एनआईसी एसिया बैंकले चार कम्पनीको सेयर पटक–पटक बिक्रीमा राख्दा पनि बिक्री भएन « Arthapath.com
२८ पुष २०७७, मंगलवार

एनआईसी एसिया बैंकले चार कम्पनीको सेयर पटक–पटक बिक्रीमा राख्दा पनि बिक्री भएन



काठमाडौं । एनआईसी एसिया बैंकले चार कम्पनीको सेयर पटक–पटक बिक्रीमा राख्दा पनि बिक्री भएको छैन । बैंकले ब्यापार बढाए पनि दोस्रो त्रैमासमा नाफाको दर भने केही घट्ने देखिएको छ । ऋण उठ्तीमा समस्या भएका कारण बैंकको यसपाली नाफा प्रभावित हुँदैछ । त्यो नाफालाई भर्पाई गर्न बैंकले चार कम्पनीको सेयर फेरि बिक्रीमा राखेको हो ।

बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६० कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको १ लाख ३ हजार ९७६ कित्ता, एसियन लाइफ इन्स्योरेन्सको एक लाख ३० हजार २९० कित्ता र सूर्या लाइफ इन्स्योरेन्सको एक लाख ९० हजार ३७४ कित्ता सेयर फेरि बिक्रीमा राखेको छ ।

बिक्रीबाट ठूलो पैसा आउँछ र दोस्रो त्रैमासको नाफा पनि राम्रो देखिन्छ भन्ने प्रक्षेपणका आधारमा अहिले बैंकको सेयर मूल्य बढाइएको छ । २० प्रतिशत लाभांश प्रस्ताव पारित गरिसकेपछि पनि बैंकको सेयर मूल्य निरन्तर बढिरहेको छ । बैंकले यसपाली नागरिक लगानी कोषको सेयर मूल्य हकप्रदलाई समायोजन गरी घटाएर बिक्रीमा राखेको छ । यसअघि प्रतिकित्ता २७४० रुपैयाँमा बिक्रीमा राखेको थियो । १ कित्ताका लागि पनि आवेदन नपरेपछि बैंकले यसपालि प्रतिकित्ता १७ सय १५ रुपैयाँका दरले बिक्री गर्ने भएको छ । लगानीकोषले हकप्रद सेयरका लागि बुक क्लोज गरिसकेको छ ।

लगानीकर्ताहरूका अनुसार, बैंकले संस्थापक सेयरहरू बिक्रीमा राखेको हो । संस्थापक सेयर दोस्रो बजारमा किनबेच हुन निकै झन्झटिलो छ । त्यसैले हत्तपत्त कसैले किनिहाल्दैन । नेशनल लाइफको सेयर मूल्य भने बढाएको छ । ५२० रुपैयाँमा बिक्रीमा राखेको बैंकले यसपालि बढाएर ५५० रुपैयाँ पुर्याएको छ । अघिल्लोपटक बिक्रीमा राख्दा जम्मा १० हजार कित्तामात्र बिक्री भएको थियो ।

बैंकले एसियन लाइफको मूल्य ४६९ रुपैयाँ तोकेको छ भने सूर्या लाइफको ३३७ रुपैयाँ तोकेको छ । यी सबै सेयर तोकिएको न्यूनतम मूल्यमा बिक्री भएमा बैंकलाई ५२ करोड ९८ लाख रुपैयाँ आउने छ ।

बैंकले चालु वर्षको पहिलो तीन महिनामा ४ करोड ६६ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो । पोहोर अवस्था सहज हुँदा नाफा ४४ करोड ८४ लाख रुपैयाँ थियो । बैंकले दोस्रो त्रैमासमा ‘रिकभरी’ मा बल गरेको छ । धेरै ऋण उठ्न सक्ने अवस्थामा छैन ।


प्रतिक्रिया दिनुहोस्