सदृश्य भग्नावशेष निर्माण गर्न जति गाह्रो हुन्छ, अदृश्य शत्रुसँंग लड्ने कार्य त्यसभन्दा धेरै जटिल « Arthapath.com
१२ बैशाख २०७७, शुक्रबार

सदृश्य भग्नावशेष निर्माण गर्न जति गाह्रो हुन्छ, अदृश्य शत्रुसँंग लड्ने कार्य त्यसभन्दा धेरै जटिल



प्रधानमन्त्री केपी शर्मा ओलीले सदृश्य भग्नावशेष निर्माण गर्न जति गाह्रो हुन्छ, अदृश्य शत्रुसँंग लड्ने कार्य त्यसभन्दा धेरै जटिल हुने गरेको बताएका छन् । उनले पाँचौ भूकम्प स्मृति दिवसका अवसरमा सन्देश दिँदै यस्तो बताएका हुन । उनले यो पाँच बर्षमा भएका कार्यहरुमो प्रगति पनि सार्वजनिक गरेका छन । उनले सम्भव नभएको कुरलाई पनि पुरा गरेको दावी गरे ।

पाँचौ भूकम्प स्मृति दिवसका अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको सन्देश

आदरणीय दिदी बहिनी तथा दाजुभाइहरु

आजभन्दा ठीक ५ वर्षअघि २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखा जिल्लाको बारपाकमा केन्द्रविन्दु भई विनासकारी भूकम्प गएको थियो । भूकम्प र त्यसपछिका पराकम्पबाट करिब ९ हजार व्यक्तिले ज्यान गुमाउनु पर्‍यो भने मुलुकले करिव सात खर्ब रुपैयाँ बराबरको आर्थिक क्षति बेहोर्नु प¥यो । म त्यस भूकम्पमा परी आफ्नो अमूल्य ज्यान गुमाउनु भएका सबै दिदी बहिनी तथा दाजुभाइहरुको स्मरण र हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु ।

त्यतिबेला कतिपय, यसरी पनि सोच्दै थिए– भूकम्पबाट क्षति पुगेका लाखौंको संख्याका निजी आवास, यतिधेरै सार्वजनिक संरचनाहरु र पुरातात्विक महत्वका धार्मिक एवं साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण गर्न त सकिएला ? गल्र्याम्मै ढलेको धरहरा फेरि उभ्याउन सकिएला ? यसरी पनि तर्क गरिंदै थियो, नब्बे सालको भूकम्पपछि नयाँ सडक बनेझैं के अब पनि नयाँ सिर्जना हुनसक्लान् ?

म स्मरण गर्न चाहन्छु, हामी नेपालीहरु भुकम्पको लगत्तै एकआपसबीच सहकार्य र सहयोगमा जुट्यौं । पहिले उद्दार, अनि राहत र त्यसपछि पुनर्निर्माणको अभियानमा जुट्यौं । ‘पहिलेको भन्दा राम्रो र त्यो भन्दा झन् बलियो’ भन्ने नाराका साथ पुनर्निर्माण अभियान थाल्यौं ।

फर्केर हेर्दा आज, विगतेका पाँच वर्षको अवधिमा हामीले भूकम्प प्रतिरोधी र आकर्षक कैयौं संरचनाहरु बनाउन सफल भएका छौं । निजी आवासतर्फ मात्रै हामीले करिव पाँच लाख घरहरुको पुनर्निर्माण सम्पन्न गरिसकेका छौं । १ लाख ९० हजार घरहरु पुनर्निर्माणको क्रममा छन् । हालसम्म ९ वटा एकीकृत बस्तीहरुको पुनर्निर्माण सम्पन्न भई नै सकेका छन् । थप ७० वटाको योजना स्वीकृत भई पुनर्निर्माणको क्रममा छन् । यसरी व्यवस्थित र सुन्दर एकीकृत बस्तीहरु बनिरहेका छन् । ५ हजार ५ सय ९८ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छं ।

६ सय ६९ वटा स्वास्थ्य संस्थाहरुको पुनर्निर्माण सम्पन्न भएको छ । १ सय ४५ वटा पुनर्निर्माणको क्रममा छन् । सम्पदा क्षेत्रका १ सय ७० मध्ये १ सय १ साँस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भइसकेको छ । थप ५४ सम्पदाहरु पुनर्निर्माणको क्रममा रहेका छन् । ३ सय ४९ वटा सरकारी भवनहरुको पुनर्निर्माण गरिएको छ र ४९ वटा पुनर्निर्माणको क्रममा छन् ।

भूकम्पपछि असुरक्षित स्थानमा रहेका ४ हजारभन्दा धेरै लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा व्यवस्था गरी नयाँ बसोबासको प्रबन्ध मिलाइएको छ । करिव ९ हजार भूमिहीन तथा सुकुम्बासीहरुलाई जग्गाको व्यवस्थापन सहित घर निर्माण गर्ने वातावरण मिलाइएको छ ।

हाम्रो ऐतिहासिक धरोहरका रुपमा रहेका धरहरा र रानीपोखरीको अत्याधुनिक र सुन्दर पर्यटकीय गन्तव्यका रुपमा नयाँ निर्माण कार्य अघि बढेको छ । धरहराको दशौं तल्ला ढलान भइसकेको छ ।

