शिक्षालाई व्यावहारिक र प्रविधिमैत्री बनाउँदै डिजिटल रूपान्तरणको रूपमा अघि बढाउन आवश्यक « Arthapath.com
१४ फाल्गुन २०७७, शुक्रबार

शिक्षालाई व्यावहारिक र प्रविधिमैत्री बनाउँदै डिजिटल रूपान्तरणको रूपमा अघि बढाउन आवश्यक



डिजिटल लर्निङ डेको अवसरमा ‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रम आयोजना सम्पन्न

काठमाडौं । हरेक वर्ष फेबु्रअरी २५ मा विश्वभर मनाइने डिजिटल लर्निङ डे नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । काठमाडौंको होटेल हिमालयमा आयोजित ‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रममा डिजिटल शिक्षाको महत्व, आवश्यकता र सरकारी तवरबाट गरिएको प्रयासहरूको बारेमा छलफल भएको थियो ।

‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रममा वक्ताहरूले सरकारले तयार पार्ने पोलिसी तथा मास्टरप्लान अनुसार कार्यान्वयनमा जोड दिँदै अघि बढ्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री गणेश शाहले अब सरकारी र निजी क्षेत्रको सहकार्यमा डिजिटल वल्र्डको लागि तयार हुनुपर्ने बताए । कोभिड १९ को कारण सरकारले बैकल्पिक शिक्षा सिकाइ कार्यक्रम ल्याएको भए तापनि अब यसलाई शिक्षा रूपान्तरणको रूपमा नै अघि बढाउनुपर्ने उनले बताए । कार्यक्रमका विशेष अतिथि प्राडा. सुवर्ण शाक्यले इन्फ्रास्ट्रक्चरको विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । सरकारले ग्रामीण क्षेत्रसम्म पूर्वाधारको विकास गर्दै आवश्यक कन्टेन्टको लागि निजी क्षेत्रसँग सहकार्य गरी बढ्नुपर्ने शाक्यको भनाइ थियो ।

कार्यक्रममा ‘रिइमाजेनिङ डिजिटल एजुकेशन: पोलिसी एण्ड प्लानिङ’ विषयमा पहिलो प्यानल डिस्कसन सञ्चालन भएको थियो भने ‘फ्युचर अफ डिजिटल एजुकेशन’ विषयमा दोस्रो तथा अन्तिम प्यानल डिस्कसन सञ्चालन भएको थियो । पहिलो प्यानल सेसनमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव आदेश खड्काले सरकारले सन् २०२० देखि २०३० सम्मको रोडम्याप बनाएर शिक्षालाई रूपान्तरण गर्ने अभियानमा अघि बढिरहेको बताए ।

यसैगरी पाठ्यक्रम विकास केद्रका निर्देशक गणेश भट्टराईले समयको आवश्यकता अनुसार कन्टेन्ट सामग्रीहरू परिमार्जित र व्यावहारिक बनाउनै जानुपर्ने धारणा राखे । यसैगरी नमोबुद्ध नगरपालिकाका शिक्षा विभाग प्रमुख जनार्दन रिजालले स्थानीय निकायमा कनेक्टिभिटी, कन्टेन्ट र सचेतनाको कमीले गर्दा पनि डिजिटल शिक्षालाई प्रभावकारी ढंगले अघि बढाउन नसकेको धारणा राखे । प्यानल डिस्कसनमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल खुल्ला विश्वविद्यालयका प्रोग्राम कोअर्डिनेटर डा. भोजराज घिमिरेले नेपालमा विद्यालयदेखि विश्वविद्यालयसम्म डिजिटल शिक्षालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारको स्पष्ट योजना र कार्यान्वयन आवश्यक रहेको बताए । प्यानलमा चाँदबाघ स्कूलकी प्रिन्सिपल निरा प्रधान र माइक्रोसफ्ट नेपालका दिपेन्द्र वज्राचार्यले पनि आफ्नो विचार व्यक्त गरेका थिए ।

त्यस्तै दोस्रो प्यानल डिस्कसनमा वक्ताको रूपमा बुढानिलकण्ठ स्कूलका प्रिन्सिपल होमनाथ आचार्य, फ्युज मेशिन्सका दक्षिण एशिया निर्देशक पराग श्रेष्ठ, कारखानाका सीईओ पवित्र गौतम, ओरियन्ट कलेज वसुन्धाराकी लेक्चर प्राप्ति थापा र एन प्याब्सनका सचिव सुवास न्यौपाने सहभागी भएका थिए । यस सेसनलाई सोसल चेञ्ज मेकरकी प्रोडक्ट म्यानेजर इभा ज्ञवालीले सञ्चालन गरेकी थिइन् । फ्युचर अफ डिजिटल एजुकेशन, कोभिड १९ अघि र पछि शीर्षकमा भएको प्यानल डिस्कसनमा कोभिड १९ ले गर्दा रूपान्तरण गर्न खोजेको डिजिटल शिक्षालाई अब हाइब्रिड मोडलमा प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए । डिजिटल नेपाल फ्रेमवर्कमा पनि समावेश गरिएको डिजिटल शिक्षालाई उच्च प्राथमिकताको साथ अघि बढाउन सके नेपालले यो क्षेत्रमा डिजिटल रूपान्तरण गर्न सक्ने वक्ताहरूको भनाइ थियो ।

निमा एकेडेमीको आयोजना तथा लिभिङ विथ आइसिटी र सोचवेयरको सह आयोजनामा डिजिटल लर्निङ डेको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम निमा एजुकेसन फाउन्डेसनका अध्यक्ष हरिमान प्रधानको सभापतित्वमा शुरू भएको थियो । कार्यक्रमको इन एशोशिएसन पार्टनरमा नेपाल दूरसञ्चार प्राधिकरण र जेनस क्लाउड एकेडेमी रहेका थिए । कार्यक्रमको सपोर्ट पार्टनरमा कारखाना, डिजिटल पेमेन्ट पार्टनरमा कनेक्ट आइपीएस, इन्टरनेट पार्टनरमा भायानेट, कम्युनिटी पार्टनरमा सीएसआईटी एशोशिएसन नेपाल, एलइडी पार्टनरमा पिक्सेल टच, एसएमएस पार्टनरमा स्प्यारो एसएमएस, इनर्जी पार्टनरमा लुमिनस र आर्मट्रेड रहेका थिए ।

सबै विद्यार्थीहरूको लागि नवीन डिजिटल शिक्षा र पहुँचको वकालत गर्न फेब्रुअरी, २०१२ देखि डिजिटल लर्निङ दिवस विश्वव्यापी रूपमा मनाउन शुरु गरिएको छ । यो दिन शिक्षामा डिजिटल प्रविधिको विशेष प्रयोग गरी कक्षाकोठामा सिकाउने शुरुवातको हिसाबले नवीन र अग्रगामी सोचलाई उजागर गर्ने दिन हो ।

निमा एजुकेशन फाउन्डेशनले दुई वर्षअघि (२०१९/२०७५) डिजिटल सिकाइ दिवस शिक्षाविद्, विकासकर्ता, डिजिटल पूर्वाधारका सरोकारवाला र आविष्कारकहरूका लागि एक महत्वपूर्ण प्लाटफर्म उपलब्ध गराउने लक्ष्यका साथ शुरू गरेको हो । शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई साझा गर्न र नविन डिजिटल सिकाइमा जागरूकता फैलाउन गरिएको प्रयासलाई डिजिटल लर्निङ डेको रूपमा लिइएको कार्यक्रम संयोजक नेहा जोशीले बताइन् ।


प्रतिक्रिया दिनुहोस्