एलन मस्क बने संसारकै दोश्रो धनी
काठमाडौं । संसारकै धनाढ्यहरूको सूचीमा एक स्थानमाथि उक्लदै एलन मस्क दोश्रो धनाढ्य बन्न सफल भएका छन्। द गार्डियनका अनुसार, मंगलबार बिल गेट्सलाई तल पार्दै मस्कले उक्त स्थान ओगटेका हुन्। मस्कको कम्पनी टेस्लाको सेयर भाउ उक्लेसँगै मंगलबार उनले धनाढ्य सूचीमा दोस्रो स्थानमा आफ्नो नाम चढाएका हुन् । मस्कले अघिल्लो हप्तामात्रै फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई पछि पारेका थिए ।
ब्लुमबर्ग धनाढ्य सूचीमा गत जनवरीसम्म पनि मस्क ३५ औं स्थानमा भएको द गार्डियनले जनाएको छ । अहिले आएर उनी दोस्रो स्थान कायम गर्न सफल भएका छन् । त्यस्तै चौथो स्थानमा फ्रान्सेली धनाढ्य बर्नाड अर्नल्ट छन् भने जुकरवर्ग थप एक स्थान तल झर्दै पाचौं स्थानमा पुगेका छन् । बर्नाडको कुल सम्पत्ति जुकरवर्गको भन्दा ३ अर्ब डलर धेरै छ ।
मस्कको सफलताको पछाडि टेस्लाको सेयर मूल्यमा आएको उछाल प्रमुख रह्यो । टेस्लाको सेयरमूल्य विगत केही हप्तादेखि लगातार उकालो लागिरहेको द गार्डियनले लेखेको छ। टेस्लाका उत्पादनको बढ्दो लोकप्रियतासँगै सेयर बजारमा आएको उछालका कारण उनको सम्पत्ति १०० अर्ब डलरभन्दा ज्यादा बढेको थियो। ब्लुमबर्ग खर्बपति सूचांकअनुसार अहिले उनको सम्पत्ति १२८ अर्ब डलर बराबर छ ।
४९ वर्षीय मस्क संसारकै धनी जेफ बेजोफभन्दा एक स्थान पछाडि छन् । जोसेफको हालको सम्पत्ति १८२ अर्ब डलर बराबर छ । मस्कले टेस्लाको सेयर मूल्यको वृद्धि रफ्तार कायम राख्न सके आगामी केही वर्षमै उनी संसारकै धनाढ्य बन्न सक्ने तथ्यांकले देखाएको छ । यसरी नै टेस्लाको सेयर मूल्य बढ्दै गए सन् २०२८ सम्ममा यो कम्पनी ६५० अर्ब डलर बराबरको कम्पनी बन्नसक्ने गार्डियनले लेखेको छ ।