गाउँले मिलेर मृग मारेको घटनामा निर्दोषलाई नसफाउन आग्रह « Arthapath.com
२८ बैशाख २०७७, आईतवार

गाउँले मिलेर मृग मारेको घटनामा निर्दोषलाई नसफाउन आग्रह



नुवाकोट । जिल्लाको बूढीसेरामा केही साताअघि गाउँलेको सामूहिक आक्रमणमा परी एउटा मृग मरेको घटनामा ज्याला मजदुरी गर्ने दुई युवकलाई मात्र पक्राउ गरेको भन्दै उनीहरुका परिवारले निर्दोषलाई नफसाउन आग्रह गरेका छन् ।

यही वैशाख ५ गते शिवपुरी गाउँपालिकाको बूढीसेरामा गहुँ खान आएको एउटा मृग दर्जनौं गाउँलेले लखेट्दा मरेको र त्यही घटनामा उनीहरुलाई फसाउने नियतले कसैले प्रहरीलाई खबर गरिदिएकाले पक्राउ परेको उनीहरुको दाबी छ ।

सो घटनामा प्रहरीले शिवपुरी गाउँपालिकामा पर्ने बूढीसेराका प्रवेश गुणी र पञ्चकन्या गाउँपालिकाका राम अधिकारीलाई पक्राउ गरेको छ । मृग मरेपछि असन्तुष्ट व्यक्तिहरुले आफ्ना छोरालाई फसाउने नियतले प्रहरीलाई खबर गरेको प्रवेशका बुबा बालराज र आमा गंगा गुणी तथा रामका बुबा ठूलोकान्छा अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बाली जोगाउन प्रयासमा दर्जनौं गाउँले सहभागी भएर सामूहिक रुपमा लखेट्दा मृग गरेको घटनामा अनपढ र विपन्न परिवारका युवाहरुलाई नफसाउन उनीहरुले आग्रह गरेका छन् ।

प्रवेश स्थानीय तहमा चल्ने टिपरको सहचालक काम गरेर परिवारको रोजीरोटी जुटाउँदै आएको, बुबा बोल्न नसक्ने र श्रीमती भर्खरै सुत्केरी भएको विज्ञप्तिमा उल्लेख छ । पञ्चकन्याका राम पनि ज्याला मजदुरी गरी परिवारलाई सहयोग गर्दै आएका व्यक्ति हुन् । उनीहरु विगतमा कुनै किसिमका गैरकानुनी र अनैतिक गतिविधिमा संलग्न रहेको रेकर्ड नभएको भन्दै परिवारको रोजीरोजी जुटाउने व्यक्ति पक्राउ पर्दा संकटको यो अवस्थामा निकै गाह्रो परेको तथा आफूहरु आत्तिएको परिवारजनले बताएका छन् ।

विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न र निर्दोषलाई सफाइ दिन माग गरिएको छ । राष्ट्रिय निकुञ्जबाहिर आफ्नो बाली जोगाउने क्रममा डेढ–दुई सय गाउँलेको सामूहिक लखेटाइमा परेर मृग मरेको घटनामा सिधासाधा र पहुँचविहीन गरिबका छोराहरुलाई नसफाउन उनीहरुले आग्रह गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्