सम्पदा क्षेत्रमा पुनर्निर्माण सम्पन्न भएका र निर्माणको क्रममा रहेका गरी हामीले ९१ प्रतिशत प्रगति हासिल गरेका छौँ । ३२ जिल्लाका सम्पदाहरुको पुनर्निर्माण ४३.७ प्रतिशत सम्पन्न भइसकेका छन् । काठमाडौँ उपत्यकाका सम्पदाको पुनर्निर्माण ५९ प्रतिशत सम्पन्न भएको छ । यो हाम्रा लागि चानेचुने उपलब्धि मात्र होइन ।

यदि यस बीचमा कोरोना भाइरसको महामारी नआएको भए हाम्रो धरहरा यसका थप दुई तल्ला अग्लो ढलान भइसक्ने निश्चित थियो । । मल्लकालीन नासो रानी पोखरीको आजकै दिन पुनर्निर्माण सम्पन्न गरी उद्घाटनको तयारी थियो । नेपालको शैक्षिक जागरणको पहिलो विद्यालय दरबार हाइस्कूलको नवनिर्माण सम्पन्न भइसकेकाले त्यसको पनि सगौरव उद्घाटन हुने थियो । सिंहदरबारको रेट्रोफिटिङ र पुनर्निर्माण कार्य सम्पन्न गरी त्यहाँ पूर्ववत् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालय स्थानान्तरणको तयारी गरिएको हुने थियो ।

पुनर्निर्माण तथा पुनस्र्थापनामा हाम्रो अवधारणा र हामीले अपनाएको विधि विश्वका अरु देशका लागि पनि अनुकरणीय हुनसक्ने स्तरका छन् । त्यो तपाईँ हामी सबैको सहयोग, सहकार्य, दृढता र संकल्पकै कारण सम्भव भएको हो । यस अवसरमा म पुनर्निर्माण तथा पुनस्र्थापनामा सहयोग पु¥याउनु हुने स्थानीय जनसमुदाय, राजनीतिक दल तथ जनप्रतिनिधिहरु, निर्माणकर्मी, प्राविधिक, राष्ट्रसेवक, संचारकर्मीहरु एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगीहरु सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
सदृश्य भग्नावशेष निर्माण गर्न जति गाह्रो हुन्छ, अदृश्य शत्रुसँंग लड्ने कार्य त्यसभन्दा धेरै जटिल हुँदो रहेछ भन्ने हामी सबैले बुझिरहेकै छौं । यतिबेला विश्वका विभिन्न देशजस्तै हामी पनि अर्को विश्वव्यापी महाविपद् कोरोना भाइरसको महामारी विरुद्धको लडाईंमा छौं । त्यसैका कारण विगत एक महिनादेखि सिंगो देश लकडाउनमा रहन बाध्य भएको छ । लकडाउनका कारण पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरुमा गम्भीर असर परेको सर्वविदितै छ । मलाई विश्वास छ, कोरोना भाइरस विरुद्धको यस लडाईँमा हामी विनाशकारी भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ सामना गरेर अघि बढ्न सक्षम हुनेछौं । सही नीति, सहकार्य र स्रोत व्यवस्थापन तथा परिचालनको प्रबन्ध मिलाएरै हामी यस लडाईंमा विजयी हुनेछौं ।

हामीले सुरुदेखि नै विशेष सतर्कता अपनाएर कोरोना रोकथाम तथा नियन्त्रणका कार्यहरु गर्दै आएका छौं । यसबीचमा देखापरेका जुनसुकै समस्याहरुलाई सही र सामयिक नीति, निर्णय र सुस्पष्ट योजनाका साथ सल्टाउँदै अघि बढेका छौं । सबैको साथ, सहयोग र सजगताले गर्दा कोरोना भाइरसका कारण विश्वभर करिब दुई लाख मानिसले ज्यान गुमाउनुपरेको भए तापनि हामीकहाँ अहिलेसम्म मानवीय क्षति भएको छैन । यस निम्ति हामीले समयमै चालेका कदमहरुको सहीपना र नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको एकता र समझदारी मुख्य कारक रहेको छ । यसरी विषम परिस्थितिका बीच अनेकन् दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनु हुने सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।

भूकम्पपछिको राहत, उद्दार, पुनर्निर्माण तथा पुनस्र्थापनाको काममा अघि बढेझैं सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाईंमा एकताबद्ध हुन म फेरि सबैमा आग्रह गर्दछु ।

अहिले लकडाउनका कारण सिंगो अर्थतन्त्र ठप्पप्रायः नै रहेको छ । यसले अर्थतन्त्रमा पार्ने नकारात्मक असरलाई न्यून गर्न आइपरेको यस संकटको सामना गरेर अघि बढ्नुको अर्को कुनै विकल्प पनि छैन । यसबाट केही हदसम्म भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरु पनि प्रभावित हुनपुगेका छन् । आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थासहित अबरुद्ध पुनर्निर्माणको प्रक्रियालाई सुचारु गर्ने प्रबन्ध मिलाउन जरुरी भइसकेको छ । पुनर्निर्माण कार्यमा कुनै ढिलाई नहोस् भनी समन्वय र प्रबन्ध मिलाउन सरकार गंभीर र संवेदनशील छ ।

भूकम्पपछिको पुनर्निर्माणका बाँकी कार्यहरुलाई पनि हामी योजनाबद्ध ढंगले टुंगोमा पुर्‍याउनरसम्पन्न गर्न सफल हुनेछौं ।
धन्यवाद ।

केपी शर्मा ओली
प्रधानमन्त्री
१२ बैशाख २०७७


प्रतिक्रिया दिनुहोस्