सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने चोर बाटो खोज्यो : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया रोक्नुपर्ने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले ऐनले कल्पना नगरेको निर्देशिका तयार पारेर सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने चोर बाटो खोजेको आरोप लगाए । ‘तपाईहरुको समर्थन र मतलाई यो सरकारले अपराध होइन, अपराधी धुने डिटर्जेन्ट बनाइरहेको छ । अपराधीलाई चोख्याउने सुनपानी बनाइरहेको छ । अब विचौलियाका आँखा धितोपत्र बोर्डमा गएका छन्’ उनले भने ।
दूरसञ्चार फ्रिक्वेन्सीजस्तै नयाँ स्टक एक्सचेन्जको लाइसेन्सलाई पनि राज्यले आफ्नो सम्पत्ति मान्ने वातावरण बनाउनुपर्ने उनले बताए । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स कमिशनबाट नभएर खुला प्रतिष्पिर्धाबाट अनुमति दिनुपर्ने बताए । त्यसका लागि अहिलेको अवैध प्रक्रिया रद्द हुनुपर्नेमा जोड उनको जोड थियो ।