नेपाल बैङ्क लिमिटेडको ब्याजमा छुट « Arthapath.com
८ जेष्ठ २०७७, बिहीबार

नेपाल बैङ्क लिमिटेडको ब्याजमा छुट



काठमाडौँ। नेपाल बैङ्क लिमिटेडले आफ्ना सेवाग्राहीले लिएको ऋणको ब्याजदरमा २ प्रतिशत छुट दिने भएको छ । बैङ्कले दिएको जानकारीअनुसार २०७६ साल चैत मसान्तसम्म लगानी गरिएका कर्जाहरूमा चैत मसान्तसम्म कायम भएको ब्याजदरमा २ प्रतिशत बिन्दुले छुट दिने भएको छ ।
लकडाउनका कारण मुलुकका आर्थिक गतिविधि प्रभावित भइरहेका बेला बैङ्कले नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार सो छुट दिन थालिएको बताएको छ । बैङ्कद्वारा २०७६ चैत मसान्तसम्म लगानी भएका कर्जाहरू जस्तैः हाइपोथिकेसन, अधिविकर्ष, चालू पुँजी, मार्जिन, डिमान्ड, सुनचाँदी, हायर पर्चेज, व्यक्तिगत आदिको हकमा चैत मसान्तको आधार दर ७.८२ मा लगाइएको प्रिमियममा २ प्रतिशत बिन्दुले छुट दिने व्यवस्था मिलाइएको जनाएको छ ।

यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणीको हकमा २०७६ पौष मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तुर तिर्नेको हकमा २०७६ फागुन मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकले चौथो त्रैमासभित्र कर्जा नियमित गरेमा समेत वैशाखदेखि असारसम्मको अवधिको ब्याजमा २ प्रतिशत बिन्दुले छुट पाउने बैङ्कका प्रवक्ता प्रकाशकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । २०७७ साल वैशाखमा किस्ता तिरिसकेका ग्राहकले पनि यस्तो छुट सुविधा पाउने र सोको हिसाब मिलान बैङ्कद्वारा गरिने पनि बताइएको छ । यस प्रकारको छुट सुविधा प्रदान गर्दा कतिपय ग्राहकले बैङ्कको आधार दर बराबरकै अर्थात् ७.८२५ कै न्यूनतम ब्याजदर सुविधा प्राप्त गर्नसक्ने छन् ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्