नयाँ चालक अनुमतिपत्र लाइसेन्सको परीक्षा तत्काल नहुने

काठमाडौं । काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्र (लाइसेन्स) का लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीले जानकारी दिए ।
सामान्य अवस्थामा यी कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र अनुमतिपत्र वितरण गर्दै आएका थिए । गत चैतदेखि भने कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गरेका छैनन् । सेवाग्राहीको धेरै भीड हुने भएकाले तत्काल नखोलिने उनले बताए । कतिले फोन गरेर र कतिले कार्यालयमा आएर कहिले अनुमतिपत्र खुल्छ भनेर सोध्ने गरेको उनले बताए । प्रदेश सरकार मातहातको कार्यालय भएकाले वाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले निर्णय गरेपछि मात्रै नयाँ अनुमतिपत्र खुल्ने उनको भनाइ छ ।