मन्त्री गुरुङ भन्छन्,‘यसपालि अलपत्र योजना प्राथमिकतामा, ‘पपुलिस्ट’ बजेटलाई किनारा’ « Arthapath.com
२९ असार २०८२, आईतबार

मन्त्री गुरुङ भन्छन्,‘यसपालि अलपत्र योजना प्राथमिकतामा, ‘पपुलिस्ट’ बजेटलाई किनारा’



काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यसपालिको बजेटमा ‘पपुलिस्ट’ खालका कार्यक्रमहरू नआउने स्पष्ट पारेका छन् ।

बजेट विनियोजन आवश्यकता र प्राथमिकताका आधारमा हुने र अलपत्र परेका योजनाहरूलाई प्राथमिकता दिइने बताए ।

काठमाडौँमा सोमबार आयोजित लम्जुङ जिल्लाको दोर्दी गाउँपालिकाको हाल सम्मको प्रगति विवरण तथा आर्थिक वर्ष २०८२–८३ को वार्षिक बजेट तथा कार्यक्रमको लागि विज्ञहरुको सुझाव तथा संकलन एवं अन्तक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले भने, ‘धेरै पैसा खर्च भएर अलपत्र परेका योजना थुप्रै छन्, तिनीहरू पूरा गर्न बजेट दिइनेछ ।’ उनले अझै निर्माणाधीन वा नबनेका योजनाहरूलाई बजेटमा स्थान नदिइने पनि जानकारी गराए ।

सरकारले ५–६ वटा राष्ट्रिय गौरवका योजनाहरूलाई केन्द्रमा राखेर काम गरिरहेको जानकारी पनि दिए ।

स्थानीय तहमा भने गरिबी निवारण र रोजगार सिर्जनामा केन्द्रित बजेट आवश्यक रहेको भन्दै गुरुङले सडक जस्ता ठूला योजना संघीय सरकारले गर्ने पनि स्पष्ट पारे ।

काठमाडौं र पोखरामा फाइभ जी नेटवर्क सुरु गरिने र देशभर फोर जी पहुँच विस्तार गरिने बताए ।

कार्यक्रममा दोर्दी गाउँपालिकाले कृषि, रोजगार, स्वास्थ्य र शिक्षामा प्रगति गरेको प्रतिवेदन सार्वजनिक समेत गरिएको थियो । विज्ञहरूले पालिकाको आगामी नीति तथा कार्यक्रममा सुझावहरू पनि दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्