अमेरिकासँग धेरै ग्यास र तेल किन्ने भारतको प्रतिबद्धता « Arthapath.com
२ फाल्गुन २०८१, शुक्रबार

अमेरिकासँग धेरै ग्यास र तेल किन्ने भारतको प्रतिबद्धता



काठमाडौँ । भारतले अमेरिकासँग थप पेट्रोलियम पदार्थ किन्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाशिङटनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देशबीचको व्यापार असन्तुलन कम गर्न दिल्लीले थप अमेरिकी तेल तथा ग्यास खरिद गर्ने सहमतिको घोषणा गरेका छन्।

‘उहाँहरूले हाम्रो धेरै तेल तथा ग्यास किन्दै हुनुहुन्छ। उहाँहरूलाई चाहिएको छ र हामीसँग त्यो छ’, वाशिङटनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने।

मोदीले ‘भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्न हामी तेल र ग्यासको व्यापारमा ध्यान केन्द्रित’ गर्नुका साथै परमाणु ऊर्जामा थप लगानी गर्ने वाचा गरे।

ट्रम्पले आफ्ना व्यापार साझेदारहरूले पारस्परिक रूपमा आयात शुल्क सामना गर्नुपर्ने बताइरहँदा मोदीको दुई दिने भ्रमण भएको हो।

अमेरिकी आयातमा पहिल्यै ती देशले लगाएका भन्सारसँग मिल्ने गरी त्यस्ता जबाफी उपाय ट्रम्पले अघि सारेका छन्।

वर्षौँको व्यक्तिगत सम्बन्ध

व्यापारका विषयमा मतभेद रहँदा रहँदै पनि ट्रम्प र मोदीबीच वर्षौँको व्यक्तिगत सम्बन्ध पाइन्छ।

‘हाम्रो गजबको सम्बन्ध छ’, अमेरिकाको राजधानीमा बिहीवार मोदीलाई स्वागत गर्ने क्रममा ट्रम्पले भने।

उनले अमेरिकाले भारतलाई सैन्य हार्डवेअरको बिक्री करोडौँ डलरले बढाउने र दिल्लीलाई एफ–३५ लडाकु जेट समेत दिने बताए।

यसअघि अमेरिकामा आप्रवासनको मुद्दा चर्को रूपमा उठेको थियो । त्यसैले यो भेटमा ट्रम्पले मोदीसँग हजारौँको सङ्ख्यामा कागजातविहीन भारतीयलाई आफ्नो देश फिर्ता लैजान भन्लान् भन्ने ठानिएको थियो। तर यस विषयमा कुनै पनि आधिकारिक धारणा बाहिर आएको छैन ।

त्योभन्दा पहिले मोदीले आफूहरूले अन्तरिक्ष, प्रविधि र अन्वेषणका बारेमा ट्रम्प निकट इलोन मस्कसँग कुरा गरेको बताएका थिए।

मोदीले भने, ‘ट्रम्पले उनको पहिलो कार्यकालमा काम गरेभन्दा दोब्बर गतिमा काम गर्न सक्नेमा म दृढ रूपमा विश्वस्त छु।’

आफूहरूबीचको द्विपक्षीय वार्ताअघि ट्रम्पले आफ्ना सल्लाहकारहरूलाई संसारभरका आफ्ना व्यापार साझेदारहरूका लागि व्यापक रूपमा नयाँ आयात शुल्कको हिसाब गर्न आग्रह गरेका थिए, जुन उनले एप्रिल १ बाट कार्यान्वयनमा आउन सक्ने बताए।

‘साझेदार शत्रुभन्दा खराब’

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै आयात शुल्कका कुरा आउँदा ‘हाम्रा साझेदारहरू हाम्रा शत्रुहरूभन्दा खराब छन्’ भने।

मोदीलाई भेट्नुअघि रिपब्लिकन दलका तर्फबाट निर्वाचित राष्ट्रपतिले ‘हामीसँग निकै अनुचित प्रणाली थियो’ भनेका थिए। उनले थपे, ‘सबैले अमेरिकाको फाइदा उठाए।’

ह्वाइटहाउसले जारी गरेको एउटा नयाँ विज्ञप्तिमा कृषिका सामानमा अमेरिकाले एमएफएन भनिने उच्च सहुलियत दिएका देश (मस्ट फेभर्ड नेसन) लाई औसतमा ५ प्रतिशत आयात शुल्क लगाइएको जनाइएको थियो।

‘तर व्यवहारिक रूपमा भारतको औसत शुल्क ३९ प्रतिशत छ’, ह्वाइटहाउसको विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्