महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको १ लाख ६६ हजार सेयर लिलामीमा बिक्री खुला

काठमाडौं । महालक्ष्मीको स्वामित्वमा रहेको एसियन लाइफको सेयर लिलामी बिक्री खुला गरिएको छ । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एसियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर आज (वैशाख २६ गते) देखि लिलामीमा बिक्री खुला गरेको हो ।
बैंकले आफ्नो स्वामित्वमा रहेको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा खुला गरेको हो । उक्त सेयरको न्यूनतम ६९८ रुपैयाँ मूल्य रहेको छ । जसमा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । उक्त सेर जेठ ९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा पुग्नेगरि पेश गर्नुपर्नेछ ।