जहाँ कुकुरले भेडालाई दिनभर खर्कमा र रातमा गोठमा हेरचाह गर्छ, कुकुरको मुल्य ३० हजार देखि ६० हजार सम्म

काठमाडौं । म्याग्दी जिल्लाका हिमाली क्षेत्रहरुमा भने कुकुरलाई भेडीगोठ सुरक्षाको पुरै जिम्मा दिइन्छ । भोटे कुकुर सामान्यतः बाघ, चितुवालगायतका जगंली जनाबरसँग पनि डराउँदैन । कुकुरले भेडालाई दिनभर खर्कमा र रातमा गोठमा हेरचाह गर्दछ । कुकुर भएपछि भेडीगोठालाहरु ढुक्कले रातमा निदाउने गर्दछन् ।
भेडा हेर्ने जिम्मा पनि कुकुर कै छ म जंगल जानुपर्दैन धौलागिरि गाउँपालिका ५ मल्कबाङका भेडापालक किसान हिमबहादुर छन्त्यालले भन्नुभयो ‘बन्यजन्तुको आक्रमणबाट भेडालाई बचाउनुका साथै साँझ परेपछि गोठसम्म ल्याइपु¥याउने काम पनि कुकुरहरुले नै गर्दछन् ।’ छन्त्यालको गोठमा ५ वटा भोटे कुकुरहरु छन् । गत वर्ष एउटा कुकुरलाई रुकुमबाट ६० हजार रुपियाँमा खरिद गरेर ल्याएको उहाँले बताउनुभयो ।
गोठ बन जङगलको बीचमा हुनेभएकाले भेडाबाख्राको सारथी कुकुर नै भएको छन्त्यालले बताउनुभयो । कुकुर भएपछि रातमा ढुक्कले निदाउन पाइन्छ छन्त्यालले भन्नुभयो ‘चितुवा र बन्यजन्तु गोठमा आए कुकुरले लखेटछन ।’
जंगली जनावरको आक्रमणबाट जोगाउने मुख्य हतियार कुकुर भएको भेडापालक किसानहरु बताउँछन् । कुकुरले जंगली जनावरको चाल छिटो सुन्ने र सुँघेर बाघ, भालु, चितुवा र स्याल जस्ता जनावरको चाल थाहा पाएपछि भुकेर गोठालोहरुलाई संकेत गर्ने काम कुकुरले गर्दछ ।
गोठमा कुकुर नहुँदा चितुवा र जंगली जनावरले बर्षमा २० वटा भेडाबाख्रा मारेको थियो छन्त्यालले भन्नुभयो । कुकुरकै कारण गोठको दैनिकी सहज र सुरक्षित भएको किसानहरु बताउँछन् । गोठको सुरक्षाका लागि बसेको कुकुरले नचिनेको मानिस र जंगली जनावरको आक्रमणलाई कुकुरले रोक्छ ।
एउटा कुकुरको मुल्य ३० हजार देखि ६० हजार सम्म पर्ने भेडापालक किसानहरु बताउँछन् । जंगली जनावरबाट भेडालाई बचाउन गोठमा कुकुर अनिबार्य हुनुपर्ने धनबाहादुर विक बताउनुहुन्छ । ‘हामी भेडा जाने सबै ठाउँमा पुग्न सकिदैन,जान नसकेको ठाउँमा कुकुर पुग्छन् । दिनभर भेडा सँगै जान्छन् र राती गोठमा आएर भेडालाई सुरक्षा दिन्छन् उहाँले भन्नुभयो ।गोरखापत्रबाट साभार गरिएको हो ।