नयाँ रेकर्ड बनाउँदै एकै दिन २३ हजारले गरे सेयर किनबेच

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार अधिकांश रेकर्ड ब्रेक भए । बिहीबार हालसम्म कै उच्च अंक १८९३.२४ अंक पुगेर आफ्नै पुरानो रेकर्ड १८८१ अंकको रेकर्ड तोड्यो । त्यस्तै कारोबारको समयमा १९०० अंक माथि पुगेको थियो । त्यस्तै कारोबार रककममा पनि हालसम्म कै उच्च ७ अर्ब ६१ करोड रुपैयाँको कारोबार भयो । यो पनि हालसम्म कै उच्च कारोबार हो ।
यस अघि २०७७ मंसिर ७ मा ६ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । २०७३ साउन १२ मा बजार परिसूचक नेप्से १८८१.४५ विन्दुमा पुगेको थियो
तर, विभिन्न रेकर्ड ब्रेक गर्ने क्रममा बिहीबार २३ हजार ५० लगानीकर्ताले सेयर किनबेच गरेर रेकर्ड ब्रेक गरेको छ । यो संख्या एकै दिन सेयर किनबेचमा सहभागी भएकाहरुमध्ये अहिलेसम्मकै उच्च हो । यस दिन भएको कारोबारमध्ये ८७.७५ प्रतिशत कारोबार अनलाइनमार्फत भएको थियो ।
अनलाइनमार्फत कारोबार गर्ने ७० हजार ३ कारोबारमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँ बराबरका १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएका छन् ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडले मिति २०७५ कात्तिक २० गतेबाट पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार आएको नेपाल स्टक एक्स्चेन्जको दावी छ । यस क्रममा दोस्रो बजार कारोबार सेवालाई सहज, सुरक्षित, विश्वसनीय तथा पारदर्शी बनाउने नेप्सेको उद्देश्य अनुरुप प्राविधिक, नीतिगत तथा संस्थागत पूर्वाधारहरुमा सुधार गरिएको नेप्सेले विज्ञप्ति मार्फत जनाएको छ ।

