एक वर्षमा पौने ८ खर्ब बढ्यो निक्षेप, पछिल्लो पुस्ताका बैंकको आक्रामक विस्तारले धकेलिँदै पुराना ‘पायोनियर’ « Arthapath.com
१९ बैशाख २०७८, आईतवार

एक वर्षमा पौने ८ खर्ब बढ्यो निक्षेप, पछिल्लो पुस्ताका बैंकको आक्रामक विस्तारले धकेलिँदै पुराना ‘पायोनियर’



काठमाडौं । चैत मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा पछिल्लो एक वर्षमा बाणिज्य बैंकहरुको निक्षेप साढे ७ खर्ब बढेको छ । २७ वटा बाणिज्य बैंकमा चैतसम्म ३९ खर्ब ८६ अर्ब ३७ करोड ८० लाख ७ हजार रुपैयाँ निक्षेप जम्मा भएको छ । गत वर्षको यही अवधिमा ३२ खर्ब १३ अर्ब २७ करोड ४९ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन भएको थियो । गत बर्षको तुलनामा बैंकहरुले ७ खर्ब ७३ अर्ब १० करोड ३० लाख ८६ हजार रुपैयाँ निक्षेप बढाए ।

स्टाण्डर्ड चार्टर्ड बाहेक सबै बैंकको निक्षेप बढेको छ । एनआईसी एसियाले यो एक वर्षमा ९९ अर्ब ७९ करोड रुपैयाँ निक्षेप थपेको छ । यो रकम बैंक अफ काठमाडौं, सेञ्चुरी, सिभिल, स्टाण्डर्ड चार्टर्ड वा नेपाल बंगलादेशमध्ये कुनै एक बैंकले हालसम्म संकलन गरेको कुल निक्षेपभन्दा बढी हो । स्रोत परिचालनमा कमजोर देखिएका १० वटा बैंकले एक वर्षमा बढाएको कुल निक्षेपबराबर एनआईसी एक्लैले बढाएको छ । यसबाट एनआईसी एसियाको व्यवसायिक आक्रामकता देखिन्छ ।

त्यसपछि मेगा, सिटिजन्स र प्रभु बैंकले पनि ठूलो मात्रामा निक्षेप बढाउन सफल भएका छन् । बैंकिङ इतिहासमा पछिल्लो पुस्ताका यी बैंक आक्रामक विस्तारकै रणनीतिमा अघि बढेका छन् । नेपालमा आक्रामक बैंकिङको ‘पायोनियर’ मानिने नेपाल इन्भेष्टमेण्ट भने पछिल्ला वर्षमा पछाडी पर्दै गएको छ । यद्यपि, पुरानो र बलियो बैंक नबीलले आफ्नो अस्तित्व जोगाउन विस्तारै आक्रामक बैंकिङलाइै जोड दिन थालेको देखिन्छ ।

निक्षेप तान्नमा नेपाल एसबीआई, बैंक अफ काठमाण्डु र नेपाल इन्भेष्टमेष्ट बैंकको पर्फरमेन्स भने कमजोर देखिएको छ । स्ट्याण्डर्डचार्टर्डले त भएकै निक्षेप पनि टिकाइराख्न सकेन र पोहोरभन्दा २ अर्ब कम भएको छ ।

स्राेतः नेपाल बैंकर्स संघ ।

Tags :

प्रतिक्रिया दिनुहोस्