कोरोना बीमा दावीका लागि नक्कली पिसिआर रिपोर्ट बनाउने २ जना पक्राउ « Arthapath.com
२७ कार्तिक २०७७, बिहीबार

कोरोना बीमा दावीका लागि नक्कली पिसिआर रिपोर्ट बनाउने २ जना पक्राउ



काठमाडौं । कोरोना भाइरस पिसिआर रिपोर्ट नक्कली बनाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोरोना बीमाको दावी भुक्तानी लिनकै लागि नक्क्ली पिसिआर रिपोर्ट बनाएको आरोपमा नेपालगन्ज प्रहरीले २ जनालाइ पक्राउ गरेको हो ।

बाँकेस्थित भेरी अस्प्तालबाट दर्जनौं कोरोना बीमितलाई नक्कली पिसिआर रिपोर्ट बनाएको आरोपमा अस्पतालका सुरक्षा गार्ड र उनका सहयोगीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले चिकित्सकको कीर्ते हस्ताक्षर गरी अस्पतालकै लेटरप्याडमा नक्कली पिसिआर रिपोर्ट जारी गर्ने गरेको पाइएको छ ।

सुरक्षागार्ड कम्पनीमार्फत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्तिले कीर्ते कोरोना भाइरस पोजेटिभ भएको पिसिआर रिपोर्ट बनाउने गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए । उनीहरुले प्रतिव्यक्ति ५ हजार रुपैयाँ देखि १० हजार रुपैयाँसम्म लिएर कीर्ते पिसिआर रिपोर्ट बनाउने गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिर्पोटको नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पिसिआरको सिफारिस गर्ने गरेको तथ्य खुलेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्