काठमाडौं विश्वविद्यालयको उपकुलपति बन्न ४४ जनाको दौडधुप, बुझाए आफ्नो व्यक्तिगत विवरण « Arthapath.com
४ माघ २०७७, आईतवार

काठमाडौं विश्वविद्यालयको उपकुलपति बन्न ४४ जनाको दौडधुप, बुझाए आफ्नो व्यक्तिगत विवरण



काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु) को उपकुलपति बन्नका लागि ४४ जनाले आवेदन दिएका छन् । केयुको उपकुलपति नियुक्त गठन गर्न सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक अपिल गरेपछि ४४ जनाले आफ्नो व्यक्तिगत विवरण पेश गरेका छन् ।

केयु प्राध्यापक सङ्घले विश्वविद्यालयको नेतृत्वमा उत्रेका उनीहरुमध्ये ३७ प्राज्ञिक व्यक्तित्वले प्रतिस्पर्धा गर्नु सकारात्मक सन्देश भनेको छ ।

सङ्घका सभापति प्रा डा विवेक बरालका अनुसार उपकुलपति सिफारिस समितिलाई विश्व परिस्थितिअनुसार विश्वविद्यालयलाई नवीन सोचका साथ डोर्याउने, शैक्षिक क्षेत्रको उन्नयन तथा मार्गनिर्देशित गर्ने उद्देश्य बोकेको सक्षम, निष्ठावान् र उत्कृष्ट उम्मेदवार छनोट गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले छलफल शुरु गरिएको हो ।

सङ्घको छलफल कार्यक्रम तालिका अनुसार उपकुलपति आकाङ्क्षी उम्मेदवारसहित आज साँझ शुरु गरी आइतबार र सोमबारसम्म सङ्घ आबद्ध प्राध्यापक, कर्मचारी, विद्यार्थी, नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवालालाई आग्रह गरेको हो । सङ्घले केयुमा लामो समय एउटै व्यक्ति दोहोर्याउँदा उपकुलपति सिफारिस प्रक्रिया अपारदर्शी तथा सिफारिस समितिप्रति शङ्का पैदा हुने भएकाले बृहत् छलफल तथा आम चाहनाअनुसार उपकुलपति चयन गर्न आग्रहसमेत गरेको छ । “केयु कार्यकारी परिषद्ले आवधिक पदमा एक व्यक्ति एक पद र अधिकतम दुई कार्यकालको पद्धतिको विकास गर्नेमा निर्णय गरिसकेको छ”, डा बरालद्वारा हस्ताक्षरित सङ्घको विज्ञप्तिमा उल्लेख भनिएको छ, “यसर्थ हालका उपकुलपतिले नेतृत्व गर्ने लोभ नरहेको विषय विभिन्न अन्तवार्ता भनिसकेको र पद्धति विकासमा हस्तक्षर गरिसकेकाले एकै व्यक्तिलाई सिफारिस गरिनु हुन्न ।”

विसं २०४८ मा स्थापित केयुमा प्रा डा सुरेशराज शर्माले २१ वर्ष र डा रामकण्ठ माकजुले आठ वर्ष नेतृत्व गरिसकेका छन् । डा माकजुको दोस्रो कार्यकाल यही हप्ता अर्थात् माघ ७ गते सकिँदैछ । उनको कार्यकाल माघ पहिलो हप्ता सकिने भएपछि विश्वविद्यालय सभाले गत पुसमै शिक्षामन्त्री एवं सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको थियो । समितिका केयुका संस्थापक उपकुलपति डा सुरेशराज शर्मा र केयु संरक्षण समितिका अध्यक्ष दमननाथ ढुङ्गाना सदस्य छन् । सिफारिस समितिले तीन जनाको नाम सिफरिस गर्ने र त्यसमध्येका एकलाई उपकुलपति नियुक्त गर्ने प्रावधान छ ।

विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्न पहिलोपटक सार्वजजिकरुपमा दर्खास्त आह्वान गरेपछि ३७ प्राध्यापक÷प्राज्ञिक तथा बाँकी सहप्राध्यापक, उपप्राध्यापक र प्राज्ञिक क्षेत्र बाहिरका सहित ४४ ले व्यक्तिगत विवरण बुझाएको मन्त्रालय स्रातले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्