कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी



काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा तालाबन्दी गरिएको छ । अस्पतालमा तेस्रो डिन नियुक्त गरिएको विषयमा केन्द्रीय तथा शैक्षिक प्रशासनसहितको कार्यकक्षमा तालाबन्दी गरिएको हो । प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले आवश्यकता नभएकै समयमा नियमविपरीत थप अर्का डिन नियुक्त गरेका भनी प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका हुन् ।

मङ्गलबार तेस्रो डिनको नियुक्ति फिर्ता लिन भन्दै प्रेस विज्ञप्ति जारी गरेको कर्णाली प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले सुनुवाइ नभएको भन्दै उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रारको कार्यालयको मूलढोकामा तालाबन्दी गरेको हो ।

अध्यक्ष रामाकान्त उपाध्यायबाट जारी तालाबन्दीका लागि गरिएको विज्ञप्तिमा अनियमित तरिकाले नियुक्त गरिएका जनस्वास्थ्य सङ्कायका डिनलगायत सम्पूर्ण फजुल नियुक्ति खारेज गरिनुपर्ने, यसअघिका माग पूरा गर्नुपर्ने, कोरोनामा खटिने सम्पूूर्ण चिकित्सक कर्मचारी र कर्मचारीको जोखिमभत्ता उपलब्ध गराइनुपर्ने माग गर्दै तालाबन्दी गरिएको छ । प्रतिष्ठानका दुईवटा डिनले काम नपाएको समयमा तेस्रो जनस्वास्थ्य सङ्कायको डिनको पद सिर्जना गरी प्रा डा मुनिराज क्षेत्रीलाई नियुक्त गरिएको विषयमा कर्मचारीले विरोध गरेका हुन् ।

कर्णाली प्रतिष्ठानमा अहिलेका तीन डिनमध्ये पहिलो सरस्वती गौतम, दोस्रो प्रा. डा. रेशमबहादुर राना नियुक्त भएका थिए । असोज २६ गते जनस्वास्थ्य डिन पदमा प्रा डा मुनिराज क्षेत्रीलाई नियुक्त गरिएको पत्र प्राप्त भएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।

उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले प्रतिष्ठानलाई अब ५०० श्ययाको अस्पताल विस्तार गर्नुपर्ने, एमबिबीएस शुरु गर्नुपर्ने भनेर सरकारबाट आएको र प्रतिष्ठानलाई अन्य हेल्थपोष्टजस्तो गर्ने भएकाले सोहीअनुसार काम भएको प्रतिक्रिया दिए ।


प्रतिक्रिया दिनुहोस्