उपभोक्ताले पनि भोग्नु पर्ने हुन्छ ।