खाद्यका खसीबोका काठमाडौं आईपुगे, भोलिबाट बिक्री, च्याङ्ग्रा नबेच्ने « Arthapath.com
२ कार्तिक २०७७, आईतवार

खाद्यका खसीबोका काठमाडौं आईपुगे, भोलिबाट बिक्री, च्याङ्ग्रा नबेच्ने



काठमाडौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारबाट खसीबोकाको बिक्री गर्ने भएको छ । घटस्थापनाको भोलिपल्टबाट खसीबोका बिक्री गर्ने योजना भए पनि सोमबारबाट मात्रै खसी बोकाको बिक्री सुरु गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागीय प्रमुख श्रीमणिराज खनालले बताउनुभयो ।


आइतबार बजारमा खसी बोकाको मूल्यको अवस्था हेरेर साँझसम्ममा खसी बोकाको मूल्य निर्धारण गर्ने खनालले बताउनुभयो । ‘शनिबार दुई सय खसीबोका काठमाडौ ल्याइएको छ एक दिन आराम गराएर सोमबारबाट बिक्री खुल्ला गर्ने योजना छ’खनालले भन्नुभयो ।


बिगतका बर्षहरुमा जस्तै यो बर्षपनि बजारको अवस्था हेरेर मूल्य निर्धारण हुने उहाँले स्पष्ट पार्नुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रवक्ता सर्मिला न्यौपानेले यो बर्ष खसी बोका मात्रै बिक्री गर्ने बताउनुभयो । यो बर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले च्याग्राको बिक्री नगर्ने भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार यो बर्ष कोभिडको कारण च्याग्राको बिक्री गर्न नसकेको बताउँदै आइतबार साँझ मात्रै खसी बोकाको मूल्य निर्धारण हुने छ । आइतबार पनि दुई सयभन्दा धेरै खसी बोका आउने भएकाले मागको आधारमा कति संख्यामा बिक्री गर्ने भन्ने यकिन हुने कम्पनीले जनाएको छ । यो बर्ष कम्पनीले तीन हजार खसी बोका ल्याउने योजना बनाएको छ ।


बिगतका बर्षहरुमा सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गर्ने गरेको थियो । यो पटक च्याग्रा नआउने भएपछि खसीबोकाको मात्रै मूल्य निर्धारण हुने भएको हो ।

अघिल्लो बर्ष कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रु ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो रु ७३० निर्धारण गरिएको थियो । उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो रु १० सहुलियत दिई उक्त मूल्य निर्धारण गरेको थियो ।


कम्पनीले सोमबारदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थिति बागमती अञ्चल कार्यालय ९ धान गोदाम०बाट खसी, बोका बिक्री गर्नेछ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयको समन्वयमा ती खसी, बोकाको मूल्य निर्धारण गरिनेछ ।


सरकारले दशैँका समयमा उपभोक्तालाई थोरै भए पनि राहत दिन विगतमा झै यसपटक पनि खसी, बोका बिक्री गर्न खसी बोका खरिद गरेको हो ।


विगत बर्षहरुमा जस्तै यो बर्ष पनि सरकारले खसी, बोका तथा बिक्रीमा घाटा खाएर उपभोक्तालाई राहत दिने भएको हो । बजार मूल्यभन्दा मूल्यभन्दा कममा उपभोक्तालाइ कम मूल्यमा खसी बोका बिक्री गर्न लागेको हो । गोरखापत्रबाट


प्रतिक्रिया दिनुहोस्