घर हिँडेका मजदुरहरु धादिङ र चितवनको सिमानामा « Arthapath.com
५ बैशाख २०७७, शुक्रबार

घर हिँडेका मजदुरहरु धादिङ र चितवनको सिमानामा



धादिङ । कोरोना भाइरस माहामारी रोक्न सरकारले गरेको लकडाउनपछि घर हिँडेका मजदुर धादिङ र चितवनको सिमाना मौवाखोलामा रोकिएका छन् । कामका लागि जिल्लाका विभिन्न भागमा आएका मजदुर काम गर्न नपाइने र खानेकुरा सकिएपछि उनीहरु हिँडेर घर जान लागेका थिए । उनीहरुलाई चितवन प्रहरीले धादिङको सिमाना क्षेत्रमा रोकेकामा केहीलाई ट्रकमा चढाएर पठाइएको छ भने केहीलाई पठाउने व्यवस्था हुँदैछ ।

बिहीबार बिहानैदेखि प्रहरीले छेकेपछि दिउँसोसम्म ३०० भन्दा बढी मजदुर रोकिएको र उनीहरु खानेकुरा नपाएर दिनभर सो क्षेत्रमा भोकभोकै परेको स्थानीयवासी विनोद शाहले जानाकारी दिनुभयो । मजदुर रोकिएपछि मौवाखोला बजारवासीले समेत प्रहरीलाई उनीहरुलाई हिँडेर घर जान दिन आग्रह गरेका थिए । बजारवासीको आग्रहसमेत अस्वीकार गरी प्रहरीले चितवन क्षेत्र प्रवेश गर्न नदिएपछि विवाद भएको थियो ।

घटनाले उग्ररुप लिने भएपछि धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङ र चितवनका प्रमुख जिल्ला अधिकारी नारायाणप्रसाद भट्टराईबीच वार्ता भएको थियो । वार्तापछि मजदुरलाई खाद्यान्न बोक्ने सवारी साधनमा राखेर घरतर्फ जान दिने सहमति भए पनि पूर्ण लागू भएको छैन । धादिङको विभिन्न इँटा उद्योग, विद्यालय निर्माणलगायत काम गर्ने र गाउँमा पुनःनिर्माणका लागि आएका मजदुर घरतर्फ जान लागेका थिए ।रासस


प्रतिक्रिया दिनुहोस्