सुलभ अग्रवाललाई डेढ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवानाको माग

काठमाडौं । ज्वरो नाप्ने थर्मलगनमा कालोबजारी गर्दैगर्दा रंगेहात पक्राउ परेका व्यापारी अग्रवालविरुद्ध मुद्दा दायर भएको छ । शंकर ग्रुपका सञ्चालक रहेका अग्रवाल विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गएको हो ।
उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ (क), ३ (१) तथा ५ अनुसार अनुसार मुद्दा दायर गरिएको छ । ऐन अनुसार डेढ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवानाको माग माग दाबी गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
ती तीनैवटा दफाअनुसार बढीमा एक वर्ष कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान रहेको प्रमुख सहन्यायाधिवक्ता हरि रेग्मीले बताए ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले अपराध गरेमा ५० प्रतिशत थप सजाय हुने भन्ने प्रावधान अनुसार अग्रवाल अवैतानिक वाणिज्यदूत भएकाले थप ५० प्रतिशत सजाय माग दाबी गरिएको छ । उनीविरुद्ध १५ लाख ७८ हजार नौ सय १३ रुपैयाँ सात पैसाबराबरको बिगो दाबी गरिएको छ ।