पुनः गृहमन्त्रीमा सुधन, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा महावीर पुनले लिए सपथ
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन अन्तर्गत गृहमन्त्रीमा नियुक्त सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त महावीर पुनले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा दुवै मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
गृहमन्त्री गुरुङ यसअघि पनि सोही मन्त्रालयको जिम्मेवारीमा थिए। उनको सम्पत्ति तथा शेयरसम्बन्धी विषयमा छानबिन गर्न गठित समितिले आरोपहरू आधारहीन रहेको निष्कर्ष निकालेपछि उनी पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन्। पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा रहेको छानबिन समितिले उनलाई क्लिन चिट दिएको थियो।
यस्तै, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सामाजिक अभियन्ता महावीर पुनपनि मन्त्रिपरिषद्मा प्रवेश गरेका छन्। उनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ।
पुनले लामो समयदेखि नेपालमा अनुसन्धान, आविष्कार र प्रविधिको विकासका लागि छुट्टै मन्त्रालय आवश्यक रहेको भन्दै आवाज उठाउँदै आएका थिए। उनको नियुक्तिलाई विज्ञान तथा प्रविधि क्षेत्रको विकाससँग जोडेर हेरिएको छ।














