पाँच कम्पनीलाई विशिष्टिकृत लगानी कोष सञ्चालन गर्न सेबोनको पुर्वस्वीकृती, भेञ्चर क्यापिटलमा पनि ठूला कर्पोरेट समूहकै हालिमुहाली निम्त्याउँदै « Arthapath.com
१९ बैशाख २०७८, आईतवार

पाँच कम्पनीलाई विशिष्टिकृत लगानी कोष सञ्चालन गर्न सेबोनको पुर्वस्वीकृती, भेञ्चर क्यापिटलमा पनि ठूला कर्पोरेट समूहकै हालिमुहाली निम्त्याउँदै




काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले भेञ्चर क्यापिटल र प्राइभेट इक्वीटि फण्डजस्ता नविनतम वित्तीय सेवा दिन पनि ठूला कर्पोरेट समूहकै हालिमुहाली निम्त्याउने गरी लाइसेन्स दिने तयारी थालेको छ । विशिष्टिकृत लगानी कोषको स्थापना र सञ्चालन गर्न भन्दै पाँच कम्पनीलाई पुर्वाधार तयार पार्ने अनुमति दिएको बोर्डका सहप्रवक्ता रुपेश केसीले जानकारी दिए ।

सेबोनमा प्राइभेट इक्वीटि र भेञ्चर क्यापिटल सञ्चालनका लागि आवेदन दिएका ९ कम्पनीमध्ये पाँचवटालाई पुर्वाधार तयार पार्न अनुमति दिएको हो । यस्तो अनुमति पाउनेमा ग्लोबल इक्वीटी फण्ड प्राली, लक्ष्मी क्यापिटल मार्केट लि, एनआईबीएल एस क्यापिटल लि, एनआईसी एसिया क्यापिटल लि र एनएमबी क्यापिटल लि. रहेका छन् ।

नेपालमा २ सयभन्दा धेरै इक्वीटी फण्ड र भेञ्चर क्यापिटल संचालनमा रहेको भए पनि उनीहरुको विशिष्टिकृत नियमन गर्ने काम भएको थिएन । गत वर्षमात्रै सेबोनले यस्ता कम्पनीको नियमन गर्न विनियमावली जारी गरेको थियो । त्यसपछि यससम्बन्धी काम गरिरहेका कम्पनीहरुलाई लाइसेन्सका लागि बोलाउनुको साटो सामुहिक लगानी कोष सञ्चालकहरुलाई नै बोलाएर सेबोनले लाइसेन्स दिने तयारी थालेको हो ।

नेपालमा पहिलो पटक विशिष्टिकृत लगानी कोषको स्थापना र सञ्चालन गर्नका लागि कोष व्यवस्थापकहरुलाई अनुमति प्रदान गर्न लागिएको हो । नेपालको पूँजी बजारमा हाल सेयर, डिबेञ्चर र सामुहिक लगानी कोषका एकाईहरुमात्रै कारोबार हुँदै आएका छन् । प्राइभेट इक्वीटि र भेञ्चर क्यापिटलको व्यवस्था भएपछि परम्परागत लगानीका उपकरण बाहेक नयाँ क्षेत्रमा पूँजी परिचालन गर्न बाटो खुल्ने सेबोनले आफ्नो विज्ञप्तीमा भनेको छ ।

‘स्टार्टअप व्यवसायमा पूँजी परिचालन हुने, उद्योग तथा परियोजनाको विस्तार भई थप रोजगारी सिर्जना हुने र व्यक्तिगत आय तथा सरकारी राजश्वमा बढोत्तरी हुने विस्वास लिइएको छ,’ सहप्रवक्ता केसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्