सर्वाेत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट फागुनमा आइपीओ निष्काशन गर्दै, के हो बुक बिल्डिङ भनेको ? « Arthapath.com
२७ माघ २०७७, मंगलवार

सर्वाेत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट फागुनमा आइपीओ निष्काशन गर्दै, के हो बुक बिल्डिङ भनेको ?



काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले चालु आर्थिक वर्षभित्रै सेयर निष्काशन गरिसक्ने योजना बनाएको छ । फागुनमा सेयर निष्काशन गर्नेगरि प्रक्रिया सुरु गरिरहेको सर्वोत्तम सिमेन्टले जानकारी दिएको छ । तर कम्पनीले बुक बिल्डिङ्गमा विधिबाट सेयर निष्काशन गर्ने भएको हो । बुक बिल्डिङ्ग विधिबाट सेयर निष्काशन गर्ने सर्वोत्तम सिमेन्ट पहिलो कम्पनी हुने भएको छ ।

उसले माघ ६ गते भएको साधारणसभाबाट सेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले १५ प्रतिशत हुन आउने ६० लाख कित्ता सेयर बुक बिल्डिङ्ग विधिमार्फत जारी गर्ने तयारी गरेको हो । निष्काशन हुन लागेको ६० लाख कित्ता शेयरमा ४० प्रतिशत संस्थागत लगानीकर्ताले खरिद गर्नुपर्ने छ भने ६० प्रतिशत सर्वसाधारण र प्रभावितको हुनेछ । निष्काशन हुन लागेको सेयरमा कम्तीमा १० संस्थागत लगानीकर्ताले मूल्य तोक्नेछन् ।

जसका लागि निष्काशनकर्ता कम्पनीले सेयर जारी गनर्भुन्दा पहिले संस्थागत लगानीकर्ताहरूलाई छलफलको लागि बोलाउनु पर्नेछ । उनीहरूसँग गरिएको छलफलको आधारमा संस्थागत लगानीकर्ताहरूले मूल्य निर्धारण गर्नेछन् । मूल्य निर्धारण गरिसकेपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा सेयर निष्काशनको लागि अनुमति माग गर्ने छ । उक्त मूल्य निर्धारण गर्न कम्पनीले संस्थागत लगानीकर्तालाई फागुनको पहिलो साता बोलाउने कम्पनीले बताएको छ । संस्थागत लगानीकर्ताले मूल्य निर्धारण र उनीहरूले अन्तिम मूल्य तोकेपछिमात्रै प्रभावितको लागि उसले सेयर निष्कासन गर्नेछ ।

कम्पनीको उद्योग परासी र खानी पाल्पा जिल्लामा छ । दुवै जिल्लाका स्थानीयले २ प्रतिशतका दरले हुन आउने ८ लाख सेयर कित्ता पाउने छन् । स्थानीयले कम्पनीको सेयर पाए पनि मूल्यमा भने कुनै सहुलियत हुनेछैन । स्थानियहले खरिद नगरे उक्त सेयर पब्लिकमा नै जोडेर निष्काशन हुनेछ ।

यसअघि प्रिमियममा सेयर निष्काशन गरेको शिवम् सिमेन्टको र सर्वोत्तमको सेयर निष्काशन प्रक्रिया फरक भएकोले स्थानीयले मूल्यमा सहुलियत नपाउने भएका हुन् । प्रिमियममा सेयर निष्काशन गरेको भए पनि शिवम् सिमेन्टले स्थानीयलाई सर्वसाधारणभन्दा कम मूल्यमा सेयर दिएको थियो । तर, सर्वोत्तमले भने स्थानीयलाई सर्वसाधारणकै मूल्यमा दिने जनाएको छ ।

बुक बिल्डिङ भनेको के हो ?
आईपीओमा बुक बिल्डिङ प्रक्रिया भनेको प्रिमियममा आईपीओ जारी गर्नु हो । बुक बिल्डिङ भनेको एक प्रकारको लीलामी प्रक्रिया हो । कम्पनीले सार्वजिनक निष्कासन गर्न चाहेको कुल धितोपत्रमध्ये सीमित लीलामी गरिन्छ । र, त्यसबाट निर्धारित प्रिमियमको आधारमा बाँकी धितोपत्रको निष्कासन गर्दा मूल्य निर्धारित गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्